आज मुलुकभरि ६७औं राष्ट्रिय सहकारी दिवस मनाईंदै

आज मुलुकभरि ६७औं राष्ट्रिय सहकारी दिवस मनाईंदै
समाचार | 2024-04-02 Share

काठमाडौं । आज मुलुकभरिका सहकारी अभियान सम्वद्ध संघ/संस्था र सरोकारवाला निकायले ६७औं राष्ट्रिय सहकारी दिवस मनाउँदै छन् । 

‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने थिम अन्तर्गत विविध कार्यक्रम आयोजना गरेर दिवस मनाईंदै छ ।

चितवन जिल्लाको शारदानगरमा २०१३ चैत २० गते पहिलो सहकारी संस्थाकोरुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष सहकारी दिवस मनाउने प्रचलन रहेको छ । 

दिवसको अवसरमा सहकारी अभियानका छाता संघहरु, प्रारम्भिक सहकारी संस्था र नियामक निकायले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । कतिपय सहकारीले साताव्यापी कार्यक्रम गरेर दिवस मनाउने तयारी गरेका छन् ।  

हरेक वर्ष राष्ट्रिय सहकारी महासंघले दिवसका लागि तय गरेको थिमलाई केन्द्रमा राखेर सहकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रम गर्ने गरेका छन्  । 

सहकारी संघ/संस्थाहरुले दिवसलाई जनस्तरमा सहकारी अभियानको महत्व वोध गराउने अवसरकोरुपमा सदुपयोग गर्दैआएका छन् । यसका लागि विभिन्न सिर्जनात्मक गतिविधका साथै सामाजिक क्रियाकलाप आयोजना गरेका छन् । 

आज मुलुकका विभिन्न स्थानमा सहकारीकर्मीहरुले र्याली, भेला, कोणसभा लगातयका सार्वजनिक कार्यक्रम आयोजना गरेका छन् । 

यसैगरी विभिन्न सहकारीले सहकारी दिवसको अवसरमा खेलकुद प्रतियोगिता, हाजिरी जवाफ, चित्रकला प्रतियोगिता, निबन्ध लेखन, कविता वाचन, टोल तथा नदीनाला सरसफाई, वृक्षारोपण, रक्तदान, सहकारी गोष्ठी लगायतका कार्यक्रम गर्ने घोषणा गरेका छन् ।