लेखा समितिले प्रभावकारी भूमिका खेले संस्था बलियो हुन्छः रजिष्ट्रार घिमिरे

लेखा समितिले प्रभावकारी भूमिका खेले संस्था बलियो हुन्छः रजिष्ट्रार घिमिरे
समाचार | 2024-05-08 Share

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरिएको बताउनुभएको छ । 

बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट संकलित पूँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उहाँले बताउनुभएको हो । 

नियामकीय दृष्टिकोणमाः ‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरिवेक्ष समिति सहकारी संस्थाको ‘वाच डग’ बताउनुभयो । 

लेखा समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रुपमा गर्नुपर्ने उहाँको भनाई छ । सहकारी क्षेत्रलाई समाजवादउन्मुख अर्थतन्त्र निमार्णको लागि सशक्त आधारशिलाको रुपमा स्थापना गर्नको लागि संबिधानले नै अंगिकार गरेको भएपनि अहिले सहकारीमा धेरै समस्या उत्पन्न भएको बताउनुभयो। नीतिगत तथा संस्थागत संरचनामा समस्याहरु धेरै देखिएको उहाँको बुझाई छ । 

‘सहकारी मार्फत आर्थिक समृद्धिको सम्भावना प्रसस्तै छ । अर्र्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान छ । मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा करिव ४ प्रतिशत योगदान छ । ९३ हजार ७ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक १४.८१ प्रतिशत लगानी यो क्षेत्रको छ । तर हाम्रो आफ्नै कारणले सहकारीमा समस्यामा छ’ उहाँले भन्नुभयो ।

सहकारीमा आन्तरिक समस्या धेरै देखिएका छन् । लेखा समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा बहन नगर्ने , बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासिनता , संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सकारीलाई पिरोलिएको घिमिरेले उल्लेख गर्नुभयो ।

कोभिड १९सँगै विश्वमा आएको महामारी, सहकारीमा भाखा नाघेका कर्जाका साथै असुलीमा समस्या, विना धितो कर्जा प्रवाह, कर्जा वर्गिकरणमा प्रभावकारीता नहुँदा, ऋण जोखिमलाई ध्यान पुर्याउन नसक्दा र तरलता व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या देखिएको उहाँले बताउनुभयो ।

समस्या समाधानका लागि  सैद्धान्तिक मूल्य मान्यताप्रति प्रतिवद्ध हुदै, सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिले प्रभावकारी रुपमा  आन्तरिक नियन्त्रण गर्दै सहकारी संस्थाका जागरुक सदस्यहरुले खबरदारी गर्नुपर्नेमा घिमिरेको जोड छ । 

उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष काशिराज दाहालले संस्थाको अनुगमनको क्रममा एउटै सहकारीबाट बिना धितो ५ अर्ब सम्मको कर्जा आफ्नै श्रीमतीलाई जमानी राखेर वितरण गरेको देखिएको बताउनुभयो । 

अन्धाधुन्ध र खुद्रा पसल जस्तै सहकारी संस्थाको दर्ता दिने प्रकृया रोक्नु पर्छ । यसरी दर्ता भएका सहकारी संस्थाहरुले राम्रा काम गर्ने सहकारी संस्थालाई विस्थापित गरेको दाहालले औंल्याउनुभयो । सहकारी संस्थालाई तीन तहमा नियमन गर्ने व्यवस्था गरिएसँगै सहकारी क्षेत्रमा ठूलो समस्या आएको उहाँको भनाई छ ।  

त्यस्तै अधिकांश सहकारी संस्थाहरुको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा परिवारिक एकाधिकार भएका कारण पनि सहकारीमा समस्या देखिएको उहाँले बताउनुभयो । ‘लेखा समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ’, उहाँले भन्नुभयो ।

सबै सहकारीले बचत ऋणको मात्र मुख्य काम गरेका कारण सहकारीमा समस्या देखिएको उहाँको भनाई छ । सात वर्ष पहिले ऐनमा गरको व्यस्था कर्जा असुली न्यायाधीकण, कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष स्थापना नहुँदा थप समस्या उत्पन्न भएको उहाँको भनाई छ ।

उक्त प्रस्तुतिकरणको राष्ट्रिय सहकारी महांसघका वरिष्ठ उपाध्क्ष रमेश पोखरेलले सहजीकरण गर्नुभएको थियो ।