सज्जन महिला साकोस : एक चिनारी

सज्जन महिला साकोस : एक चिनारी
संस्था परिचय | 2021-02-14 Share

परिचय

काठमाडौं महानगरपालिका वडा नं. ६, शान्तिनगर टोल, महाङकालमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्था वि.सं. २०६६ साल पुस १२ गते विधिवतरुपमा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको हो । यसअघि संस्थाका संस्थापक सदस्यहरुले २०६० सालमा चेतनशील महिला समूह गठन गरेर मासिक बचत गर्नुका साथै महिला दिदी बहिनीहरुको आर्थिक समस्या समाधान गर्नका लागि विभिन्न सहयोग गर्दै आएका थिए । समूहमा भन्दापनि सहकारी संस्थामा संगठित हुँदा उद्यमशीलताको विकास गरेर समाजमा महिलालाई आत्मनिर्भर बनाउन थप सजिलो र प्रभावकारी हुन्छ भन्ने सोच राखेर औपचारिकरुपमा संस्था स्थापना गरिएको हो । दर्ता भएको केही हप्तापछि २०६६ साल माघ २ गतेबाट संस्थाले नियमित दैनिक कारोबार शुभारम्भ गरेको हो ।

उद्देश्य

संस्थाले सदस्यहरुलाई छिटो छरितो नीति, विधि र प्रविधियुक्त वित्तीय कारोबार सेवा प्रवाह गर्दै आएको छ । संस्थाले आगामी दिनमा सुशासन कायम राख्दै सदस्यहरुको वित्तीय तथा गैर वित्तीय आवश्यकता पुरा गर्न कोसिस गर्ने र धेरै जना सदस्य आवद्ध गराई समुदायमा आधारित उत्कृष्ट वित्तीय सहकारी बनाउने उद्देश्य लिएको छ । 

वित्तीय अवस्था

हाल संस्थामा १ हजार २ सय ६१ जना शेयर सदस्य रहेका छन् । ६ सय १ जना बाल सदस्य आवद्ध बनेका छन् । जसमध्ये ७१ प्रतिशत महिला र २९ प्रतिशत पुरुष रहेका छन् । संस्थाले सदस्यहरुबाट १ करोड २४ लाख ५३ हजार रुपैयाँ शेयर र ६ करोड ३० लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । सदस्यहरुमाझ ६ करोड ५९ लाख ३५ हजार रुपैयाँ ऋण लगानी गरेको संस्थाले विभिन्न कोषमा ४८ लाख ९५ हजार रुपैयाँ संचय गरेको छ । 

गतिविधि

संस्थाले आफ्ना सदस्यलाई व्यवसाय स्थापना गर्न वित्तीय श्रोत जुटाईदिनुका साथै बचत गर्ने तरिका समेत सिकाउने गरेको छ । यसैगरी सदस्य तथा उनीहरुका सन्ततिलाई शैक्षिक अध्ययनका लागि विद्यालय तथा कन्सल्टेन्सीहरुसंग सम्झौता गरेर सहुलियत दरमा शैक्षिक कर्जा प्रदान गर्ने गरेको छ ।  विभिन्न अस्पतालसंग सम्झौता गरेर सदस्यहरुलाई औषधि उपचारमा सहुलियतको व्यवस्था मिलाएको छ । यसैगरी संस्थाले आफ्ना सदस्यहरुका लागि सहकारी सम्बन्धी शिक्षा, तालिम र अवलोकन भ्रमणको व्यवस्था गरेको छ । यसका साथै सहकारीको सामाजिक उत्तरदायित्वलाई मध्येनजर गर्दै विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ ।

लगानी

संस्थाबाट सदस्यहरुले विशेषगरी साना, मध्यम र ठूला व्यवसायका लागि ऋण लिने गरेका छन् । संस्थाले सदस्यहरुलाई हस्तकला व्यवसया, शैक्षिक व्यवसाय, ब्युटिपार्लर, बुटिक, कोल्ड स्टोर, अटो पार्टस्, ट्याक्सी व्यवसाय, डेरी व्यवसाय, सिलाई बुनाई आदि संचालन गर्नका लागि कर्जा दिएको छ ।

सफल उदाहरण

संस्थाबाट कर्जा लिएर विभिन्न व्यवसायमा लगानी गरेका सदस्यहरुले राम्रो सफलता प्राप्त गरेका छन् ।  न्यूटन एजुकेशन जोन प्रा.लि., चावहिल, सज्जन महिला साकोसबाट सबैभन्दा पहिले कर्जा लिने शेयर सदस्यले सुरु गर्नुभएको शैक्षिक संस्था हो । यस संस्थाबाट ५ लाख रुपैयाँ ऋण लिएर सेवा सुरु गरेको संस्थाले अहिले चावहिल चोकमा तीन ओटा र सामाखुसीमा एउटा भवनबाट सेवा दिदै आएको छ । गुणस्तरीय शिक्षा दिदै आएको संस्थाले हाल ४० जनालाई रोजगारी समेत दिएको छ । 

यसैगरी संस्थामा स्थापनाकाल देखि निरन्तर बचत गर्दै आउनुभएका सदस्य सविता खड्कीले सानो पुँजीबाट मासु व्यवसाय सुरु गर्नुभएको थियो । उहाँले हाल व्यवसाय वृद्धि गरेर कोल्डस्टोर संचालन गर्नुभएको छ । मासु तथा मासुजन्य पदार्थको थोक तथा खुद्रा विक्री गर्नुका साथै कुखुराको चल्ला, अण्डा र दानाको उत्पादन तथा बिक्री गरिरहनुभएको छ । किसानले चल्ला लगेर हुर्काएपछि आफैंले गरिद गर्ने व्यवस्था समेत मिलाउनुभएको छ । सदस्य खड्कीले २५ जना कामदारलाई रोजगारी दिएको उक्त पसल (बुचर हाउस)बाट मासिक ७ लाख रुपैयाँ सम्म आम्दानी गर्दै आएको बताउनुभयो । संस्थाले उहाँलाई यस वर्षको उत्कृष्ट उद्यमशील महिला व्यवसायी सम्मानबाट सम्माति गरेको छ ।

भावी योजना

संस्थाले लक्ष्य अनुसारको सदस्य संख्या वृद्धि गर्ने र सदस्यहरुलाई छिटो, छरितो र प्रभावकारी वित्तीय सेवा दिनका लागि आधुनिक प्रविधि थप गर्ने योजना बनाएको छ । त्यसैगरी संस्थाले महिलाहरुका लागि सहुलियत दरमा कस्मेटिक सामग्री उपलब्ध गराउने, खाद्यान्न व्यवसाय र दैनिक उपभोग्य सामग्री व्यवसायमा प्राथमिकताकासाथ लगानी गर्ने भएको छ । यसैगरी संस्थाले सदस्यहरुको लागी व्यवसाय स्थापना गरेर रोजगारी श्रृजना गर्ने भावी योजना बनाएको छ ।