अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखियो: कार्यकारी निर्देशक श्रेष्ठ

अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखियो: कार्यकारी निर्देशक श्रेष्ठ
समाचार | 2023-03-09 Share

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको  भूमिका कमजोर देखिएको बताउनुभएको छ । 

बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सिईओ वर्कशपमा बोल्दै श्रेष्ठले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा सहकारीलाई स्वीकार गरिएपनि त्यो व्यवहारमा देखिएन ।’

अर्थतन्त्रमा सहकारीको ठ्याक्कै योगदान कति हो ? कहाँ कति सहयोग पुगेको छ ? भन्दै प्रतिप्रश्न गर्नुभयो ।

उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउनुपर्ने हो तर परिणाममा नदेखिएको बताउनुभयो । सहकारी संघ संस्थाहरुले समेत बैंकले जस्तै घरजग्गामा, धितोपत्र बजारमा लगानी गर्दा समस्या आएको उहाँको भनाई थियो ।

‘सहकारीको लगानीको प्राथमकिता प्राप्त क्षेत्र कुन हो ? सहकारीको मूल्य मान्यता बचतकर्तालाई झन् गरिब बनाउने भन्ने त होइन होला । कहाँ लगानी गर्दा सुरक्षित र अझ बढी उत्पादनमुखी हुन्छ संस्थाले त्यतातिर सोच्ने हो’, उहाँले भन्नुभयो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको मात्र होइन सहकारीको पैसा समेत सेयर बजारमा गएको हुनसक्ने आशंका कार्यकारी निर्देशक श्रेष्ठले व्यक्त गर्नुभयो । 

सोही अबसरमा श्रेष्ठले कोभिडपछिको विश्व परिदृश्य रुस र युक्रेनबीचको युद्धले निम्त्याएको आर्थिक संकटले समेत नेपाली अर्थतन्त्र समस्यामा परेको बताउनुभयो । 

‘पोस्ट कोभिड’ बाट ‘इकोनोमी रिकभरी’ भए पनि रसिया युक्रेनको युद्धले असर गरेको उहाँको भनाई छ । विश्व आयात निर्यातको चेनमा प्रभाव परी नेपालको आयात घट्दा राजस्व पनि गुमेको उहाँले बताउनुभयो । तर रेमिट्यान्स, विदेशी लगानी आउन सके अर्थतन्त्र चलायमान हुने उहाँले बताउनुभयो ।

सोही अवसरमा श्रेष्ठले पछिल्लो समय मुलुकको वित्तीय स्थितिपमा निक्षेपको वृद्धिदर बढेको तर कर्जाको वृद्धिदर घटेको बताउनुभयो । यसले सहकारी क्षेत्र समेत प्रभावित हुन पुगेको उहाँको भनाइ छ । 

सहकारीमार्फत कृषिजन्य उत्पादन हुन नसकेको तर ऋण लिएर घरजग्गा र सेयर मार्केटमा लगानी गर्ने परिपाटी बढेको उहाँले बताउनुभयो । 

सहकारीमा स्वःनियमन नभएकाले समस्या आएकाले केही ऐन ल्याएर सहकारीको अनुगमन नियमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संघ र राज्यको संयुक्त प्रयासबाट सहकारीमा सुशासन ल्याउने बताउनुभयो । सहकारी संघ संस्थाहरुको नेतृत्वकर्ता व्यवस्थापकले सही तरिकाले वित्तीय कारोबार गरे कुनैपनि संस्थामा समस्या नआउने उहाँले बताउनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै रजिष्ट्रार नमराज घिमिरेले सहकारी संघ संस्थाहरु सदस्यमै केन्द्रीत भएमा समस्या समाधान हुने बताउनुभयो । ‘सहकारीमा म केन्द्रित हुन थालेकाले समस्या आएको हो । अब सहकारीमा होइन सदस्यमा केन्द्रित हौं’ उहाँले भन्नुभयो, ‘सदस्य भइसकेपछि फाइदा र रिक्स दुबै वेहोर्नसक्नुपर्छ ।’

सोही अवसरमा रजिष्ट्रार घिमिरेले अस्वस्थ प्रतिस्पर्धाका कारण सहकारीहरुमा समस्या आइरहेको बताउनुभयो । सहकारीले बैंकसँग नभएर आफुआफुमा नै प्रतिस्पर्धा गरेकाले समस्या आएको समेत उहाँले बताउनुभयो ।

जिष्ट्रारलाई सञ्चालक राखेर कर्जा सूचना केन्द्र सञ्चालन हुन नसक्ने बताउँदै उहाँले कर्जा असुली न्यायाधिकरण अत्यावश्यक भएकाले तत्काल गठन गर्नुपर्ने बताउनुभयो ।

‘ऐन आफैमा ठूलो कुरा होइन, सरकारले ऐनलाई नियन्त्रण र अभियानले प्रवद्र्धनको रुपमा बुझ्नुपर्छ’ उहाँले भन्नुभयो ।