सहकारी संस्थाले श्वेतपत्र जारी गरे बचत फिर्ताका लागि विभागले सहजीकरण गर्छः रजिष्ट्रार घिमिरे

काठमाडौं । संघीय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीले सदस्यलाई विश्वास दिलाउन स्वेतपत्र जारी गर्नुपर्ने बताउनुभएको छ ।
संघीय सहकारी विभागले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहकारीका सञ्चालकले सदस्यलाई विश्वास दिलाएर बचत फिर्ताको समय तोक्न पाउने बताउनुभएको हो ।
समस्यामा परेर सदस्यहरूको बचत समयमै फिर्ता गर्न नसकेका सहकारी संस्थाले श्वेतपत्र जारी गरेर समय सिमा तोक्न पाउने उहाँले बताउनु भएको हो । सहकारी संस्थाले यो सुविधाको उपभोग गर्न दायित्वको कानुनी ग्रहण पनि अनिवार्य रुपमा गर्नुपर्ने उहाँको भनाई छ ।
कानुनी रुपमा दायित्व ग्रहण गरेपछि सञ्चालक भाग्ने सम्भावना नहुने हुँदा सहमतिमा बचत फिर्ताको समय तोक्न सकिने रजिस्ट्रार घिमिरेले बताउनुभयो ।
‘बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै समय पाइन्छ, सञ्चालकले बचतकर्ताको बचतको ग्यारेन्टी दिनुपर्छझ, उहाँले भन्नुभयो । यस्तै, उहाँले अहिले सहकारी बारे आइरहेको विषयवस्तुप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको र यसको लागि कार्यदल बनेको जानकारी दिनुभयो ।
यस्तै, सहकारीका सञ्चालकहरुले घरजग्गा लगायत व्यवसायमा लगानी गरेको र घरजग्गामा दबाब आउँदा यो अवस्था आएको उहाँले बताउनुभयो । सञ्चालकले बदनियतले कारोबार गर्दा र आफ्नो वा आफन्तको कम्पनीमा लगानी गर्दा समस्या देखिएको उहाँले बताउनुभयो ।
समस्यामा आएका सहकारीलाई बचत फिर्ताका लागि समय दिने, घरजग्गामा लगानी गरेकालाई स्वतन्त्र छोड्नुको सट्टा सञ्चालकहरुले संस्थाको दायित्व ग्रहण गर्नु पर्ने र बदनियत भएका सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याएर बचत फिर्ता गराउने उहाँले बताउनुभयो ।