श्री सरल नमुना साकोसः एक चिनारी

श्री सरल नमुना साकोसः एक चिनारी
संस्था परिचय | 2023-06-09 Share

परिचय

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ९, चिप्लेढुङ्गामा मुख्य कार्यालय र वडा नं. २७ तालचोकमा सदस्य सेवा केन्द्र रहेको श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था तत्कालीन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, कास्कीमा दर्ता भएको संस्था हो । साविक लेखनाथ नगरपालिका–९, मोहरियामा २०६४ पौष १० गते मंगलवार ३५ जना यूवाहरु भेला भएर सहकारी संस्था संचालन गर्ने निर्णय गरेका थिए । यही उत्साहलाई साकार स्वरुप दिन मिति २०६४ माघ १० गते तत्कालीन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीमा संस्था दर्ता गरिएको हो । सहकारीमा आवद्ध सदस्यहरुलाई गाह्रो साह्रो पर्दा सहयोग गर्न वा सानो तिनो गर्जो टार्न सकियोस भन्ने उद्देश्यका साथ संस्था संचालन भएको हो ।

उद्देश्य

संस्थाले सहकारीको मूल्य, मान्यता र सिद्धान्तमा आधारित भएर आफ्ना शेयर सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका विविध पक्षको विकासमा निरन्तर अव्वल सेवा दिने उद्देश्य लिएको छ । दक्ष जनशक्तिमार्फत आधुनिक प्रविधिमैत्री सेवा प्रवाह गरेर सवल वित्तीय सहकारी संस्थाको रुपमा स्थापित हुने उद्देश्य लिएको छ । 

वित्तीय अवस्था

संस्थामा हाल ५ सय २२ जना महिला र ७ सय १० जना पुरुष गरि कुल १ हजार २ सय ३२ जना सदस्यहरु आवद्ध बनेका छन् । विश्व आर्थिक मन्दीका कारण मुलुकको वित्तीय प्रणालीमा उत्पन्न भएको समस्याका कारण संस्थाको निक्षेप केही मात्रामा कमी भएको भएपति ३० प्रतिशत तरलता मौज्दात रहेको छ । संस्थाको शेयर पूजी २ करोड ६४ लाख ९६ हजार ९ सय रुपैयाा, बचत ९ करोड ४८ लाख १२ हजार ४ सय रुपैयाँ र ऋण लगानी १० करोड २९ लाख ८८ हजार १ सय रुपैयाँ रहेको छ । 

ऋण लगानी

सदस्यहरुले बिशेषगरि ब्यापार ब्यवसाय संचालन तथा बिस्तार गर्न, आवास निमार्ण तथा मर्मत संभार गर्न, छोरा छोरीलाई उच्च शिक्षा अध्यनको लागि बिदेश पठाउन, कृषि तथा पशुपालन गर्न र जग्गा खरीद गर्न ऋण लिने गर्नुभएको छ । संस्थाबाट ऋण लिएर सदस्यहरुले कुखुरा पालन, फलफूल तथा तरकारीको ब्यापार, स्टेशनरी, गार्मेन्ट तथा फेन्सी लगायतका ब्यापार व्यवसाय गर्दै आउनुभएको छ । 

सेवा प्रवाह

संस्थाले सदस्यहरुलाई कार्यालय मार्फत भौतिकरुपमा सेवा प्रवाह गर्नुका साथै विद्युतीय माध्यमबाट डिजिटल सेवा समेत प्रवाह गर्दैआएको छ । संस्थाले सदस्यहरुलाई मोबाईल बैकिंङ्ग र एसएमएस सेवा उपलब्ध गराएको छ । यो सेवा प्रयोग गरेर सदस्यहहरुले घरमै बसीबसी बिजुली पानी, इन्टरनेट, टेलिफोन तथा टेलिभिजनको बिल भुक्तानी गर्ने, खल्ती र ईसेवा डिजिटल वालेटमा पैसा पठाउन तथा खल्ती र ईसेवामा भएको पैसा आफ्नै खातामा जम्मा गर्ने, घरबाटै बैंकंको खातामा पैसा पठाउने लगायतका सुविधा उपभोग गर्न सक्छन् । 

गैर वित्तीय सेवा

संस्थाले सदस्य शिक्षा तथा बनभोज कार्यक्रम, सहकारी अध्ययन तथा अवलोकन भ्रमण, सदस्यहरुको घर परिवारमा कसैको देहान्त भएको समयमा भेटघाट तथा सवेदना ज्ञापन, सदस्यहरुको बिमा लगायतका गैर वित्तीय गतिविधि समेत गर्दैआएको छ ।

सामाजिक उत्तरदायित्व

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम पोखरालाई आर्थिक सहयोग, फेवाताल सरसफाई, बाटो तथा मठ मन्दिर सरसफाई, रक्तदान, बृद्धआश्रममा फलफूल तथा आर्थिक सहयोग, विद्यार्थीहरुका लागि न्यानो कपडा तथा ब्याग बितरण लगायतका कार्यहरु गरीआएको छ । 

भावी योजना

संस्थाले आगामी दिनमा समुदायको विश्वास सहितको पहिलो रोजाईको सहकारी संस्था निमार्ण गर्ने लक्ष्य लिएको छ । सदस्यहरुको हरेक सुख दुःखमा साथ दिनुका साथै उनीहरुको सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्नका लागि एक मजवुत, क्षमतावान, विश्वनीय र समन्नुत सहकारी निमार्ण गर्ने योजना रहेको छ । 

हासिल उपलब्धि

संस्थाले आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक स्तर उन्नतिमा हासिल गरेका उपलब्धिहरुको विषयमा सर्वेक्षण गरेर हेरेको छैन । तर पनि केही सदस्यहरुलाई पोखरामा ब्यवसायी बनाउन संस्थाको ठूलो भूमिका रहेको छ विशेशत पोखरा चिफ्ले ढुङ्गामा रहेको मिनिमार्केट र पोखराको पृथ्वीचोकमा रहेको हङ्कङ् बजारमा रहेका ब्यवसायीहरुलाई स्थापित गराउन यस संस्थाले महत्वपूर्ण भूमिका खेलेको छ ।