कोशी प्रदेश स्तरिय साकोस गोष्ठी पाँच बुँदे सामुहिक प्रतिवद्धता सहित सम्पन्न

काठमाडौं । साकोसमैत्री कानुन निर्माणलगायतमा ऐक्यवद्धता जनाउँदै कोशी प्रदेश स्तरिय साकोस गोष्ठी सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) ले बैशाख २५ गते सुनसरीको इटहरीमा गरेको कोशी प्रदेश स्तरीय साकोस गोष्ठीका सहभागिले पाँच बुँदे सामुहिक प्रतिबद्धता ब्यक्त गरेका छन् ।
गोष्ठीमा कोशी प्रदेश भित्रका सहकारी संघ र संस्थाका सञ्चालक समिति तथा व्यवस्थापनको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा बचत तथा ऋण सहकारी संघ र संस्थामा सुशासन प्रवद्र्धन, नियामकीय सन्दर्भ र अभियानको आगामी मार्गचित्रका विषयमा विषयविज्ञहरुद्धारा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
गोष्ठीमा विज्ञहरुबाट प्राप्त टिप्पणी र सहभागीहरु बीच साझा बुझाई निर्माण गरी संघ र संस्थामा लागू गर्ने र अभियानमा एकाकार हुने प्रतिबद्धता सहित प्रतिवद्धता ब्यक्त गरिएको छ । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको प्रमुख आतिथ्यता तथा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेल त्यसैगरी प्रदेश सहकारी रजिष्ट्रार हरि बहादुर खत्री, विराटनगर महानगरपालिकाका सहकारी शाखा प्रमुख चाँदनी राई, स्थानीय जनप्रतिनिधिहरु, जिल्ला बचत संघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्ता रविन ढकाल, नेफ्स्कूनका सिइओ शिवजी सापकोटा, सिए राजन अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठीमा कोशी प्रदेशका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २०४ जनाको सहभागिता रहेको थियो । त्यसैगरी नेफ्स्कूनले मधेश प्रदेशस्तरीय साकोस गोष्ठी वैशाख २८ गते बर्दिबासमा र लुम्बिनी, कर्णाली तथा सूदुरपश्चिम प्रदेशस्तरीय संयुक्त गोष्ठी नेपालगञ्जमा वैशाख ३१ गते हुने जनाइएको छ ।
इटहरी साझा प्रतिवद्धता
१ हामी हाम्रो संघ र संस्थाले अभियान मार्फत मर्गदर्शन गरिएका चरणवद्ध रणनीतिहरुलाई प्राप्त उपलब्धीहरुका आधारमा आगामी दिनहरुमा पनि अनुशरण गर्दै अघिबढ्न प्रतिवद्ध छौं ।
२ हामी हाम्रो संघ र संस्थाहरु भित्र आन्तरिक नियन्त्रण प्रणालीलाई सशक्त बनाउन जोखिम सुपरिवेक्षण गराई लेखा सुपरिवेक्षण समितिको भूमिकालाई सुपरिवेक्षकको रुपमा, आन्तरिक नियन्त्रकको रुपमा, आन्तरिक लेखा परीक्षण गर्ने गराउने अङ्गको रुपमा एवं संगठनको समग्र मार्गदर्शकको रुपमा खेलेको भूमिकालाई थप प्रभावकारी बनाई संस्थागत सुशासन कायम राख्न प्रतिवद्ध छौं ।
३ हामी संघ र संस्थामा नेपालको बचत तथा ऋण सहकारीको प्रवद्र्धन, विकास व्यावसायिकीकरण, गुणस्तर विकास र सञ्जाल व्यवस्थापनको हरेक चरणहरुमा सहभागिता जनाउने र संघ मार्फत स्थानीय तहदेखि संघीय तहसम्म साकोसमैत्री कानुन निर्माण तथा परिपालनाको पहलकदमीमा ऐक्यवद्ध छौं ।
४ हामी हाम्रो संघ र संस्थाहरुको वित्तीय, सदस्यता, आन्तरिक सञ्चालन र सिकाई एवम बृद्धिका विषयमा अभियानले विकास गरेका स्तरीकरण कार्यक्रमहरु मार्फत साझा सञ्जालमा आबद्ध भई अद्यावधिक गराउन प्रतिबद्ध छौं ।
५ हामी साकोस अभियन्ताहरु संशोधित सहकारी ऐन बमोजिम गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग, प्रदेश स्तरीय र स्थानीय तह अन्तर्गत रही सहकारी मूल्य, मान्यता र सहकारी सिद्धान्तहरु अंगिकार गर्दै समाज परिवर्तनमा भएका क्रियाकलापहरुको निरन्तरताका लागि संघ मार्फत आफ्नो भूमिका निर्वाह गर्न प्रतिबद्ध छौं ।