राष्ट्रिय सहकारी बैंकको २२औं वार्षिक साधारण सभा मंसिर ६ गतेदेखि हुने

राष्ट्रिय सहकारी बैंकको २२औं वार्षिक साधारण सभा मंसिर ६ गतेदेखि हुने
समाचार | 2025-10-14 Share

ललितपुर । राष्ट्रिय सहकारी बैंकको २२औं वार्षिक साधारण सभा आगामी मङ्सिर ६ गते शनिवार हुने भएको छ । बैंकको सोमबार सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयूक्त बैठकले मङ्सिर ६ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैंकको बैठकले इलाममा गएको बाढी र पहिरोले प्रभावित भएका परिवारहरूलाई बैंकले ५ लाख बराबरको राहत सामाग्री वितरण गर्ने समेत निर्णय भएको जनाइएको छ । बैंकको २२औं वार्षिक साधारण सभा अन्तरगत मङ्सिर ६ गते सातै प्रदेशमा एकाइ सभा र १३ गते एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा गर्ने निर्णय भएको बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए ।

एकाइगत रूपमा हुने साधारण सभा अन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बार्दिबास, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने छ ।

भर्चुअल र भौतिक रूपमा सम्पन्न गरिने साधारण सभाको उद्घाटन सत्र संयुक्त रूपमा र छलफल सत्र प्रदेशगत रूपमा सम्पन्न गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले जानकारी दिए । सात प्रदेशमा हुने एकाइ सभाबाट चयन हुने प्रतिनिधिहरूले साधारण सभाको बैठकको निर्णयहरू प्रमाणित गर्ने सभा मङ्सिर १३ गते काठमाडौंमा हुने छ ।

साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१ / ०८२ को लेखा परीक्षण प्रतिवेदन, आ।ब। २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमको विषयमा छलफल एवम् निर्णय हुने छ ।

सभामा बैंकको विनियम संशोधन, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन आगामी पौष मसान्त भित्र सम्पन्न गर्ने गरी मिति तय गर्ने र कार्यविधिहरू थप तथा संशोधन, नियमनकारी निकायको निर्देशनको जानकारी सहित विभिन्न कार्यसूचीहरूका विषयमा छलफल एवं निर्णय हुने छ ।