सहकारी नियमन प्राधिकरणले थप्यो चैत्र १७ गते सम्म दर्ता अभिलेखिकरणको समय

सहकारी नियमन प्राधिकरणले थप्यो चैत्र १७ गते सम्म दर्ता अभिलेखिकरणको समय
समाचार | 2026-02-24 Share

काठमाडौं । बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता तथा बर्गिकरणकालागि सहकारी नियमन प्राधिकरणले आह्वान गरेपनि उल्लेख्य प्रगती नभएपछि पूनः समय थप गरेको छ । बचत ऋणको मुख्य कारोबार गर्ने संस्थालाई प्राधिकरणले अभिलेखिकरण गर्न चैत्र १७ गतेसम्मका लागि समय थप गरेको हो ।

गत मंसिर १० गतेदेखि सुरु गरेको प्राधिकरणले पहिला ६० दिनको समयसिमा दिएको थियो । तर फागुन ११ गतेसम्ममा पनि दर्ता उत्साहजनक नभएपछि प्राधिकरणले अन्तिम पटक समय थपेर चेत्र १७ गतेसम्म पुर्याएको छ । फागुन ११ गतेसम्म प्राधिकरणमा ४ हजार १२९ संस्थाले मात्र आवेदन दिएका छन् ।

त्यसैगरी ३ हजार ४८८ संस्थाको रुजु गर्ने काम भइरहेको र ४ सय संस्थाको पहिलो चरणको काम सकिएको र अहिलेसम्म ६६० संस्थाले इजाजत प्रमाणपत्र प्राप्त गरेको प्राधिकरणका उपनिर्देशक मुकेश कर्णले जानकारी दिएका छन् । प्राधिकरणले आज सूचना जारी गरी सहकारीको दर्ता अभिलेखीकरणको समयावधि थप गरेको जनाएको छ ।

सूचनामा सहकारी ऐन, २०७४ को दफा २०क बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण गर्ने प्रयोजनका लागि प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी भई मंसिर १० गतेदेखि दर्ता अभिलेखीकरण कार्य प्रारम्भ भएको जनाएको छ।

उक्त मापदण्ड (दोस्रो संशोधन) को दफा ३ (४) को व्यवस्था बमोजिम सो कार्यको लागि थप भएको समयावधि फागुन ११ गते समाप्त भएको र यस अवधिमा सबै सहकारी संस्थाहरुको विवरणहरु प्रविष्ट भईसक्ने नदेखिएकोले विवरण प्रविष्टिको कार्य निरन्तर भईरहेकाले “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण (तेस्रो संशोधन) मापदण्ड, २०८२ को दफा ३ (४) को व्यवस्था तथा प्राधिकरणको फागुन ९ गतेको निर्णयानुसार दर्ता अभिलेखीकरणको समयावधि आगामी चैत्र १७ गतेसम्मका लागि थप गरिएको जनाएको छ । यो अवधि भित्र अनिवार्य रुपमा दर्ता अभिलेखीकरण गर्न सूचना प्रकाशन गरिएको प्राधिकरणले जनाएको छ।