‘राष्ट्रिय गोष्ठीमार्फत ब्यवस्थापन प्रमुखहरुमा उत्प्रेरणा जगाउँदै छौं’

‘राष्ट्रिय गोष्ठीमार्फत ब्यवस्थापन प्रमुखहरुमा उत्प्रेरणा जगाउँदै छौं’
अन्तर्वार्ता | 2023-03-01 Share

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)ले यही फागनु २४ र २५ गते बचत तथा ऋण सहकारी संस्था (साकोस)का ब्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्दैछ । हामीले गोष्ठीको आवश्यकता र सहकारीमा ब्यवस्थापन प्रमुखहरुको भूमिकाको विषयमा केन्द्रित भएर नेफ्स्कूनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दिपक पनेरुसंग कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

नेफ्स्कूनले फागुन २४ र २५ गते ब्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आयोजना गरेको छ । यसको आवश्यकता बारे बताईदिनुस न ?

– हामीले यस पटक ‘प्रविधियुक्त सेवा र सुशासनयुक्त सहकारी, दिगो साकोस निर्माणका लागि जिम्मेवारीयुक्त ब्यवस्थापन’ भन्ने थिम राखेर गोष्ठी आयोजना गरेका छौं । नेफ्स्कूनले नेतृत्व, लेखा सुपरीवेक्षण समिति, युवा, महिला लगायतमा केन्द्रित भएर गोष्ठीहरु आयोजना गर्दै आएको छ । विगतमा कोभिडका कारण यो गोष्ठी गर्न सकेनौं । यो गोष्ठीमा हामी ब्यवस्थापनसंग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नेछौं ।  अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिघटनाको विषयमा छलफल हुनेछ । विश्व सहकारी अभियानले अपनाएका नवीनतम अभ्यासहरु आन्तरिकीकरण गरिने छ । सहकारीमा देखिएका समस्यालाई कसरी समाधान गरेर विश्वाश जगाउन सकिन्छ भन्ने विषयमा विचार विमर्श हुनेछ ।

विशेषगरि सहकारीमा सुशासनको विषयमा प्रश्न उठ्ने गरेको छ । सहकारीमा सुशासन कायम राख्न ब्यवस्थापन प्रमुखको अत्यन्त महत्वपूर्ण भूमिका रहेको हुन्छ । यो विषयलाई पनि उठाउने छौं । हामीले काम गर्ने तौर तरिकालाई परिवर्तन गर्नुका साथै प्रविधिकरण गर्न खोजिरहेका छौं । सदस्यलाई छिटो, छरितो र भरपर्दो सेवा प्रवाह गर्न प्रविधिको प्रयोग गर्ने कुरालाई पनि छलफलको विषय बनाएका छौं ।

पछिल्लो समय सहकारीप्रति अलि बढी नकारात्मक टिप्पणी हुन थालेको छ । हामीले साकोस अभियानको छवि जोगाउने र ‘इमेज बिल्डिङ्ग’ गर्ने उद्देश्यले पनि गोष्ठी आयोजना गरेका हौं । सहकारी ब्यवस्थापनको विषयमा हरेक क्षणमा नयाँ कुरा आईरहेको हुन्छ । त्यसैले हामीले हिजो काम गर्दा अपनाएका तौर तरिका, योजना, प्रविधि, ज्ञान, सिप, धारणा आदिलाई फराकिलो र समयसापेक्षित बनाएर लानुपर्छ भनेर गोष्ठी आयोजना गरेका हौं ।

अहिले सहकारीमा देखिएको असहज अवस्थाले गर्दा ब्यवस्थापन प्रमुखहरुलाई मानसिकरुपमा पनि दवाव परेको छ । यस विषयमा पनि गोष्ठीमा छलफल हुन्छ कि ?

-साकोस अभियानमा ठूलो जनशक्ति छ । हामीले यो जनशक्तिमा उत्प्रेरणा जगाउनुपर्ने देखिएको छ । यस्तो अप्ठ्यारो अवस्थामा पनि तनावरहित भएर शान्त वातावरणमा कसरी कार्य सम्पादन गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ । उहाँहरुलाई काम गर्न उत्प्रेरित गर्नेछौं । सहकारीमा ब्यवस्थापन प्रमुखहरु महत्वपूर्ण अंगकोरुपमा रहेका छन् । उहाँहरुले गोष्ठीमा सिकेका ज्ञान, सिप र प्रविधिविबारे संस्थाका अन्य कर्मचारीहरुलाई पनि सिकाउनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।

तपाईंहरुले गोष्ठीमा कति ब्यवस्थापकहरुलाई सहभागी गराउने योजना बनाउनुभएको छ ?

-हामीले एकदमै राम्रो सहभागिता हुने देखेका छौं । साकोसका सिईओहरुले यो गोष्ठीप्रति उत्साह प्रकट गर्नुभएको छ । हामीले ब्यवस्थापन प्रमुख, श्रोत व्यक्ति, सहजकर्ता, टिप्पणीकर्ता सहित पाँच सय जनाको सहभागितामा गोष्ठी सम्पन्न गर्ने लक्ष्य लिएका छौं । फागुन १६ गते सम्म ३ सय ५० जना ब्यवस्थापन प्रमुखहरुले सहभागिताका लागि नाम दर्ता गर्नुभएको छ । अहिले सहकारी क्षेत्रबारे नकारात्मक कुराहरु बढी चर्चामा आएकाले ब्यवस्थापकहरुलाई सहजरुपमा काम गर्न वातावरण विग्रिएको छ । रजिष्ट्रेसनको समयमा सम्वाद हुँदा ब्यवस्थापकहरुले यस्तो अवस्थामा पनि सहजरुपमा काम गर्न गोष्ठीले सहयोगी भूमिका खेल्ने अपेक्षा राख्नुभएको छ ।

गोष्ठीमा श्रोत व्यक्ति, सहजकर्ता र टिप्पणीकर्ताहरु चाहिँ को–को हुनुहुन्छ ?

हामीले गोष्ठीमा यस क्षेत्रमा लामो अनुभव संगालेका, सफलता प्राप्त गरेका विषय विज्ञहरुलाई श्रोत व्यक्ति, कार्यपत्र प्रस्तुतकर्ता र कमेन्टेटरकोरुपमा बोलाएका छौं । कार्यक्रममा सहकारीका अन्तर्राट्रिय निकायका विज्ञहरुपनि आउँदै हुनुहुन्छ । विशेषगरि एसियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत र निवर्तमान प्रमुख कार्यकारी अधिकृतले गोष्ठीमा प्रस्तुतिकरण दिँदे हुनुहुन्छ । विश्व ऋण परिषदले पनि गोष्ठीमा सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी मुलुकभित्रका विषय विज्ञहरुले पनि प्रस्तुति दिनुहुनेछ ।

सहकारीमा ब्यवस्थापकहरुले व्यवसायिक भएर ज्ञान, सिप, ज्ञमता प्रयोग गर्न पाउँदैनन्, संचालक समितिको दवावमा काम गर्नुपर्छ भन्ने गुनासो सुनिन्छ । वास्तविकता के हो ?

-तपाईंले भनेको कुरा ठिक हो । यस्तो अवस्था पनि देखिएको छ । हामीले नेफ्स्कूनमार्फत भन्दै आईरहेको कुरा पनि यहि हो । संचालक समिति र ब्यवस्थापनको भूमिका र जिम्मेवारी फरक–फरक छ । दुवै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । हाम्रो कानुनले पनि यो विषय स्पष्ट पारिदिएको छ । अहिले कतिपयले कानुनमा भएको कुरा नबुझेर र कतिपयले कानुन मिच्ने नियत राखेकाले यस्तो अवस्था रहिरहेको छ । यस्तो गर्न हुँदैन भनेर जान्दा जान्दै पनि कानुन मिच्ने प्रवृत्तिले सहकारीमा समस्या देखिएको हो ।

सहकारीमा संचालक समिति, लेखा समिति, ब्यवस्थापन र शेयर सदस्यले आ–आफ्नो जिम्मेवारी, उत्तरदायित्व र भूमिका बुझेर काम गर्ने हो भने यति धेरै समस्या उत्पन्न हुने थिएन । ब्यवस्थापकहरुले संचालक समितिको ‘डोमिनेशन’ महसुस गर्न हुँदैन । सहकारीमा ब्यवस्पानको भूमिका र महत्व थप महसुस गराउनुपर्छ भनेर पनि यो गोष्ठी आयोजना गरेका हौं । सहकारीमा संचालक समिति र ब्यवस्थापनले सदस्य सुरक्षाको सिद्धान्त, सुशासनको सिद्धान्त, संचालनको सिद्धान्त र सुरक्षा तथा स्वस्थताको सिद्धान्तको ‘बेसलाईन’मा बसेर काम गर्ने हो भने कहिँ केही समस्या उत्पन्न हुँदैन ।

सहकारीमा उचित पारिश्रमिक र सेवा सुविधा भएन, ‘करिअर ग्रोथ’ नभएर भविष्य अनिश्चित भयो भनेर दक्ष कर्मचारीहरु पलायन हुने गरेको देखिन्छ । तपाईंहरुले यो क्रम रोक्न के गरिरहनुभएको छ ?

-कर्मचारीहरुको हकमा कुरा गर्दा स्वभाविकहरुमा हरेक व्यक्तिले सधैं परिवर्तन खोजिरहेको हुन्छ । गरिरहेको काममा फड्को मार्न खोजिरहेको हुन्छ । त्यसैले अर्को ठाउँमा राम्रो अवसर पायो भने गरिरहेको काम छाडेर पनि जान्छ । त्यसैले संचालक समितिले अनुचित दवाव दिएकाले नभई आफ्नो क्षमताले गरिहेको ठाउँबाट अन्यत्र जानखोज्नु स्वभाविक हो । ‘प्रोफेसनल’ मान्छेले त्यो गर्न खोज्छ । तर अहिले पनि कतिपय संस्थामा कर्मचारीको योग्यता, क्षमता र अनुभवको सम्मान भएको देखिएको छैन । त्यसो गर्न हुँदैन ।

अर्कातर्फ कयौं सहकारीमा कर्मचारीहरुले आकर्षक सेवा सुविधा लिएर काम गरिहेको अवस्था छ । धेरै संस्थामा म बैंक वा अन्य क्षेत्रमा जादिनँ, सहकारीमा नै बसेर काम गर्छु भनेर विश्वास गरेर काम गर्ने कर्मचारीहरु हुनुहुन्छ । आफ्नो भविष्य उज्वल देखेर सहकारीले उपलब्ध गराएको सेवा सुविधामा चित्त बुझाएर काम गर्ने कर्मचारीहरु धेरै हुनुहुन्छ । यद्यपि ब्यवस्थापक र कर्मचारीहरुको भूमिका र महत्व नबुझ्ने संस्थाहरु पनि छन् । यो कुरा बुझाएर लान यो गोष्ठी महत्वपूर्ण हुनेछ । ब्यवस्थापकहरुको काम, कर्तव्य, भूमिका, जिम्मेवारी, बुझाई, व्यवहार, आवश्यक प्रविधि संस्थाभित्र पु¥याउन यो गोष्ठी निकै फलदायी हुने देखेका छौं ।

हाल साकोस अभियानलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा नेफ्स्कूनले कस्तो भूमिका खेलिरहेको छ ?

-हामीले त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुको पाठ्यक्रममा सहकारीलाई समेट्न छलफल चलाईरहेका छौं । प्राविधक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिईभिटी)संग सहकार्य गरेर ब्यवस्थापकहरुको चौथो ब्याचको कोर्स पुरा गरिसकेका छौं । हामीले यसरी एक सय जना भन्दा बढी क्षमतावान, दक्ष ब्यवस्थापकहरु उत्पादन गरेर पठाएका छौं । हामीले सहकारीमा ब्यवस्थापकहरुको महत्वपूर्ण भूमिका हुने कुरा बुझेर नै नेपालमा सबैभन्दा पहिले यस्तो कोर्ष सुरु गरेका हौं । सहकारीमा दक्ष जनशक्तिको अभाव छ, जाने बुझेका कर्मचारी बस्दैनन् भन्ने धारणालाई चिर्न नेफ्स्कूनले योग्य, क्षमतावन, सक्षम ब्यवस्थापन प्रमुख तयार पारेर पठाईरहेको छ ।