श्रद्धा साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

श्रद्धा साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2025-10-16 Share

भक्तपुर । श्रद्धा बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

असोज १० गते सूर्यविनायक पार्टी भेन्यूमा आयोजित सभा संस्थाका अध्यक्ष पंच लक्ष्मी स्वंगमिखाको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभामा ज्येष्ठ शेयर सदस्य लक्ष्मी तचामो, जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि हरि कृष्ण बल्ल, निर्वतमान संचालक कृष्ण सुन्दर स्वंगमिखा र सल्लाहकारत्रय राम चन्द्र दथेपुथे, कुष्माखर सापकोटा र मंगलेश्वर ध्वजू लगायतको आतिथ्य रहेको थियो ।

सभामा मन्तव्य राख्दै अध्यक्ष स्वंगमिखाले  समुदायमा आधारित संस्थाले १८ वर्ष वर्षको यात्रामा थुप्रै आरोह अवरोह पार गरेको स्मरण गराईन । उनले संस्थालाई सफल बनाउका लागि शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आभार प्रकट गरिन । 

मुलुकमा उत्पन्न भएको प्रतिकुल आर्थिक अवस्थामा पनि सदस्यहरुको सहयोगका कारण संस्था सफल भएको भएपनि केही सदस्यहरुले लिएको ऋण भाखाभित्र फिर्ता नगर्दा संस्थाले अपेक्षा गरे अनुसार लाभांश वितरण गर्न नसकेको प्रष्टिकरण दिईन । उनले ऋणी सदस्यहरुलाई कर्जाको सदुपयोग गरेर आर्थिक लाभ लिन र भाखा भित्रै तिर्न समेत अनुरोध गरिन ।

रविता द्योपालाले संचालन गरेको साधारण सभा समारोहको संयोजकत्व समेत गरेकी संस्थाकी उपाध्यक्ष मैया केशरी दुवालले कार्यक्रममा उपस्थित अतिथि तथा शेयर सदस्यहरुलाई स्वागत गरेकी थिईन ।  

साधारण सभाको अवसर पारेर संस्थाले ज्येष्ठ शेयर सदस्यहरुलाई  दोसल्ला ओढाएर सम्मान गरेको थियो । साथै चित्रकला प्रतियोगितामा उत्कृष्ट हुने सहभागीहरुलाई पुरस्कार बितरण समेत गरेको थियो ।

साधारण सभामा संचालक समितिको तर्फबाट सचिव बलराम ग्वाछाले प्रगति प्रतिवेदन र  कोषाध्यक्ष सिताराम तजलेले आर्थिक प्रतिवेदन पेश गरे । साथै राधेश्याम बासुकलाले लेखा सुपरवेक्षण प्रगिवेदन पेश गरे ।

संस्थाका संचालक सदस्य राम कृष्ण प्रजापतिले मन्तव्य राख्दै साधारण सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।