प्राधिकरणद्वारा सहकारी दर्ता अभिलेखीकरण कार्य सुरु, अनलाईनबाटै अनुमतिपत्र लिन सकिने
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्ने सफ्टवयेर आजबाट सुरु गरेको छ ।
सहकारी अभिलेखीकरण गर्ने सफ्टवयेर निर्माण कार्य सम्पन्न भएको जानकारी गराउँदै प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले उक्त सफ्टवेयर शुभारम्भ भएको जनाए।
उनले प्राधिकरणको अनलाइन पोर्टल NCRA मार्फत सहकारीहरुले दर्ता अभिलेखीकरणको काम गर्नसकिने जानकारी दिए । प्राधिकरणले दर्ता अभिलेखिकरणको सम्पूर्ण काम अनलाईनबाटै गर्न सकिने व्यवस्था रहेको जनाइएको छ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ । सहकारीहरुले अनुपतिपत्रका लागि प्राधिकरणको अनलाईन मार्फत जानुपर्ने हुन्छ । प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन)’ जारी गरेको थियो।
मापदण्ड जारी भएपनि सफ्टवेयर निमार्ण नहुँदा दर्ता प्रक्रिया अघि बढ्न सकेको थिएन । सफ्टवेयर लञ्च भएको ६० दिनभित्र बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरु प्राधिकरणमा विवरण बुझाइसक्नु पर्नेछ ।
सहकारीले अपलाेड गरेकाे विवरण प्राधिकरणबाट रुजु भएपछि सफ्टवेयरले नै स्वतः सञ्चालन अनुमतिपत्र (लाइसेन्स) जेनेरेट गर्ने व्यवस्था छ । याे अनुमतिपत्र सहकारी संस्थाले प्रिन्ट गरेर राख्न मिल्ने प्राधिकरणले जनाएकाे छ ।


