जिल्ला सहकारी संघ काठमाडौंको २६औं वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ काठमाडौंको २६औं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2026-01-14 Share

काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संघका अध्यक्ष सुमन के.सी.को सभापतित्वमा बुधवार आयोजित सभा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

बागबजार स्थित हार्दिक होटलमा सम्पन्न भएको सभाको पहिलो सत्रमा शुभकामना मन्तव्य राख्दै उपाध्यक्ष बस्नेतले संघका संचालकहरुलाई सक्रियतापूर्वक काम गर्न आग्रह गरे । उनले भने, ‘पदमा बस्नु ठूलो कुरा होईन, काम गर्नु ठूलो कुरा हो ।’

यसैगरी उनले जिल्ला संघबाट सापटी लिएकाे रकम लामो समय सम्म नतिरी बसेका सदस्यहरुलाई कानुन बमोजिम कारबाही गरेर भएपनि असुल उपर गर्न सुझाव दिए ।

महासंघको तर्फबाट जिल्ला संघलाई निःशुल्क तालिम प्रशिक्षण प्रदान गर्नुका साथै आवश्यक परेको खण्डमा जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यस्तै समारोहमा मन्तव्य राख्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्र ढकालले प्रारम्भिक सहकारी संस्थाहरुलाई छाता संघहरुप्रति सकारात्मक भएर ती संघहरुले आयोजना गर्ने हरेका कार्यक्रमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरे ।

उनले भने, ‘जब सम्म प्रारम्भिक संस्थाले सक्रियता देखाउँदैनन्, तब सम्म सहकारी अभियानको प्रगति हुँदैन ।’

जिल्ला संघका सल्लाहकार समेत रहेका अध्यक्ष ढकालले संघलाई कडाईका साथ लगानी असुली गर्न आग्रह गरे ।

सहकारी अभियानको उच्च नेतृत्व गरिरहेका अभियन्ताहरुबाटै शुद्धीकरण अभियानको सुरुवात गरेर सदस्यहरुलाई कर्तव्यनिष्ट बनाउनु पर्ने उनको भनाई थियो ।

राष्ट्रिय सहकारी महासंघका संचालक एवं संघका पूर्व अध्यक्ष टेक प्रसाद चौंलागाईले संघलाई राम्रो बनाउन आफू हरदम लागिपर्ने वचन दिए ।

बागमती प्रदेश सहकारी संघका अध्यक्ष राम शरण शर्मा घिमिरेले जिल्ला सहकारी संघलाई तालिम तथा प्रशिक्षण कार्यमा सहयोग गर्ने आश्वासन दिए ।

उनले सहकारी अभियानको माग अनुसार नै राज्यले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र गठन भएकाले यी निकायले सहकारी अभियानमा सुशासन प्रवद्र्धन गर्न सहयोग पुग्ने धारणा राखे ।

समारोहमा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ  (कास्कून)का अध्यक्ष दिपक पनेरु, सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिको आतिथ्य रहेको थियो ।

सभामा उपस्थित अतिथि तथा सहभागीलाई संघकी उपाध्यक्ष अमरावती महर्जनले स्वागत गरेकी थिईन भने अर्की उपाध्यक्ष विष्णु कुमारी चौलागाईले धन्यवाद ज्ञापन गरेकी थिईन ।

साधारण सभामा  संघका अध्यक्ष सुमन के.सी.ले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन र चालु आ.व.को प्रस्तावित बजेट, नीति, योजना तथा कार्यक्रम पेश गरे । 

जिल्ला संघले सदस्य संघ संस्थाहरुको क्षमता विकासका लागि तालिम, सेमिनार, गोष्ठी, अन्तरक्रिया, अध्ययन अवलोकन तथा अनुभव आदान–प्रदान लगायतका गतिविधि गर्दै आएको बताए ।

उनले सदस्यहरुलाई शिक्षा, तालिम, परामर्श र प्राविधिक सहयोग प्रदान गरेर पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कार्यशैली सुदृढ बनाउन संघले भूमिका खेल्दै आएको जनाए ।

साधारण सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक रविन्द्र श्रेष्ठले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए । 

कार्यक्रममा संघका महासचिव बाल कुमार बास्तोल, सचिव सनोज भट्टराई, कोषाध्यक्ष देव नारायण चौलागाई लगायतका संचालक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

२०५६ साल कात्तिक १५ गते स्थापना भएको संघमा काठमाडौं जिल्ला भित्रका विषयगत जिल्ला संघहरु र प्रारम्भिक सहकारी संस्था गरी १ हजार ९ सय ७९ सदस्य आवद्ध बनेका छन् । 

जिल्ला संघले आगामी दिनमा सहकारी अध्ययन तथा तालिम केन्द्र र सहकारी सूचना केन्द्र स्थापना गर्न पहल गर्ने योजना बनाएको छ ।

यसैगरी सहकारी मार्फत उत्पादन, स्रशोधन र बजारीकरणमा सहकार्य गर्ने, युवामैत्री र उद्यमशीलता केन्द्रित सहकारी मोडल विकास गर्ने, दिगो विकास लक्ष्यसंग सहकारीलाई जोड्ने लगायतका भावी कार्ययोजना तय गरेको छ ।