इमेज सहकारीको समस्या समाधान गर्न रजिष्ट्रारको ध्यानाकर्षण

इमेज सहकारीको समस्या समाधान गर्न रजिष्ट्रारको ध्यानाकर्षण
समाचार | 2023-05-31 Share

बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताहरुको रकम फिर्ता गर्न प्रभावकारी प्रक्रिया अगाडि बढाउनका लागि सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्यालको ध्यानाकर्षण गराएको छ ।

संघका तर्फबाट सञ्चालक जगन्नाथ सापकोटाले जेठ १४ गते ध्यानाकर्षण पत्र बुझाउदै वचतकर्ताको रकमको सुरक्षणका लागि आवश्यक कानुनी प्रक्रियालाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउन माग गर्नु भएको हो ।

जिल्ला सहकारी संघले वचतकर्ताहरुको रकम जोखिममा पारेर सञ्चालकहरु सम्पर्क विहिन भएको भन्दै सञ्चालकहरुको खोजी गरी कानुनी कार्वाही अगाडि बढाउन समेत माग गरेको छ ।

जिल्ला सहकारी संघको ध्यानाकर्षण पत्र बुझेपछि सहकारी रजिष्ट्रार रोशन अर्यालले वचतकर्ताहरुको वचतको सुरक्षणका लागि रजिष्ट्रारको कार्यालय सचेत रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराउनुभयो ।

वचतकर्ताहरुको उजुरीपछि कार्यालयका तर्फबाट संस्थाको वित्तीय अवस्थाको पहिचान गर्नुका साथै सहकारीको कार्यालय सिल गर्न जिल्ला प्रशासन कार्यालयलाई र आवश्यक खोजी प्रक्रिया अगाडि बढाउनका लागि केन्द्रीय अनुसन्धान व्यूरोमा सिफारिस गरिएको उहाँले बताउनुभयो ।

इमेज सहकारी संस्थाको समस्या समाधानमा जिल्ला सहकारी संघ लगायत सहकारी अभियानका तर्फबाट भएको समन्वय र सहकार्यलाई निरन्तरता दिन आग्रह गर्दै उहाँले संकटको यो घडिमा सबैलाई संमयताका साथ समस्या समाधानमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

हाम्रो पहिलो प्राथमिकता वचतकर्ताहरुको वचत फिर्ता गराउने हो, अनुसन्धानका क्रममा दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याएर वचत फिर्ता गराउन आफुहरु प्रतिवद्ध रहेको रजिष्ट्रार अर्यालले बताउनुभयो ।

बागलुङमा पछिल्लो समय इमेज र शिवशिखर सहकारीका कारण वचतकर्ताहरुको करिव २ अर्ब रकम जोखिममा परेको छ ।

वचतकर्ताहरुका तर्फबाट गठित संघर्ष समितिले शनिवार जिल्ला सहकारी संघलाई सहजीकरणका लागि अनुरोध गरेको थियो ।  जिल्ला सहकारी संघले शनिवार नै वैठक बसी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको ध्यानाकर्षण गराउने निर्णय गरेको र संघका तर्फबाट आइतवार सञ्चालक जगन्नाथ सापकोटाले रजिष्ट्रार अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

इमेज सहकारीले सूचना प्रकाशित गरेर कार्यालय बन्द गरेदेखि नै जिल्ला सहकारी संघको अगुवाईमा संस्थालाई सहज रुपमा सञ्चालन गर्न र वचतकर्ताहरुको रकम फिर्ताका लागि समन्वय गर्दै आएको र आगामी दिनमा पनि वचतफिर्ताका लागि सरोकारवालाहरुसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता अध्यक्ष जिसीले व्यक्त गर्नु भयो ।