विकू साकोसका सदस्यलाई एक महिने सिप विकास तालिम

विकू साकोसका सदस्यलाई एक महिने सिप विकास तालिम
समाचार | 2023-06-01 Share

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुका लागि संचालन गरेको एक महिना लामो तालिम बुधबार सम्पन्न भएको छ । 

संस्थाले युवा सदस्यहरुलाई उद्यमी बनाउने उद्देश्यल एक महिनासम्म ब्यूटिसियन, वेटर/ वेट्रेश र मोबाईल फोन मर्मत सम्बन्धी तालिम संचालन गरेको हो ।

लुम्बिनी पोलिटेक्निक इन्स्टिच्यूस्ट प्रा.लि. कपिलवस्तु, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखरा कास्कीको सहयोगमा संस्थाले बैशाख ११ गते देखि जेठ १२ गतेसम्म संचालन गरेको हो ।  

गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभएको छ । युवालाई सीप र बालबालिकालाई संस्कार सिकाउने उद्देश्यले बिकुले कार्यक्रम संचालन गर्दै आएको छ ।

विकुका सचिव प्रेम सापकोटा राजुले सदस्यलाई गरिवीको रेखाबाट माथि उठाउन उद्योगको स्थापना गर्ने उद्देश्य लिएको बताउनुभएको छ । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलल  विकूले सीप सिकाउने मात्र नभई सिकेको सीपलाई व्यवहारमा लागू गर्न, लगानी र बजार व्यवस्थापनमा पनि सहयोग गर्ने बताउनुभयो ।

लुम्बिनी पोलिटेक्निक इन्स्टिच्यस्ट प्रा.लि का प्रबन्ध निर्देशक अरुण अर्यालले आगामी दिनमा पनि सीप विकासका कार्यक्रमहरु संचालन गरिने बताउनुभएको छ । 

कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरुलाई विकूका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत गर्नुभएको थियो । 

एक महिनासम्म विभिन्न सीप आर्जन गरेपछि उद्यमशील बन्न प्रेरणा मिलेको सहभागीहरुले बताएका छन् । एक महिनासम्म मोबाईल फोन मर्मत सम्बन्धी तालिम लिएपछि मध्यविन्दु–९ की धनकुमारी गौतम पौडेलले विगतमा सामान्य समस्या देखिदा पनि मोबाइल मर्मत गर्न पसलमा धाउने गरेको सम्झदैं अब तालिम पश्चात अरुको बिग्रिएकोे फोन पनि आफैले बनाइदिन सक्छु भन्ने लागेको बताउनुभयो ।    

यसैगरी देवचुली–१३ का नवराज ढकालको आफ्नै मोबाईल पसल छ तर मोबाइल मर्मत गर्ने सीप भने उहाँमा थिएन । विकूले प्रदान गरेको तालिममा सहभागी भएपछि उहाँले तालिममा सिकेको सीपलाई सदुपयोग गरेर थप आम्दानी गर्न सक्ने विश्वास प्रकटा गर्नुहुन्छ ।

पहिलो चरणको ब्यूटिसियन तालिम लिनका लागि कम्तिमा पनि ८ देखी १० हजारसम्म खर्च लाग्छ तर निःशुल्क रुपमा यो सिप सिक्न पाउँदा गैँडाकोट १२ की बसन्ती कोइरालालाई खुशी लागेको छ । विना शुल्क सीप सिक्न पाउँदा उहाँमा छुट्टै उर्जा थपिएको छ । 

खाली समयको सदुपयोग गर्दै सीप सिक्न पाउँदा गैँडाकोट १४ की  सन्तोषी सापकोटा पनि निकै खुशी हुनुहुन्छ अब यो सिकेको सिपलाई व्यवहारमा लागु गर्दै आर्थिक आम्दानी गर्ने सपना उहाँले देख्नुभएको छ । 

सीपलाई व्यवहारमा लागू गर्न पनि सहयोग गर्ने संस्थाले जनाएको छ । आर्थिक रुपमा र बजारीकरणमा पनि बिकूले सहयोग गर्ने बताउनुहुन्छ संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटा ।

बिकु बचतले संचालन गरेको तालिम मध्य ब्यूटिसियन तालिममा ९० जना, वेटर÷ वेट्रेशमा २५ जना र मोबाईल फोन मर्मत सम्बन्धी तालिममा २५ जनाको सहभागिता रहेको थियो ।