ग्लोबल साकोसको अठारौं वार्षिक साधारण सभामा बाल सदस्य सम्मानित

ग्लोबल साकोसको अठारौं वार्षिक साधारण सभामा बाल सदस्य सम्मानित
समाचार | 2025-12-22 Share

ललितपुर । बालकुमारी स्थित ग्लोबल बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

क्वालिटी क्याफे एण्ड ब्याङ्क्वेटमा पुस ५ गते आयोजित सभा संस्थाका अध्यक्ष टलक बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

साधारण सभाको अवसर पारेर संस्थाले शेयर सदस्यहरु मध्ये १३ जना बाल बचतकर्ताहरुलाई सम्मान गरेको छ । सम्मानित हुने बाल बचतकर्ताहरुमा आरभी पौडेल, विपिन मगर, रियान्स श्रेष्ठ, जेनिथ थापामगर, स्टिभ थापामगर, सिम्रन खड्का, साइमन श्रेष्ठ, शिच्यु श्रेष्ठ, दिगम थापा जि.सी., देविना श्रेष्ठ, केल्भिन श्रेष्ठ, सम्राट श्रेष्ठ र मनोहर मेयर रहेका छन् ।

यसैगरी उत्कृष्ट नियमित बचतकर्ता नमहरी श्रेष्ठ र अनिल संजीव श्रेष्ठ, उत्कृष्ट शेयर सदस्य मनोमाया श्रेष्ठ, उत्कृष्ट आवधिक बचतकर्ता निराजन खड्का र उत्कृष्ट ऋणी तिब्रतिकार श्रेष्ठ पनि सम्मानित भएका छन् । साथै संस्थाले आफ्ना कर्मचारीहरु मध्येबाट बजार व्यवस्थापक विद्या श्रेष्ठलाई पनि पुरस्कृत गरेको छ ।

साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष चन्द्र प्रसाद ढकाल, सकहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरी,  रिजर्भ साकोस, बिजुलीबजारका अध्यक्ष फणिन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सभामा बोल्दै नेफ्स्कून अध्यक्ष ढकालले वर्तमान अवस्थामा युवाहरुलाई सहकारीक्षेत्र प्रति आकर्षित गर्दै संस्थाले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरे ।
साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे ।

संस्था संचालनको क्रममा विभिन्न प्रतिकुल परिस्थितिको सामना गर्नुपरेको भएपनि शेयर सदस्यहरुको साथ, सहयोग र विश्वासले गर्दा आफ्नो साख उचो राख्न सफल भएको बताए । सदस्यहरुको सहभागिता र भरोषाले गर्दा संस्थाको समग्र कारोबार उल्लेख्य वृद्धि भएको जानकारी दिए ।

संस्थाले आगामी दिनका लागि व्यवहारिक नीति तथा कार्यक्रम तय गरेर हाल प्रवाह गरिरहेका सेवा सुविधालाई थप परिष्कृत र प्रभावकारी बनाउने विश्वास दिलाए ।

अध्यक्ष श्रेष्ठले संस्थाले कर्जा असुली प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आवश्यक परेको बेला कानुन बमोजिम कडा कदम चालेर भएपनि लगानी असुलउपर गर्ने गरेको बताए । साथै उनले अहिलेकाे  विषम परिस्थितिमा पनि संस्थाले शेयर सदस्यहरुलाई लाभांश  वितरण गर्न सफल भएकाे जनाए ।

साधारण सभामा संस्थाका सचिव विष्णु कुमार श्रेष्ठ र कोषाध्यक्ष धन बहादुर श्रेष्ठले पनि संचाल समितिको तर्फबाट प्रगति विवरण पेश गरे । साथै लेखा सुपरीवेक्षण समितिका सदस्य प्रेम श्रेष्ठले लेखा परीक्षण प्रतिवेदन पेश गरे ।

सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी ३ करोड २१ लाख ८० हजार रुपैयाँ र कुल बचत १५ करोड ९४ लाख ९५ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी उक्त मिति सम्ममा संस्थाका १ हजार ६ सय ९५ जना शेयर सदस्यहरु मध्ये २ सय ९८ जना सदस्यहरुले विभिन्न शीर्षकमा १५ करोड ९५ लाख ९७ हजार रुपैयाँ ऋण लिएका छन् ।

कुल सम्पत्ति २३ करोड १९ लाख ८५ हजार रुपैयाँ रहेको संस्थामा २८ दशमलव शून्य ८ प्रतिशत तरलता रहेको छ । साधारण जगेडा तथा अन्य कोषहरुमा ९१ लाख ४ हजार रुपैयाँ संचित रहेको छ ।

संस्थाले चालु आ.व.मा शेयर पुँजी साढे ३ करोड रुपैयाँ बचत संकलन साढ २५ करोड रुपैयाँ र कुल सम्पत्ति २८ करोड रुपैयाँ पु¥याउने लक्ष्य लिएको छ ।
शेयर सदस्यहरुलाई छिटो, छरितो तथा भरपर्दो सेवा दिनका संस्थाले आधुनिक मोबाईल बैंकिङ सेवा उपलब्ध गराएको छ ।

यसबाट सदस्यहरुले विद्युत, इन्टरनेट, टेलिफोन आदि सेवा प्रदायकहरुको महसुल भुक्तानी गर्नुका साथै एउटा सदस्यको खाताबाट अर्को सदस्यको खातामा रकम ट्रान्सफर गर्न सहज भएको छ ।

संस्थाले एसएमएस सूचना प्रणाली मार्फत सदस्यहरुलाई मोबाईल फोनमा म्यासेज पठाएर कारोबारको जानकारी दिने गरेको छ ।

यसका अतिरिक्त गत आ.व.देखि संस्थाले क्यूआर कोड सेवा संचालनमा ल्याएर सदस्यलाई अनलाईन भुक्तानी सुविधा समेत उपलब्ध गराएको छ ।

संस्थाका व्यवस्थापक रामशरण पौडेलले संचालन गरेको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई संस्थाका उपाध्यक्ष सन्तलाल श्रेष्ठले स्वागत गरेका थिए ।