तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा

तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा
समाचार | 2023-04-04 Share

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले यही चैत्र २३ देखि २५ गते सम्म काठमाडौंमा आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको जनाएको छ ।

महासम्मेलनमा राज्यका तीनै तहका सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सातै प्रदेशका सहकारीकर्मी, निजी क्षेत्रका प्रतिनिधि, गैर सरकारी संघ/संस्थाका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, बैंकर्स र अन्तर्राष्ट्रिय सहकारी अभियन्ताहरुको सहभागिता रहने महासंघले जनाएको हो ।

महासंघले आज एक पत्रकार सम्मेलनको आयोजना गरेर राजधानीको याक एण्ड यति होटलमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल र समापन पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्ने कार्यतालिका रहेको जानकारी दिएको छ ।

महासम्मेलनमा कृषि तथा बन विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुन्य प्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल, बैंकर्स अनिल केशरी शाह, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द राज पोखरेल र राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रा थाम्सुहाङले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी महासम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व अर्थ सचिव सुरेन्द्र पाण्डे र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले पनि कार्यपत्र प्रस्तुत गर्ने महासंघले जनाएको छ ।

यस्तै महासम्मेलनमा अन्तर्राष्ट्रि सहकारी अभियानको तर्फबाट विजनेस काउन्सिल अफ कोअपरेटिभ एण्ड म्युचलका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन, आईसीए एपीका क्षेत्रीय निर्देशक बालु एयर, र जेए जेन्चु जापानका सिनियर म्यानेजर टोक्यो इचियाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।