सहकारीलाई कर्जा सूचना केन्द्रको सदस्यता लिन प्राधिकरणको आह्वान
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मुलुकभरिका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई अनिवार्य कर्जा सूचना केन्द्रको सदस्यता लिन आह्वान गरेको छ ।
प्राधिकरणले आज (मंसिर १० गते) एक सूचना प्रकाशन गरेर यस्ता सहकारीलाई कर्जा सूचना केन्द्रले तोकेको प्रकृया पुरा गरेर सदस्यता लिन आग्रह गरेको हो ।
यद्यपि प्राधिकरणले कर्जा सूचना केन्द्रले औपचारिक सूचना जारी गरेपछिमात्र आवश्यक प्रकृया पुरा गरेर सदस्यता प्राप्त गर्न भनेको हो । साथै प्राधिकरणले कर्जा सूचना केन्द्रलाई पनि बचत ऋणको मुख्य कारोबार गर्ने सबै सहकारीलाई सदस्यता प्रदान गर्न अनुरोध गरेको छ ।
गत चैत्रमा संशोधन भएको सहकारी ऐन, २०७४ ले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन गर्ने मुख्य जिम्मेवारी प्राधिरणलाई सुम्पेको हो ।
यसैगरी संशोधित ऐनले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई हाल बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा प्रदान गरिरहेको कर्जा सूचना केन्द्रमा नै सदस्यता दिएर कर्जा कारोबार सम्बन्धी सूचना आदान प्रदान गर्ने व्यवस्था गरेको हो ।



