आदर्श सञ्चार सहकारीको दोस्रो सेवा केन्द्र बरेङमा

आदर्श सञ्चार सहकारीको दोस्रो सेवा केन्द्र बरेङमा
गृहपृष्ठ | 2022-10-01 Share

-खेमराज गौतम

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडको दोस्रो सेवा केन्द्र बरेङ गाउँपालिकाको केन्द्र घट्टमा शुभारम्भ भएको छ । 

बरेङ गाउँपालिका वडा नम्बर २ घट्टमा रहेको  सेवा केन्द्रको आज औपचारिक शुभारम्भ भएको हो । 

सेवा केन्द्रको उद्घाटन गर्दै बरेङ गाउँपालिका–३ का वडा अध्यक्ष शेर बहादुर खनालले आदर्श सञ्चार सहकारीले सदरमुकामको सेवा घरदैलोमै ल्याउदा यहाँका जनतालाई फाइदा पुग्ने बताउनुभयो । 

उहाँले आदर्श सञ्चार सहकारी बरेङमा ल्याउने सपना आज पुरा भएको भन्दै शेयर सदस्य समेत रहनुभएका खनालले आदर्शको सेवा बरेङको गाउँ गाउँमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । 

‘सहकारीले बचत तथा ऋणको मात्र कारोबार गर्दैन भन्ने उदाहरण आदर्श सञ्चार सहकारी हो यसले आफ्नो उद्देश्य अनुसार पत्रकारिता क्षेत्र संगै सहकारी शिक्षा, वित्तीय साक्षरता लगायतका कार्यहरु गर्दै आएको छ’ वडा अध्यक्ष खनालले भन्नुभयो ‘सहकारीको अभियानमा बरेङ गाउँपालिका पछाडी परेको छ, आदर्श सञ्चार सहकारी मार्फत बरेङ गाउँको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने छ ।’

साविक धौलागिरी अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाको रुपमा रहेको आदर्श सञ्चार सहकारी संस्थाको मुख्य कार्यालय बागलुङ बजारमा रहेको छ भने पहिलो सेवा केन्द्र काठेखोला गाउँपालिका–७ रेशमा रहेको छ । 

कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार तथा काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अम्मर बहादुर थापाले सहकारीले गाउँ केन्द्रित सेवा सञ्चालनले गाउँमा आर्थिक रुपान्तरण गर्न ठूलो मद्दत गर्ने बताउनुभयो । 

‘गाउँमा सहकारीका माध्यमबाट आर्थिक सवलीकरणमा सहयोग पुग्न सेवा केन्द्रले सहयोग पुग्नेछ’ थापाले भन्नुभयो ‘गाउँमा भएको फजुल खर्चलाई बचत गरेर आर्थिक समृद्धिमा गाउँमुखी सेवा केन्द्रले सहयोग हुनेछ ।’  

कार्यक्रममा संस्थाका सल्लाहकार रुद्र बहादुर महत, समाजसेवी पदम गिरी, शेयर सदस्य प्रेम प्रसाद शर्मा लगायतले सेवा केन्द्रका्े शुभारम्भको अवसरमा शुभकामना मन्तव्य राख्दै दैलोमै सहकारीको सेवा पाउदा खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुको अध्यक्षता, आदर्श सञ्चार सहकारी संस्थाका बरेङ गाउँपालिका समन्वय उपसमितिका संयोजाक जयराम शर्माको स्वागत तथा सहकारीका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले गर्नुभयो । 

यसैबीच सेवा केन्द्रको सुभारम्भको अवसरमा  बरेङ गाउँपालिका २ मा कृष्ण प्रसाद शर्माको संयोजकत्वमा वडा स्तरीय समन्वय उप समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा रिता खत्री, तुल बहादुर दर्जी, केशर बहादुर बर्मा र मिना नेपाली रहनुभएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन सञ्चालन गर्नुका साथै धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आएको छ ।

संस्थामा हाल ३ हजार ५ सय जना शेयर सदस्य, ७ करोड शेयर रकम, ३० करोड वचत रकम, ३८ करोड ऋण लगानी सहित ४५ करोड कुल पूँजि रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।