प्रदेश एकमा दर्ता भयो पहिलो थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ

प्रदेश एकमा दर्ता भयो पहिलो थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ
गृहपृष्ठ | 2021-06-23 Share

मोरङ । राष्ट्रिय सहकारी महासंघले  प्रवर्द्धन गरेको पहिलो थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ प्रदेश नं. १ मा दर्ता भएको छ ।

प्रदेश नं. १ का ३१ वटा सहकारी संस्थाबाट १ करोड ८ लाख रुपैयाँ  शेयर पूँजी संकलन गरेर संघ दर्ता भएको हो ।

नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को वजेट वक्तव्यमा उल्लेखित सवै प्रकारका उत्पादन, संकलन, भण्डारण र वितरणसम्मका श्रृखला विकास गर्न र सहकारी पसललाई थोक मूल्यमा आवश्यक वस्तु उपलव्ध गराउन प्रत्येक प्रदेशमा सहकारी संस्थाकै शेयर लगानीमा थोक उपभोक्ता सहकारी स्थापना गर्ने नीति अनुरुप महासंघको पहलमा संघ गठन भएको हो ।

यसअघि महासंघले सवै प्रदेशमा थोक उपभोक्ता विशिष्टीकृत संघ स्थापना गर्न सम्भाव्यता अध्ययन गर्नुका साथै संघको नमुना विनियम र संचालन कार्यविधि तर्जुमा गरेको थियो । संघ स्थापनार्थ वागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्विनी प्रदेश र प्रदेश नं. १ मा सहकारी संघ संस्थाका वीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

संघ दर्ताको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा महासंघको तर्फबाट वोल्दै उपाध्यक्ष रमेश प्रसाद पोखरेलले उपभोक्तालाई दैनिक आवश्यकताका वस्तुको सहज आपूर्ति एवं गुणस्तरीयताको अभावको वर्तमान समयमा निजीक्षेत्रको एकाधिकार रहेको वजार व्यवस्थापनमा सहकारी क्षेत्र विशिष्टीकृत संघका माध्यमबाट प्रवेश गरेको वताउनुभयो ।

सहकारीको प्राथमिकता दिगो उत्पादन र उपभोगमा जोड दिंदै दैनिक आवश्यकताका वस्तुहरु सहज र सर्वसुलभ मूल्यमा आमउपभोक्तामा पुर्याउन सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार व्यक्त गर्नुभयो ।

संघ दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्दै प्रदेश रजिष्टार वलराम निरौलाले निजी व्यवसायीसंगको प्रतिस्पर्धालाई सहकारी क्षेत्रमा विशिष्टीकृत संघले गतिलो सहारा दिने विश्वास व्यक्त गर्नुभयो ।

उक्त विशिष्टीकृत संघका अध्यक्ष महेन्द्र गिरीले तीनमहिना भित्रमा प्रदेश नं. १ मा सहकारीमार्फत दैनिक आवश्यकताका वस्तुहरु उपभोक्ताविच सहज र सुपथ मूल्यमा पुरयाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको संचालन महासंघका संचालक शिव डागीले गर्नुभएको थियो भने महासंघका संचालक गणेश ढकाल एवंम लेखा सुपरिवेक्षण समितिका सदस्य सोमवहादुर श्रेष्ठ सहित विशिष्टीकृत संघका संचालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।