सहकारीले बिनाधितो लगानी गरेको ऋण असुली गर्न समस्या परेको छः उप–प्रमुख बुर्लाकोटी

सहकारीले बिनाधितो लगानी गरेको ऋण असुली गर्न समस्या परेको छः उप–प्रमुख बुर्लाकोटी
समाचार | 2024-04-24 Share

काठमाडौं । तारकेश्वर नगरपालिकाका उप–प्रमुख सिर्जना बुर्लाकोटीले सहकारी संस्थाले कानुनी प्रक्रिया पुरा नगरी असुरक्षित तरिकाले ऋण लगानी गरेकाले असुली गर्न समस्या परेको बताउनुभएको छ ।

केही सहकारी संस्थाले बिना धितो लाखौं रुपैयाँ ऋण लगानी गरेको पाईएको उल्लेख गर्दै नगरपालिका भित्रका सहकारीलाई बिना धितो सुरक्षण जथाभावी लगानी नगर्न सचेत गराउनुभयो ।

तारकेश्वर नगरपालिका र सहकारी हकहित राष्ट्रिय समाजको सहकार्यमा सोमबार आयोजित ‘सहकारीको ऋण प्रवाह तथा असुली’ सम्बन्धी एक दिवसीय तालिमको उद्घाटन गर्दै उहाँले सहकारीलाई ऋण लगानी गर्दा सजगता अपनाउन आग्रह गर्नुभएको हो ।

सहकारीले ब्याजको लोभमा असुरक्षित लगानी गर्ने गरेको पाईएको उल्लेख गर्दै उहाँले प्रश्न गर्नुभयो, ‘सहकारीले ८० लाख रुपैयाँ बिना धितो ऋण लगानी गर्न मिल्छ ?’

केही सहकारी संस्थाले सदस्य नबनाई ऋण लगानी गरेको र एउटै ब्यक्तिलाई दर्जनौं संस्थाले ऋण प्रवाह गरेको समेत पाईएको उहाँले बताउनुभयो । उप–प्रमुख बुर्लाकोटीले सहकारीले कानुन बिपरित असुरक्षित लगानी गरेकाले त्यस्तो ऋण असुली गर्ने कार्यमा सहजीकरण गर्न नगरपालिकालाई पनि समस्या परेको जनाउनुभयो ।

‘सहकारीले ऋणीको पसलमात्र हेरेर ऋण लगानी गरेका छन्,’ केही सहकारी संस्था नगरपालिकामा ऋण उठाईदिन अनुरोध गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ऋण दिने बेला न ऋणीको नागरिकताको प्रमाणपत्रको फोटोकपी लिएको छ, न ऋणीको फोटो छ, न उसको ठेगाना थाहा छ, न त पसलको दर्ता प्रमाणपत्र, हामीले कसरी ऋण उठाईदिनु ?’

तारकेश्वर नगरपालिका भित्रका ३ ओटा सहकारीमामात्र समस्या देखिएको जानकारी गराउँदै उहाँले सबै सहकारीलाई सजग भएर कारोबार गर्न आग्रह गर्नुभयो । साथै नातागोता, साथीभाई, आफन्त भनेर ऋणीको मुखमात्र नहेरी आवश्यक प्रकृया पु¥याएर सुरक्षित लगानी गर्न सुझाव दिनुभयो ।

नगरपालिकाको न्यायिक समितिको संयोजक समेत रहनुभएकी उप–प्रमुख बुर्लाकोटीले समितिमा सहकारीसंगको लेनदेन सम्बन्धी उजुरीको चाप अत्याधिक रहेको बताउनुभयो । 

‘समितिले सहकारीको मुद्दा हेर्ने हो भने अरु कुनै काम गर्न भ्याउने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘यद्यपि हामीले सहकारीको लेनदेनसंग सम्बन्धित मुद्दामा दुवै पक्षलाई मिलापत्र गराउने, पाउनुपर्ने पैसाको चेक काट्न लगाउने र समय उपलब्ध गराएर रकम फिर्ता गर्ने वातावरण बनाउने काम गरिरहेका छौं ।’

सहकारी संस्था ऐन कानुन पालना गरेर संचालन हुने हो भने समस्या समाधान हुने उहाँको विश्वास छ । ‘सहकारीका संचालकहरुले जानाजान समस्या सिर्जना गर्न हुँदैन,’ उहाँले भन्नुभयो, ‘नियम कानुनमा बसेर काम गर्ने हो भने समस्या उत्पन्न हुँदैन ।’

सहकारीमा एउटै ब्यक्ति आधा दर्जन संस्थामा संचालक बस्ने, संचालक समितिमा बसेका ब्यक्तिहरुले सबै पैसा आफैं चलाउने, समयमा अडिट नगर्ने, अडिट गर्दा यथार्थ लुकाउने लगायतका समस्या देखिएको भन्दै उहाँले नगरपालिका भित्रका सबै सहकारीलाई सचेत गराउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिका सहकारी शाखा प्रमुख तिर्थराज थापामगरले मातहतका सहकारीलाई ऐन, कानुन र कार्यविधि भित्र रहेर ऋण लगानी गर्न आग्रह गर्नुभयो । 

सहकारीले धितो राखेर लगानी गरेको ऋण उठाउन समस्या नरहेको भएपनि बिनाधितो जमानी लगानी गरेको ऋण उठाउन एकदमै गाह्रो भएको बताउनुभयो ।

‘सहकारीले कानुनी प्रक्रिया नपु¥याई लगानी गरेको ऋण डुबेपछि हामीलाई उठाईदिनुस भनेर अनुरोध गर्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘तर यस्तो ऋण उठाउन हामीलाई पनि समस्या पर्छ ।’

सहकारीमा प्रत्येक सदस्यले एकअर्कालाई चिन्नुपर्नेमा अहिले अधिकांश संस्थामा शेयर सदस्यले संचालक समिति अध्यक्ष नचिन्ने र अध्यक्षले सदस्यलाई नचिन्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

उहाँले सहकारी संस्थालाई ऋणी सदस्यको बारेमा प्रसस्त जानकारी लिएरमात्र ऋण लगानी गर्न सुझाव दिनुभयो । ‘कतिपय सहकारीले सदस्य बनेकै दिन ऋण फारम भर्ने सदस्यलाई पनि ऋण दिने गरेको पाईएको छ,’ उहाँले भन्नुभयो, ‘यस्तो गल्ती नगर्नुस ।’

सहकारीले प्रवाह गरेको अधिकांश ऋण उपभोगमा प्रयोग भएको उल्लेख गर्दै शाखा प्रमुख थापामगरले सहकारीलाई उत्पादनमूलक तथा ब्यवसायिक क्षेत्रमा लगानी वृद्धि गर्न आग्रह गर्नुभयो ।

नगरपालिकाले मातहतका सहकारीलाई एकीकरण गरेर सबल बनाउन एकीकरण कार्यविधि र प्रभावकारी अनुगमन गरेर सुशासनमा राख्नका लागि अनुगमन कार्यविधि निर्माण गरिरहेको जानकारी गराउनुभयो । 

यसैगरी उहाँले नगरपालिकाले सहकारीकर्मीहरुको माग अनुसार समयमा अडिट गर्ने, समयमा विवरण बुझाउने, समयमा साधारण सभा गर्ने, सदस्य सन्तुष्टि लगायतका पक्षलाई मूल्याङ्कन गरेर उत्कृष्ट सहकारी पुरस्कार प्रदान गर्नका लागि आवश्यक मापदण्ड तय गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो ।

यस्तै नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत, सहकारी शाखा प्रमुख लगायतको सहभागितामा पाँच सदस्यीय अनुगमन समिति बनाएर पहिलो चरणमा नमूनाकोरुपमा १० करोड रुपैयाँ भन्दा माथि सम्पत्ति भएका सहकारीको अनुगमन गर्नलागेको जानकारी दिनुभयो ।

तालिम कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ, काठमाडौंका संचालक कविन्द्र रिमालले सदस्यहरुलाई लगानी गरेको ऋणबाट प्राप्त हुने ब्याज नै सहकारीको मुख्य आम्दानी भएकाले सहकारी बाँच्नका लागि पनि प्रभावकारी लगानी आवश्यक पर्ने बताउनुभयो ।

तारकेश्वर नगरपालिकाका सहकारीमा कम समस्या रहेको पाएको अनुभव सुनाउँदै उहाँले नियामक निकायले समयमै सहकारीको नियमन गरेर सुधार गर्दा समस्या समाधान गर्न सकिने विश्वास प्रकट गर्नुभयो । साथै सहकारीमा आन्तरिक सुशासन कायम राख्न अपरिहार्य रहेको भनाई राख्नुभयो ।

‘सहकारीमा सुशासन कायम राख्न सकिएन भने संस्था धेरै लामो समय टिक्दैन,’ उहाँले भन्नुभयो, ‘सहकारीका संचालकहरु आफू सुशासनमा बस्यौं भनेमात्र अरुलाई सुशासनमा राख्न सकिन्छ ।’

उहाँले सहकारी संस्थामा ४९ प्रतिशत भन्दा बढी संचालकहरुले एकै समय ऋण लिन नपाउने कानुनी ब्यवस्था रहेको भएपनि कतिपय संस्थाले यो ब्यवस्था पालना नगरेको गुनासो गर्नुभयो ।

सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीको सभापतित्वमा तारकेश्वर–४ स्थित कछुवा क्याफे एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वडा नं. २ का वडा सदस्य एवं सहकारी अनुगमन समिति सदस्य किशोर भण्डारी, जिल्ला सहकारी संघ, काठमाडौंका संचालक हरी सापकोटा, हकहित समाजका संस्थापक अध्यक्ष अर्जुन खतिवडा लगायत अतिथि रहनुभएको थियो ।

समाजका सचिव ऋषिराम ढकालले संचालन गर्नुभएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का भूतपूर्व सिईओ कुबेर निरौलाले तालिम दिनुभएको थियो । उपस्थित अतिथि तथा सहभागीलाई समाजका संचालक सदस्य केदार बास्कोटाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमा नगरपालिका भित्र संचालित विभिन्न सहकारीका अध्यक्ष, ब्यवस्थापक र कर्मचारी गरी एक सय जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।