शेषमती बहुउद्देश्यीयमा पुनः तिमिल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति
काठमाडौं । तारकेश्वर–११, शेषमती स्थित शेषमती बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
संस्थाको पुस २६ गते बसेको १९औं वार्षिक साधारण सभाले पुनः राजु प्रसाद तिमिल्सिनाको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति र प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति निर्वाचित गरेको हो ।
सभाले संचालक समितिको उपाध्यक्षमा श्याम सुन्दर बुढाथोकी, सचिवमा श्याम कृष्ण फुयाल र कोषाध्यक्षमा नजराज धिताललाई चयन गरेको छ ।
समितिमा हरि प्रसाद अर्याल, सञ्जु घिमिरे न्यौपाने र विवेक कुमार धिताल सदस्य निर्वाचित भएको छन् ।
यसैगरी लेखा समितिमा ओमकार घिमिरे र जनार्दन अर्याल सदस्य चयन भएका छन् ।
यसअघि साधारण सभाको सभापति समेत रहेका संस्थाका अध्यक्ष राजु प्रसाद तिमिल्सिनाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१÷८२ को वार्षिक प्रतिवेदन पेश गरे ।
उनले संस्थाको विषय र उद्देश्यलाई मध्यनजर गरेर २०७८ साल देखि कृषि उत्पादन कार्य गर्दै आएको जनाए । नुवाकोट जिल्लामा आधुनिक प्रविधि प्रयोग गरेर शिताके च्याउ, ओखर, एभोकाटो, टिम्मुर, कागती, जापानिज हलुवावेद लगायतको खेती गरिरहेको बताए ।
शेयर सदस्यहरुलाई राहत मिलोस भनेर संस्थाले यस आ.व.को असार मसान्त सम्म बुझाउन बाँकी व्याजमा लाग्ने जरिवाना छुट दिने ब्यवस्था आगामी २०८३ साल असार मसान्त सम्मका थप गरेको जानकारी गराए ।
सभामा कोषाध्यक्ष श्याम कृष्ण फुयालले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य ओमकार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी १ करोड १६ लाख २१ हजार रुपैयाँ, निक्षेप संकलन १२ करोड २८ लाख ३५ हजार रुपैयाँ र कर्जा लगानी १२ करोड २५ लाख ४६ हजार रुपैयाँ कायम भएको छ ।
संस्थाले यस आ.व.को व्यवसाय र कारोबारबाट आय करको व्यवस्था पश्चात ५ लाख ४२ हजार रुपैयाँ मुनाफा आर्जन गरेर विभिन्न केषहरुमा बाँडफाँट गरेको छ ।
संस्थाले चालु आ.व.मा बहुउद्देश्यीय उद्देश्य अनुरुपका कार्यहरुलाई प्राथमिकता दिने, विद्युतीय कारोबार अवलम्वन गर्ने, सदस्यहरुको हितका लागि कोष खडा गर्ने, सदस्यहरुको स्वास्थ्य, जीवन तथा निर्जीवन बिमाको बारेमा विशेष कार्यक्रम संचालन गर्ने लगायतका योजना तय गरेको छ ।
