विश्वासिलो साकोसको सत्रौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । टोखा–९, बुद्धमार्ग, गोंगबुमा कार्यालय रहेको विश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको कार्यालय परिसरमा पुस २५ गते आयोजित सभा संस्थका कार्यवाहक अध्यक्ष भगवत प्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न भएको हो ।
टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेको प्रमुख आतिथ्य रहेको सभाको उद्घाटन सत्रमा सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरी लगायत विभिन्न शुभेच्छुक संघ संस्थाका प्रतिनिधि अतिथि रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष घिमिरेले शेयर सदस्यहरुले चासो नराखेकाले गर्दा सहकारी क्षेत्रमा सुधार नआएको भनाई राखे ।
उनले शेयर सदस्यहरुलाई वार्षिक सधारण सभामा संस्थाले खाम र माम कति दिन्छ भन्ने विषयमामात्र सीमित नहुन आग्रह गरे । उनले भने, ‘हिजोका दिनमा डुबेका ठूला संस्थाहरुले सदस्यलाई सेतो र रातो पानी खुवाएर, आँखा छलेर नीति नियम भन्दा बाहिर लगानी गरेर समस्या आएको हो ।’
यस्तै कार्यक्रममा बोल्दै हकहित समाजका अध्यक्ष गिरीले सहकारीको समसामयिक विषयमा चर्चा गरे । साथै सहकारी सम्बन्धी ऐन कानुको विषयमा प्रशिक्षण प्रदान गरे ।
संस्थका सचिव गोविन्द प्रसाद खरेलले संचालन गरेको समारोहमा उपस्थित अतिथि र सहभागीलाई संस्थाका शेयर सदस्य ललित जमकट्टेलले स्वागत गरेका थिए ।
साधारण सभामा संस्थाका कार्यवाहक अध्यक्ष पोखरेलले संचालक समितिकोतर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१÷८२ को वार्षिक प्रतिवेदन पेश गरे । कोषाध्यक्ष राज कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरे ।
सभामा पेश भएको प्रतिवेदन अनुसार गत आ.व.को समाप्तिमा १ हजार ६ सय ४१ जना शेयर सदस्य आवद्ध बनेको संस्थाको शेयर पुँजी ४ करोड ७१ लाख २० हजार रुपैयाँ र निक्षेप संकलन ११ करोड २३ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।
शेयर सदस्यहरुलाई विभिन्न प्रयोजनका लागि १३ करोड २९ लाख ६३ हजार रुपैयाँ ऋण लगानी गरेको संस्थामा ३ करोड ६१ लाख रुपैयाँ बैंक तथा नगद मौज्दात (तरलता) रहेको छ ।
