बिन्धवासिनी साकोसलाई प्राधिकरणको संचालन इजाजतपत्र
काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती–१०, खोपासीमा रजिष्टर्ड र बनेपा–७ पनौतीरोडमा कर्पोरेट कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरेको छ ।
सहकारी ऐन, २०४८ बमोजिम संघीय सहकारी विभागमा दर्ता भएर बचत ऋणको मुख्य कारोबार गर्दै आएको संस्थाले प्राधिकरणबाट माघ १३ गते २०५०–००५५० नम्बरको इजाजतपत्र प्राप्त गरेको हो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको प्राधिकरणले जनाएको छ ।
संस्थाले काभ्रेपलाञ्चोकका साथै भक्तपुर, काठमाडौं र ललितपुर जिल्लाका सदस्यलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।
प्राधिकरणले गत मंसिर १० गतेबाट अनलाईन मार्फत मुलुकभरिका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता अभिलेखीकरण कार्य सुरु गरेको हो ।
प्राधिकरणले दर्ता अभिलेखिकरणका लागि माघ १० गते सम्मको अवधि तोकेको भएपनि दर्ता प्रकृया निरन्तर भईरहेको र सबै सहकारीलाई तोकिएको समयभित्र विवरण प्रविष्ट गर्न समय अपुग हुने देखिएको भन्दै ३० दिन समय थप गरेको छ ।
सहकारी ऐन, २०७४ संशोधन भएर प्राधिकरण गठन भएपछि बचत ऋणको मुख्य कारोबार गर्ने मुलुकभरिका सबै सहकारी संस्था प्राधिकरणमा दर्ता भएर संचालन ईजाजतपत्र लिन लिनुपर्ने भएको हो ।
यस अघि संघ, प्रदेश वा स्थानीय तहबाट दर्ता प्रमाणपत्र लिएको भएपनि प्राधिकरणबाट इजाजत नलिई बचत तथा ऋणको मुख्य कारोबार गर्न नपाउने कानुनी व्यवस्था रहेको छ ।



