सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्छ : सभापति देउवा
ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । उनले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको बताए ।
‘नेपाली कांग्रेस र सहकारी’ विषयमा पार्टीको सहकारी विभागले आज पार्टी केन्द्रीय कार्यालय आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उनले बचतकर्ताको रकमको सुरक्षाका खातिर सहकारीमैत्री ऐन जारी भएको बताए ।
बीपी कोइरालाले २०१६ मा अवलम्बन गरेको आर्थिक नीति र सहकारीको सान्दर्भिकता आज पनि सान्दर्भिक रहेको चर्चा गर्दै सभापति देउवाले भने, 'सहकारी मूल्य, मान्यता, मर्म र अवधारणा अनुसार सञ्चालन हुनुपर्छ, आर्थिक समृद्धिका लागि सहकारी आन्दोलनको विकास आवश्यक छ, र बचतकर्ताको रकम सुरक्षाको सुनिश्चितता हुनुपर्छ ।'
उनले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखा परेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको बताए । उनले वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरू सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको बताए ।
सभापति देउवाले भने, ‘वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गरी वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरू सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध छ ।'
उनले आम नागरिकहरूले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा बचतकर्ताहरू पीडित भएको बताए । सरकारले समयानुकूल सहकारी मैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको बताए । उनले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
उनले भने, 'आम नागरिकहरूले अत्यन्त दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ बचतकर्ताहरू सहकारी पीडित भएका छन् । त्यो रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गरेको सन्दर्भमा बचतकर्ताहरूको बचतको ग्यारेन्टी हुनुपर्दछ र आजको आवश्यकता पनि त्यही हो । सहकारीकै कारण सामुदायिकको स्वावलम्वीकरण, गरिबी उन्मुलन, लोकतान्त्रिक समाजवादको संस्थागत हुन्छ भन्ने कुरामा विश्वास राख्दछ । यसका लागि सरकारले समयानुकूल सहकारी मैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको छ । सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्दछ ।’
सभापति देउवाले नेपाली कांग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुर्याउन अभियानको रूपमा बिस्तार गर्न लागिपरेको बताए ।
कार्यक्रममा पूर्वसचिव गोपीनाथ मैनालीले सहकारीका सदस्यले गरेको व्यवसायमा, सहकारीसहकारीबीचमा र राष्ट्र बैंकले जारी गर्ने डिबेञ्चर र नेपाल सरकारले जारी गर्ने ऋणपत्रमा मात्रै लगानी गर्न पाइनेमा ९० प्रतिशत गैरसदस्य कारोबार भएका छन् भन्दै यसले समस्या सिर्जना गरेको बताए ।
कांग्रेस सहकारी विभागका प्रमुख देवेन्द्रराज कँडेलले सातै प्रदेशका सहकारीकर्मीसँग सहकारीको सुरक्षाका विषयमा छलफल भएको बताए । बचतकर्ताको बचत हिनामिना गर्दा सहकारीमा समस्या आएको उनको भनाइ छ ।