‘सहकारीमा शेयर सदस्य र कर्मचारीबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ’

‘सहकारीमा शेयर सदस्य र कर्मचारीबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ’
अन्तर्वार्ता | 2024-05-17 Share

सहकारी संस्थालाई सफल बनाउनका लागि संचालक समितिका पदाधिकारीहरु जत्तिकै महत्व हुन्छ ब्यवस्थापकको । दैनिक कार्यसंचालनका लागि भौतिक तथा कर्मचारी ब्यवस्थापन गर्नेमात्र नभई संस्थाले तय गरेको लक्ष्य र उद्देश्य हासिल गर्नका लागि संस्थालाई सुशासनयुक्त ढंगले संचालन गर्ने महत्वपूर्ण जिम्मेवारी ब्यवस्थापकको काँधमा अडिएको हुन्छ । 

यसका साथै सूचना प्रविधि र वित्तीय व्यवस्थापन गर्ने, शिक्षा/तालिमका कार्यक्रम संचालन गर्ने, शेयर सदस्यहरुसंग असल सम्बन्ध स्थापित गर्ने र संस्थाको जोखिम व्यवस्थापन गर्नका लागि मूल्याङ्कन प्रतिवेदन तयार पारेर संचालक समितिलाई बुझाउने जिम्मेवारी समेत ब्यवस्थापकलाई सुम्पिएको हुन्छ । त्यसैले हरेक सहकारी संस्था सफल हुनका लागि कुशल ब्यवस्थापक अनिवार्य शर्त हो ।

मुलुकको सहकारी क्षेत्रले साढे छ दशक पार गरिसक्दा पनि ब्यवसायिक क्षमता बोकेको जनशक्तिलाई आकर्षित गर्न सकेको छैन । यो क्षेत्रलाई रोजगारी र करिअरको दृष्टिकोणबाट विश्वसनीय बनाउन सकेको छैन । परिणामत सहकारीका केन्द्रीय संघहरु देखि प्रारम्भिक संस्था सम्म ब्यवसायिक भन्दा पनि संचालक समितिको ईशारामा चल्ने ब्यवस्थापकले भरिएका छन् । 

यस्तो अवस्थामा पनि ‘कालो बादलमा चाँदीको घेरा’ बन्नुभएको छ चावहिल स्थित सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ब्रम्ह बहादुर बजगाँई । औपचारिक शिक्षा तर्फ एम.बी.एस. र एम.ए. तहको उपाधि हासिल गर्नुभएका बजगाँईले राष्ट्रिय सहकारी महासंघले संयोजन गरेको डिप्लोमा इन को अपरेटिभ म्यानेजमेन्ट कोर्ष समेत पुरा गर्नुभएको छ । साथै उहाँले विभिन्न अवधिका एक दर्जन भन्दा बढी सहकारी तालिम समेत प्राप्त गर्नुभएको छ । विगत दुई दशकदेखि सहकारीमा क्रियाशिल सिईओ बजगाँईसंग हामीले सहकारी ब्यवस्थानको विषयमा आधारित भएर कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सारः 

पछिल्लो समय सहकारी ब्यवस्थापन गर्ने जिम्मेवारी चुनौतीपूर्ण बनेको छ । कसरी काम गरिरहनुभएको छ ?

केही समय देखि सहकारी संस्था व्यवस्थापन गर्ने काम एकदम चुनौतिपूर्ण हुँदै गएको छ । पछिल्लो समय सहकारीको विषयमा विभिन्न किसिमको हल्ला फैलाईएको छ । यसका साथै केही सहकारी संस्थाका संचालक र कर्मचारीको बदमासीको कारणले गर्दा हामी जस्ता इमान्दार सहकारी व्यवस्थापकहरुले पनि कडा चुनौती सामना गर्नुपरेको छ ।

यसलाई चिर्न हामीले अर्थात मैले शेयर सदस्य तथा कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाउने प्रयास गरिरहेको छु । संस्थामा उत्पन्न हुने चुनौतीलाई सामना गर्न सर्वप्रथम त इमान्दारिता चाहिन्छ । जुन हामीले पुरा गरेका छौं । हामीले शेयर सदस्यसंग व्यवस्थापनको राम्रो सम्बन्ध बनाउने प्रयास गरेका छौं । साथै शेयर सदस्य र संचालकहरुसंग नजिकमा रहेर जिम्मेवारीपूर्ण कार्य गर्दै आएका छौं ।

मुलुकमा केही सहकारीका कर्मचारीहरुले डर, धम्की र भौतिक आक्रमण समेत ब्यहोर्नुपरेको छ । यसले गर्दा अन्य सहकारीका कर्मचारीहरुमा पनि मनोबैज्ञानिक त्रास सिर्जना भएको छ । यस्तो अवस्थामा कर्मचारीहरुको मनोबल उच्च बनाउन कस्ले के गर्नुपर्ला ?

अवश्य सहकारी संस्थाका कर्मचारीले विभिन्न किसिमका डर, धम्की र त्रास खेप्नु परेको छ । यसमा राज्यको बेवास्ता तथा निरिहपनले गर्दा पनि अप्ठेरो परेको छ । यस्तो समयमा हामीले आफ्ना सहकारीका कर्मचारीहरुलाई विभिन्न किसिमका उत्प्रेरणात्मक तालिम तथा शिक्षाका कार्यक्रम संचालन गरेका छौं । यसमा कर्मचारीको मनोवल उच्च बनाउन सहकारी महासंघ, राज्य तथा अभियान्ताहरुले प्रोत्साहनमूलक तथा सकारात्मक सूचनाहरु जारी गरेर ढुक्क हुने अवस्था सिर्जना गर्नुपर्दछ । 

सहकारीमा ब्यवस्थापनले संचालकको दबाव र स्वार्थ अनुकुल भएर काम गर्नुपर्छ भनिन्छ । तपाईंले आम सहकारी संस्थामा अवस्था कस्तो देख्नुभएको छ ?

अवश्य पनि अहिलेको अवस्थामा जति पनि सहकारी संस्था समस्यामा परेका छन् तिनमा संचालकहरुको स्वार्थ तथा दबावको कारणले गर्दा ऋणीको क्षमता मूल्याङ्कन गरेर आवश्यक धितो सुरक्षण नलिई असुरक्षित तवले लगानी गरेको पाईएको छ । त्यसैले समग्र सहकारी संस्थाले क्षमताको आधारमा (Capacity Based Lending) लगानी गर्न सकिरहेको अवस्था छैन । संचालक तथा उच्च व्यवस्थापनको दबाबमा लगानी गरेको पाइन्छ ।

समस्याग्रस्त बनेका सहकारीमा बचतकर्ताको पैसा हिनामिना गर्ने कार्यमा कर्मचारीहरुको समेत मिलेमतो भएको पाईयो । कर्मचारीहरु किन ब्यवसायिक (प्रोफेसनल) हुन नसेका होलान ? 

एकदम ठिक कुरा गर्नु भयो । सहकारीमा कर्मचारी भनेको मुख्य खम्वा हो । तर कर्मचारीहरुलाई हामीले सहकारी शिक्षा र तालिम दिएर क्षमतावान बनाउन सकेका छैनौं । उनीहरुलाई सहकारी शेयर सदस्यहरुको स्वामित्वमा संचालन हुने संस्था हो, संचालक र कर्मचारीकोमात्र होईन भन्ने कुरा बुझाउनुुपर्ने आवश्यकता देखिन्छ । कर्मचारीलाई हामीले बैकिंङ तालिमहरु दिएर प्रोफेसनलरुपमा दक्ष बनाउनुपर्दछ । कर्मचारीका न्यूनतम आबश्यकतालाई पुरा गर्न सक्नुपर्छ ।

सहकारीमा दक्ष जनशक्ति रिटेन्सन गर्न गाह्रो पर्ने गरेको छ । बैंक वित्तीय क्षेत्र जस्तै सहकारीलाई रोजगारी/करिअरको दृष्टिकोणबाट विश्वसनीय बनाउन के गर्नुपर्ला ?

अवश्य पनि सहकारी संस्थामा कर्मचारी रिटेन्सन गर्न गाह्रो पर्नेगरको छ । किनकी बैंक तथा वित्तीय क्षेत्रमा जस्तो राम्रो सेवा सुविधा नहुनु, सहकारीलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक नहुनु, सहकारीको जागिरलाई करिअरकोरुपमा लिन सक्ने विश्वास दिलाउन नसक्नु, जागिरको सुरक्षाको अनुभूति गराउन नसक्नु लगायतका समस्या सहकारीमा रहेका छन् । यस्ता विषयहरुलाई हामीले सम्वोधन गरेर सहकारीको रोजगारीलाई  विश्वासिलो र भरपर्दो बनाउन सकिन्छ ।

सहकारी सफल हुनका लागि कर्मचारी र शेयर सदस्यबीच चाहिँ कस्तो सम्बन्ध हुनुपर्छ  ?

अवश्य पनि एउटा सहकारी संस्था सफल हुनका लागि कर्मचारी र शेयर सदस्यहरुबीच नङ र मासुको जस्तो सम्वन्ध हुन जरुरी छ । किनकी हामी कर्मचारीहरुले शेयर सदस्यहरुलाई सम्पूर्ण सूचना, सुविधा दिएर सहकारी संस्था शेयर सदस्यहरुको हो भन्ने अनुभूति गराउनुपर्दछ । सहकारीका सात सिद्धान्त बुझाउन सक्नुपर्छ ।

तपाईंलाई ब्यवस्थापकको नजरबाट हेर्दा अहिले सकारीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ जस्तो लाग्छ ?

अहिलेको अवस्थामा सहकारीमा देखिएको समस्यालाई समाधान गर्न हामी सहकारीकर्मी आफैँ चनाखो हुनुपर्दछ । यसका लागि सहकारीकर्मी इमान्दार हुनुपर्दछ । राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्दछ । अभियानमा लागेकाहरुले दलीय राजनीतिमा कम, सहकारी संस्थाको लागि अभिमुखीकरण कार्यक्रमहरुमा बढी समय दिनुपर्दछ । साथै शेयर सदस्यहरुलाई सधैं चनाखो बनाउने कार्य गर्नुपर्दछ ।

महासंघले संचालन गरेको डिप्लोमा ईन कोअपरेटिभ म्यानेजमेन्ट कोर्ष गर्नुभएको छ । यो कति उपलिब्धमूलक भयो ?

कुनै पनि सहकारी संस्थाको सहकारीकर्मी तथा व्यवस्थापनको लागि अति आवश्यक कोर्ष हो भन्ने महसुस गरेको छु । किनकी यो कोर्ष सहकारी संस्थाको लागि महत्वपूर्ण छ । कुसुम र महासंघले संचालन गरेको कोर्षमा २३ वटा मोडल थिए । यसको प्रत्येक मोडल धेरै महत्वपूर्ण छ । एक दुईओटा मोडललाई परिमार्जन गरेर यसलाई प्रत्येक सहकारी संस्थाको व्यवस्थापक सम्म पु¥याउन आवश्यक महसुस गरेको छु । मैले व्यक्तिगत रुपमा उपलब्धिमूलक रहेको पाएँ । यसलाई महासंघले निरन्तरता दिन जरुरी छ ।

अन्त्यमा मुलकभरिका सहकारीका ब्यवस्थापक/कर्मचारीहरुलाई केही सन्देश दिन चाहनुहुन्छ ?

कुनै पनि सहकारी संस्था कर्मचारी बिना संचालन गर्न तथा दिगोपन दिन सम्भव छैन । त्यसैले सहकारी संस्थामा कर्मचारी मुख्य खम्वा हो । त्यसैले कर्मचारी इमान्दार हुन जरुरी छ । कर्मचारीले दक्षता हासिल गर्न जरुरी छ । सहकारीमा करिअर विकास गर्न हामी आफंै लाग्नुपर्छ । शेयर सदस्यहरुलाई सहकारी सिद्धान्तको बारेमा पूर्णरुपमा जानकारी गराउनु जरुरी छ । यसका साथै शेयर सदस्यसँग कर्मचारीको घनिष्ठ सम्वन्ध हुन जरुरी छ ।