श्री मुक्तिनाथ साकोसको १८औं साधारण सभामा ७६ जनाले गरे रक्तदान

श्री मुक्तिनाथ साकोसको १८औं साधारण सभामा ७६ जनाले गरे रक्तदान
समाचार | 2025-12-28 Share

काठमाडौं । धुम्बाराहीमा कार्यालय रहेका श्री मुक्तिनाथ बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको कार्यालय भवनमा पुस १२ गते आयोजित सभा  संस्थाका अध्यक्ष शम्भु कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

साधारण सभाको अवसर पारेर संस्थाले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । सभामा सहभागी संचालक, कर्मचारी र शेयर सदस्यहरु गरी ७६ जना रक्तदाताले रक्तदान गरेका थिए ।

संस्थाका कोषाध्यक्ष राज कुमार श्रेष्ठले संचालन गरेको कार्यक्रम उपस्थित सहभागीलाई संचालक समितिका सदस्य गोविन्द बहादुर कार्कीले स्वागत गरेका थिए ।

संस्थाका कानुनी सल्लाहकार अधिवक्ता विष्णु प्रसाद ढुंगानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरी विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले पछिल्लो समय बैंक वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेकाले सहकारी संस्थाले पनि लगानीको अवस्था हेरेर ब्याजदर परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए ।

यसैगरी विशेष अतिथि गिरीले वर्तमान सहकारीको अवस्था र सहकारी सम्बन्धी कानुनी विषयमा प्रशिक्षण प्रदान गरे ।

संस्थाका सचिव बलराम खड्का, संचालक सदस्य सानुकाजी श्रेष्ठ र ब्यवस्थापक सरिता श्रेष्ठले साधारण सभा समहारोह संचालनमा सहजीकरण गरेका थिए ।

साधारण सभामा संस्थाका अध्यक्ष श्रेष्ठले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे ।

उनले संस्थाले बचत संकलन तथा ऋण लगानीको आन्तरिक कार्यविधि बनाएर ऋण असुलीलाई प्राथमिकता दिएको जनाए ।

संस्थाले आन्तरिक सुशासनका लागि आवश्यक पर्ने सम्पत्ति शुद्धीकरण लगायतका आवश्यक कार्यविधि तय गरेर लागू गर्नुका साथै प्रदेश सहकारी कार्यालय र सहकारी नियमन प्राधिकरणले जारी गरेका मापदड तथा निर्देशनलाई समेत पालना गरेर कारोबार गर्दै आएको बताए ।

साधारण सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्मको संस्थाको शेयर पुँजी १ करोड ८० लाख १९ हजार रुपैयाँ, बचत संकलन ९ करोड ७९ लाख १३ हजार रुपैयाँ र ऋण लगानी १२ करोड ८४ लाख २४ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै संस्थाको जगेडा तथा अन्य कोषमा १ करोड ८० लाख ९३ हजार रुपैयाा, जोखि ब्यहोर्ने कोषमा २ करोड ६२ लाख ३३ हजार रुपैयाँ र नगद मौज्दात २ करोड ६३ लाख १६ हजार रुपैयाँ (२७ प्रतिशत) रहेको छ ।