धौलाश्री बहुउद्देश्यीयको तेईसौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । गोंगबु, सामाखुशी, टाउनप्लानिङमा कार्यालय रहेको धौलाश्री बहुउद्देश्यीय सहकारी संस्थाको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष याम बहादुर श्रेष्ठको सभापतित्वमा पुस २६ गते आयोजित सभा संस्थाका सल्लाहकार एवं नेपालका लागि किर्गिस्तानका अबैतानिक महावाणिज्य दुत रमेश शर्मा पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवं पूर्व राजदुत मोहन कृष्ण श्रेष्ठ, सल्लाहकार डा. कृष्ण बाबु जोशी, सल्लाहकार एवं उद्योगी शम्सेर कुमार श्रेष्ठ, सल्लाहकार, निर्मल कुमार श्रेष्ठ, कानुनी सल्लाहकार अधिवक्ता शिव बहादुर भुजेल, नेपाली सेनाका पूर्व सहायक उपरथी हिंमासु खड्का लगायतको आतिथ्य रहेको थियो ।
सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीले सभामा उपस्थित शेयर सदस्यहरुलाई सहकारीको समसामयिक अवस्था र ऐन, कानुन तथा नीति नियमको विषयमा प्रशिक्षण गरेका थिए ।
संस्थाका सचिव प्रेमदत्त उपाध्यायले संचालन गरेको कार्यक्रममा उपस्थित सहभागीलाई संस्थाका संचालक सदस्य सुरेन्द्र राज जोशीले स्वागत गरेका थिए ।
साधारण सभामा संस्थाका अध्यक्ष याम बहादुर श्रेष्ठले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे ।
केही खराब सहकारीका बदमास संचालक र कर्मचारीहरुले सदस्यले बचत गरेको पैसा हिनामिना गरेका कारण राम्रा सहकारीलाई पनि ‘नखाएको विष’ लागेको दुःखेसो पोखे ।
यसैगरी उनले मुलुकको आर्थिक गतिविधि सुस्ताएर वित्तीय प्रणालीमा थुप्रिएको अधिक तरलता र सहकारी कानुमा भएको परिवर्तनले गर्दा उत्पन्न भएको प्रतिकुल समयमा पनि सदस्यको साथ र सहयोगले गर्दा धौलाश्रीले राम्रो काम गर्न सकेको जनाए ।
साधारण सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थामा १ हजार २ सय ८६ जना शेयर सदस्य आवद्ध बनेका छन् भने शेयर पुँजी ३ करोड ३२ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी यस आ.व.मा ३१ करोड ५५ लाख ४९ हजार रुपैयाँ बचत मौज्दात कायम भएको संस्थाको २९ करोड ९० लाख ५३ हजार रुपैयाँ लगानीमा रहेको छ ।
संस्थाले आफ्नो विषय अनुरुप विभिन्न प्रकारका काम गर्नका लागि शेयर सदस्यहरुसंग सुझाव मागेको छ । सदस्यहरुले ईमेल, फोन र एसएमएस मार्फत पनि सुझाव दिनसक्ने संस्थाले जनाएको छ ।
यस्तै संस्थाले चालु आ.व.मा उद्देश्य अनुरुप काम गर्नका लागि सम्भाव्यता अध्ययन गरेर सदस्यहरुको हितका लागि अर्गानिक खाद्य लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री वितरण गर्ने कार्य सुरु गर्ने योजना बनाएको छ ।
सदस्य तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न तालिम, प्रशिक्षण र अवलोकन भ्रमणको व्यवस्था गर्ने, सामाजिक उत्तरदायित्वका काम गर्ने, लामो समय देखि भाखा नघाएर ऋण नतिरी बसेका ऋणी विरुद्ध असुलीका लागि कानुनी प्रकृया अगाडि बढाउने कार्ययोजना तय गरेको छ ।
साधारण सभाको अवसर पारेर संस्थाले ८८ वर्षिय ज्येष्ठ नागरिक भिम कुमारी बानियाँ, उत्कृष्ट कारोबार गर्ने महिला शेयर सदस्य हिरा कुमारी थापा र उत्कृष्ट कारोबार गर्ने पुरुष शेयर सदस्य पूर्ण बहादुर क्षेत्रीलाई सम्मान गरेको थियो ।
यसैगरी यस आ.व.मा नियमित कराोबार गर्नुका साथै आगन्तुक पुस्तिकामा सभै भन्दा बढी उपस्थिति जनाउने शेयर सदस्य बिमला कुमाललाई मायाको चिनो प्रदान गरेको थियो ।
