सहकारी बैंकले विद्यार्थीलाई एक लाख रुपैयाँ सम्म शोध अनुसन्धान अनुदान दिने

सहकारी बैंकले विद्यार्थीलाई एक लाख रुपैयाँ सम्म शोध अनुसन्धान अनुदान दिने
गृहपृष्ठ | 2021-06-23 Share

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी विषयमा अनुसन्धान गर्ने विद्यार्थीलाई शोध प्रबन्ध अनुदान दिने भएको छ ।

सहकारी क्षेत्रमा अध्ययन अनुसन्धानको दायरा फराकिलो पार्ने उद्देश्यले स्नातकोत्तर, एम.फिल. र पी.एच.डी. तहमा अध्ययनरत विद्यार्थीहरुलाई अनुदान दिनलागेको बैंकले जनाएको छ ।

बैंकले एक सूचना प्रकाशित गरेर सहकारी विषयमा शोधपत्र लेख्न ईच्छुक विद्यार्थी तथा शोधार्थीहरुलाई साउन ८ गते भित्र  ईमेल मार्फत  अनुसन्धान प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

छनौटमा परेका प्रस्तावहरु मध्येबाट स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई २० हजार रुपैयाँ, एम.फिल. तहका विद्यार्थीलाई ५० हजार रुपैयाँ र पी.एच.डी. तहका शोधार्थीलाई १ लाख रुपैयाँ अनुदानको व्यवस्था गरेको बैंकले जनाएको छ ।

यद्यपि अधिकतम कति जना विद्यार्थीलाई अनुदान दिने भन्नेबारेमा भने बैंकले खुलाएको छैन ।

यसैगरी बैंकले मुलुकमा सहकारीले संचालन गरेको लघुवित्त कार्यक्रमको प्रभावकारिता, जोखिम लगायतको विषयमा समेत विस्तृत अनुसन्धान गराउने भएको छ ।

लघुवित्त कार्यक्रमको मूल्याङ्कन गरेर यसलाई सहकारीको सिद्धान्त, मूल्य तथा मान्यतामा आधारित ढाँचा तयार गर्नका लागि अनुसन्धान गराउनलागेको बैंकले जनाएको छ ।

बैंकले ईच्छुक अनुसन्धानकर्ता, फर्म र समूहलाई साउन ८ गतेभित्र   ईमेल मार्फत अनुसन्धान प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

बैंकले ईमेल ठेगाना research@ncbl.coop मा प्राप्त अनुसन्धान प्रस्तावलाई मात्र छनौट प्रकृयामा सामेल गर्ने जानकारी दिएको छ ।