‘नेकपा एमालेका कारण नेफ्स्कूनको नेतृत्वमा सर्वदलीय सहमति जुट्न सकेन’

मुलुकभरिका बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को यही पुस ७ र ८ गते निर्वाचन सहितको वार्षिक साधारण सभा हुँदै छ । निर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नेफ्स्कूनका वर्तमान अध्यक्ष परितोष पौड्याललाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । यसको दुई दिन बित्न नपाउँदै आज नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन दलको तर्फबाट औपचारिकरुपमा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई अध्यक्ष पदका लागि साझा उम्मेदवारकोरुपमा अघि सारेका छन् । यही विषयमा केन्द्रित भएर सहकारी सञ्चार डट कमका सम्पादक हिरा बस्नेतले गठबन्धनको तर्फबाट नेपाली काँग्रेस पार्टीका सहकारी विभाग प्रमुख देवेन्द्रराज कडेलसंग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
तपाईंहरुले सत्ता गठबन्ध पक्षीय दलहरुको तर्फबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गर्नुभएको छ । तपाईंहरुले सर्वदलीय सहमतिका लागि प्रयास गर्नुभएन ?
–अहिले मुलुकमा आर्थिक मन्दी देखा परेपछि सहकारीलाई हेर्ने आम दृष्टि हिजोको जस्तो सकारात्मक छैन । विगतमा जस्तो अहिले सहकारीप्रति ‘क्रेज’ छैन । हामीले सर्वसाधारणले मात्र नभई केही जिम्मेवार नेताहरुले पनि सहकारी विरुद्ध बोलेको सुन्यौं । केही सञ्चालकहरुले गर्दा सहकारी बदनाम भएको छ । कतिपय सञ्चालकहरुले ठग्ने नियतले काम नगरेको भएप्नि आर्थिक परिस्थिति परिवर्तन भएकाले परिवन्धमा परेर संस्थालाई समस्यामा पारेको देखियो ।
हिजोका दिनमा कडाईका साथ अंकुश नलागाएकाले सहकारीको पैसा संचालकहरुले ब्यक्तिगत ब्यवसायमा लगानी गरेर ‘मिसयुज’ गर्नपुगे । उनीहरुले घरजग्गाको कारोबार देखि शेयर बजारमा समेत लगानी गरेका छन् । बजार सामान्य भएको अवस्थामा उनीहरुले ब्यक्तिगत कारोबारबाट आएको पैसा नियमित सहकारीमा बुझाउने भएकाले बचतकर्तालाई बचत फिर्ता गर्न कुनै समस्या परेको थिएन ।
उनीहरुले वैधानिक वा अवैधानिक जुन तवरबाट कमाएको भएपनि यस्तो आम्दानीले मनोवल बढाएको थियो । तर आर्थिक मन्दीले गर्दा घरजग्गा ब्यवसाय, शेयर बजार लगायतको क्षेत्रमा ‘क्राईसिस’ उत्पन्न भएपछि उनीहरुको लगानी फस्नगयो । उनीहरुले सहकारीबाट चलाएका पैसा फिर्ता गर्न सकेनन् । परिणामस्वरुप सहकारी संस्थाले बचतकर्ताको निक्षेप फिर्ता गर्न सकेनन् र समस्यामा पर्नथाले ।
हामी जिम्मेवार राजनीतिक दल भएको नाताले सहकारीमा यस्तो समस्या देखिएको अवस्थामा नेफ्स्कूनको निर्वाचनमा एकअर्काबीच प्रतिस्पर्धा नगरी मिलेर जानुपर्छ भनेर सर्वदलीय सहमित जुटाउन मैले पहल गरेको थिएँ । मैले काँग्रेसको तर्फबाट एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारीज्यूसंग एक्लै बसेर छलफल गरेँ । उहाँसंग माओवादी केन्द्रको तर्फबाट लिलामणि पोखरेल, एकीकृत समाजवादीको तर्फबाट गोविन्द कोईराला र म बसेर सामुहिक छलफल समेत ग¥यौं । विगतमा नेफ्स्कूनमा सबैले एक–एक कार्यकाल नेतृत्व गर्ने चलन रहेछ । त्यसैले हामीले यसपाली पनि ‘रोटेसन’ गरौं भन्यौं ।
मैले उद्योग वाणिज्य महासंघमा जस्तै नेफ्स्कूनमा पनि वरिष्ठ उपाध्यक्षलाई अर्को निर्वाचनमा स्वत अध्यक्ष बनाउने पद्दति स्थापित गरौं भनेर प्रस्ताव गरे । यस्तो पद्दति बसाल्ने हो भने वरिष्ठ उपाध्यक्ष थप सक्रिय तथा जिम्मेवार भएर काम गर्ने वातावरण बन्न सक्छ भन्ने विचार राखें । यदि यसका लागि कुनै कानुनी अवरोध रहेको छ भने सर्वदलीय सहमति गरेर सुधार गर्नुपर्छ भन्ने धारणा राखें । यस विषयमा निचोडमा पुग्न हामीले बैठक सिध्याएका थिएनौं । तर यसैबीच एकाएक एमालेका साथीहरुले परितोष पौड्यालको नाम उद्घोष गर्नुभयो । यसरी छलफललाई कुनै निष्कर्षमा नुपु¥याई एमालेको तर्फबाट एकतर्फी उम्मेदवार घोषणा भएपछि हामीले पनि सामुहिक निर्णय गरेका हौं ।
हामी गठबन्धनमा भएका सबै दलहरु सहकारी अप्ठ्यारो समयबाट गुज्रिरहेको बेला नेफ्स्कूनको निर्वाचनमा प्रतिस्पर्धा नगरौं, दलगत भागण्डा गरेर अनुभव र क्षमता नभएको व्यक्तिलाई नेतृत्वमा नलगौं, अहिलेको चुनौतिसंग जुध्न सक्ने अनुभव र दक्षता भएको व्यक्तिलाई नेतृत्वमा लगौं भन्ने पक्षमा थियौं । तर एमालेका साथीहरु नेतृत्व परिवर्तन गर्ने विषयमा सहमत हुनुभएन । त्यसैले निर्वाचन आउन केही दिनमात्र बाँकी भएकाले गठबन्धनको तर्फबाट आज हामीले चन्द्र प्रसाद ढकालको नेतृत्वमा अन्य साथीहलाई पनि समेट्ने गरी निर्वाचनमा पठाउने निर्णय गरेको हौं ।
साझा उम्मेदवारी दिने विषयमा काँग्रेस, मओवादी र समाजवादीबीचमात्र सहमति भएको हो कि यसमा अन्य दलहरुको पनि सहमति छ ?
–यसमा अरु दलको पनि सहमति छ । अन्य साना दलहरुपनि आउँदै छन् । हामीले उहाँहरुका लागि स्थान राखेका छौं । हामी तीन दालबीच कुन–कुन पदमा प्रतिस्पर्धा गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको छ । तर हामीले अन्य दलहरु आएपछिमात्र उम्मेदवारहरुको अन्तिम निर्णय गरेर संयुक्तरुपमा प्रतिस्पर्धा गर्ने निष्कर्ष निकालेका छौं । अहिले नेफ्स्कूनमा नेतृत्व परिवर्तन गर्न आवश्यक छ भन्ने मुख्य मुद्दालाई केन्द्रबिन्दुमा राखेर सबै दलसंग सहकार्य गर्दैछौं ।
तपाईंले नेफ्स्कूनमा नेतृत्व परिवर्तन गर्न आवश्यक छ भन्नुभयो । त्यसोभए तपाईंहरुले समर्थन गर्नुभएको नेतृत्वबाट चाहिँ कस्तो भूमिकाको अपेक्षा गर्नुभएको छ ?
–मुलुकको कुल बजेटको ४० प्रतिशत हिस्सा सहकारीले परिचालन गरिरहेको छ । यस्तो महत्वपूर्ण क्षेत्र समस्यामा पर्दा सिंगो अर्थतन्त्रमा अत्यन्त ठूलो प्रभाव पर्छ । त्यसैले अहिले नेफ्स्कून जस्तो सिंगो वित्तीय सहकारीको शीर्षस्थ छाता संगठनमा अनुभवी र क्षमतावन ब्यक्ति नेतृत्वमा जानुपर्छ । हामीले समर्थन गरेका चन्द्र प्रसाद ढकाल अहिलेको संचालक समितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँले बचत ऋण सहकारी अभियानको प्रवद्र्धन र विकासमा साढे दुई दशक लामो समय खर्चनुभएको छ । त्यसैले उहाँको क्षमतामाथि कुनै प्रश्न नै छैन ।
तर विडम्बना, उहाँले अहिलेको संचालक समितिमा बसेर प्रभावकारी काम गर्ने अनुकुल वातावरण पाउनुभएन । अहिलेको संचालक समितिको संरचनाले गर्दा उहाँ एउटा प्रतिपक्षीको जस्तो भूमिका निर्वाह गरेर बस्नुपरेको छ । उहाँले त्यो समितिमा कतिपय काम गराउन सक्नुभयो, कतिपय सक्नुभएन । त्यसैले अब नेतृत्वमा उहाँलाई स्थापित गरेर नेफ्स्कूनको संरचनामा रहेको कमजोरीलाई सुधार गर्न आवश्यक छ ।
कोरोना महामारी र अन्य कारण सिर्जना भएको आर्थिक मन्दीबाट सहकारीमा परेको नकारात्मक प्रभाव न्यूनिकरण गरेर यस क्षेत्रलाई चलायमान गर्न आवश्यक छ । यो भन्दा महत्वपूर्ण चुनौति सहकारीको गुमेको साखलाई कसरी जोगाउने भन्ने रहेको छ । कुनैपनि शेयर सदस्यको लगानी डुब्न भएन । सदस्यले सहकारीमा बचत गरेको पैसा दुरुपयोग हुन भएन । सदस्यले सहकारीमा लगानी गरेको शेयरबाट मुनाफा प्राप्त नगरेको समयमा जम्मा गरेको बचत समेत आवश्यक परेको बेला फिर्ता नपाउँदा विश्वास गुम्नु स्वभाविक हो । हामीले नयाँ नेतृत्वबाट यी पक्षमा प्रभावकारी भूमिकाको अपेक्षा गरेका छौं ।
केही सहकारीकर्मीहरुले अहिले सहकारी क्षेत्रलाई राज्यले आवश्यक सहयोग नगरेकाले पनि समस्या समाधान नभएको हो भन्ने गुनासो गर्ने गरेका छन् । यदि तपाईंहरुले साझा उम्मेदवार बनाउनुभएका चन्द्र ढकालले जित्नुभयो भने कस्तो सहयोग गर्नुहुन्छ ?
–सहकारीको क्षेत्र एकदमै ठूलो छ । यसलाई कसरी परिचालन गर्ने भनेर हामी एउटा पार्टीलेमात्र भनेर हुँदैन । सबै दल मिलेर सहकार्य गर्नुपर्ने हो । यही कुरा मनन् गरेर नै हामीले प्रमुख प्रतिपक्ष दल एमालेका साथीहरुसंग बारम्बार सहमतिका लागि आग्रह गरेका हौं । आजका दिन सम्म पर्खेर बसेका थियौं । सहमतिका लागि उहाँहरुले ढोका बन्द गरेपछि हामी अगाडि बढेका हौं ।
अहिले मुलुकमा गठबन्धनको सरकार छ । यदि हामीले समर्थन गरेका चन्द्र प्रसाद ढकालले नेफ्स्कूनको नेतृत्व गर्ने अवसर पाउनुभयो भने नेफ्स्कूनको संरचनागत सुधार गर्न सहयोग गर्नेछौं । यसका लागि कुनै कानुनी बाधा अड्चन विद्यमान रहेको छ भने हामी फुकाउन पहल गर्नेछौं । यसका लागि ऐन नियम संशोधन गर्नुपर्ने पनि हुनसक्छ । नेफ्स्कूनको वरिष्ठ उपाध्यक्ष समेत रहनुभएकाले ढकाललाई संघमा के कस्तो कमजोरी छ र कसरी सुधार गर्नुपर्छ भन्ने कुरा राम्ररी थाहा छ । उहाँले नेतृत्व गरेको सिंगो टिममार्फत बचत ऋण सहकारीका समस्या समाधान गर्नका लागिग गठबन्धनका सबै दलले संयुक्तरुपमा छलफल गरेर आवश्यक सहयोग गर्नेछौं ।