मोरङका सहकारीमा श्रृङ्खलावद्ध चोरी, जिल्ला संघले माग्यो सुरक्षा

मोरङका सहकारीमा श्रृङ्खलावद्ध चोरी, जिल्ला संघले माग्यो सुरक्षा
समाचार | 2024-05-08 Share

मोरङ । जिल्लाका विभिन्न स्थानमा रहेका एक दर्जन सहकारी संघ/संस्थाको नगद तथा जिन्सी सामग्री चोरी भएपछि जिल्ला सहकारी संघले प्रशासन कार्यालयसंग सुरक्षा मागेको छ ।

संघले केही समय देखि श्रृङ्खलाबद्धरुपमा रातीको समयमा सहकारीको कार्यालय तोडफोड गरेर नगद तथा भौतिक सामानहरुको चोरी गर्ने गतिविधि बढेको भन्दै सुरक्षा माग गरेको हो ।

यसैगरी पछिल्लो सहकारी संस्थाको काममा खटिएका कर्मचारीहरु माथि आक्रमण गर्नुका साथै कार्यालय परिसर भित्र प्रवेश गरेर कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने जस्ता अपराधिक गतिविधि समेत बृद्धि भएको संघले जनाएको छ ।

जिल्ला सहकारी संघका अध्यक्ष डा. डिल्ली पोखरेलले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर ‘निरन्तर भइरहेका यस्ता गतिबिधिहरुका कारण सहकारी संघ÷संस्थाहरुको संचालन प्रकृयामा नै गम्भीर समस्या देखा परेको’ उल्लेख गर्नुभएको छ ।

‘अपराधिहरुको खोजी गरी पक्राउ गर्न, क्षतिपूर्ति भर्पाइ गराउन तथा सहकारी संघ/संस्थाहरुको लागि विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न÷गराउन र भयरहित वातावरणमा काम गर्न सक्ने अवस्था सृजना गर्न÷गराउन मोरङ जिल्लाको सहकारी अभियानका तर्फबाट जोडदार माग गर्दछौं,’ पत्रमा उल्लेख छ । 
यसैगरी जिल्ला संघले हालै चोरी डकैतीमा संलग्न भएको अभियोगमा झापामा पक्राउ परेर थुनामा रहेका केही व्यक्ति मोरङका सहकारी संघ/संस्थामा भएका आपराधिक घटनाहरुमा पनि संलग्न भएको हुनसक्ने शंका प्रकट गर्दै झापा जिल्ला प्रशासनसंग समन्वय गरेर अुनसन्धान गर्न आग्रह गरेको छ ।

जिल्ला संघले विभिन्न मितिमा रतुवामाई स्थित सौठा बचत तथा ऋण सहकारी संस्था, कानेपोखरी स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था र आदर्श बचत तथा ऋण सहकारी संस्था र पथरी शनिश्चरे स्थित सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको जनाएको छ । यस्तै लेटाङ स्थित एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा चोरी भएको उल्लेख गरेको छ ।

यसैगरी बेलबारी नगरपालिकाका विभिन्न वडामा रहेका जनप्रेमी बचत तथा ऋण सहकारी संस्था, जिल्ला बचत तथा ऋण सहकारी संघ, लालीगुँरास बचत तथा ऋण सहकारी संस्था, झलझली बचत तथा ऋण सहकारी संस्था र  दिपज्योती नारी विकास बचत तथा ऋण सहकारी संस्थामा समेत चोरी डकैती भएको संघले जनाएको छ ।