‘साकोस अभियानको शुद्धीकरण र सबलीकरण गर्न समिट आयोजना गरेका हौं’

‘साकोस अभियानको शुद्धीकरण र सबलीकरण गर्न समिट आयोजना गरेका हौं’
अन्तर्वार्ता | 2024-02-22 Share

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून)ले यही फागुन १६ र १७ गते भक्तपुरको जर्मन होम हस्पिटालिटीमा पहिलो ‘बागमती प्रदेश साकोस समिट २०८०’ आयोजना गर्दैछ । समिटमा विभिन्न विषय विज्ञहरुले प्रस्तुत गर्ने कार्यपत्र र सहकारीका समसामयिक विषयमा सहभागीहरुबीच ब्यापक छलफल गरेर संकल्प पत्र जारी गर्ने कार्यक्रम रहेको छ । प्रदेश भित्रका १३ ओटा जिल्ला बचत संघहरुसंग सहकार्य गरेर आयोजना हुने समिटमा संघका सदस्य संस्था र संघमा आवद्ध नभएका संस्थाहरु समेत सहभागी हुने जनाईएको छ । 

यसै मेसोमा सहकारी सञ्चार डट कमका सम्पादक हिरा बस्नेतले आयोजक संघका कोषाध्यक्ष केशव प्रसाद दंगालसंग समिट आयोजना गर्नुको उद्देश्य र त्यहाँ छलफल हुने विषयबस्तुका वारेमा कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

पछिल्लो समय सदस्यले मागे जति बचत फिर्ता गर्न नसकेपछि आम सर्वसाधारणमा सहकारीप्रतिको विश्वास कमजोर भएको छ । साकोस समिटमा अहिले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न के–कस्तो विषयमा छलफल हुँदैछ ?

–अहिले सहकारीमा देखिएको समस्या राज्य र अभियान दुवैको समस्या हो । त्यसैले राज्यको कुनै निकाय वा अभियानको कुनै एउटा छाता संघलेमात्र समाधान खोजेर निकास निस्कदैन । मुलुकभरिका सहकारीमा देखिएको समस्या सामना गर्न नसक्दा यो सिंगो अभियानका लागि चुनौतीकोरुपमा खडा भएको छ । यो समस्यालाई विकराल बन्न दिन हुँदैन । 

यसलाई सबैले साझा चुनौतीकोरुपमा लिएर समाधानका बाटाहरु र सामनाका तरिकाहरु अवलम्वन गर्नुपर्छ भन्ने धारणा निर्माण गर्न प्रदेश स्तरीय समिट आयोजना गरेका हौं । समिटमा वित्तीय क्षेत्र, सहकारी क्षेत्र, सूचना प्रविधि (आईटी) क्षेत्रका विज्ञहरु र सहभागी सहकारीकर्मीहरुबीच विभिन्न विषयमा ब्यापक छलफल हुनेछ ।

समिट आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

–विशेषगरी साकोसमा उत्पन्न भएका चुनौतीहरुको विषयमा छलफल गरेर समाधान खोज्नका लागि समिट आयोजना गरिएको हो । सहकारीमा देखिएको साझा चुनौतीका विषयमा मुलुकभरि रहेका अभियानका छाता संघहरुबीच साझा धारणा निर्माण गर्नुपर्छ । केन्द्रीय संघ, प्रदेश संघ, जिल्ला संघ र पालिका स्तरीय संघहरुले बोल्ने कुराहरु र गर्ने ब्यवहार एउटै हुनुपर्छ । यसो गर्न सकियो भने सहकारीमा देखिएको समस्या समाधान गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य हो । 

सहकारी अभियानभित्रका छाता संघहरु, प्रारम्भिक संस्थाहरु र सहकारी अभियानकर्मीहरुबीच सहकार्य गरेरमात्र यो चुनौतीलाई सामना गर्न सकिन्छ । सबैलाई एकताको डोरीमा बाँध्न सकियो र साझा धारणा बनाउन सकियो भने फेरि यो क्षेत्रमा विश्वासको वातावरण सिर्जना गर्न सकिन्छ ।

अभियान भित्र साझा धारणा निर्माण गर्ने कुरा गर्नुभयो । अहिले सम्म अभियान भित्र साझा धारणा निर्माण गर्न चाहिँ के ले अवरोध खडा गरेको छ ?

–अहिले सहकारी ऐन, नियमावली, नीति, राज्यले जारी गर्ने निर्देशन र सबै सहकारी संस्था संचालन गर्ने सिद्धान्त एउटै छ । त्यसैले नीति र विधि एउटै भएपछि अभियान भित्रको धारणा पनि एउटै हुनुपर्ने हो । तर सबैले नीति, विधि र प्रविधिको विषयलाई एकतिर छाडेर आफ्नो स्वार्थ अनुरुप सहकारी अभियानलाई चलाउन खोजेकाले यो समस्या आएको हो । 

जवसम्म साझा सवालहरुमा साझा धारणा विकास गर्न सकिँदैन, तवसम्म समस्या रहिरन्छ । यसलाई समयमै सामना नगर्ने हो भने भोलिका दिनमा झन ठूलो समस्या सिर्जना गर्छ भन्नेमा हामी सचेत छौं ।

संघीय संरचनाम प्रदेश एकदम बलियो तह हो । त्यसैले प्रदेश स्तरीय संघहरुलाई राम्ररी संचालन गर्न सकियो भने केन्द्रीय संघहरु स्वचालितरुपमा बलियो हुन्छन् । र, जिल्ला संघहरु पनि त्यतिकै सबल हुन्छन् भन्ने हाम्रो मान्यता रहेको छ । केन्द्रीय संघहरुले तयार पारेको नीति तथा सिद्धान्त सम्मत अवधारणामा हाम्रो ऐक्यवद्धता छ । 

यसैगरी हामीले बागमती प्रदेश भित्रका सबै जिल्ला बचत संघहरुसंग सहकार्य गरेर समिट आयोजना गरेकाले पनि हामीले विकास गर्ने धारण सबै संघहरुको साझा धारणा हुनेछ । यो कार्यक्रमले मुलुकका अन्य प्रदेश बचत संघहरुलाई पनि हामीले जस्तो कार्यक्रम आयोजना गर्न प्रेरणा मिल्छ । यसरी देशभरिका संघहरुबीच साझा धारणा निर्माण भएपछि साकोस अभियानको शुद्धीकरण र सबलीकरण गर्न सकिन्छ भन्नेमा विश्वस्त छौं । 

तपाईंले जिल्ला बचत संघहरुसंग सहकार्य गरेको बताउनुभयो । अहिले प्रदेश र जिल्ला संघहरुले गर्ने काम एउटै छ ।  दुवै तहका संघहरुमा आवद्ध हुने सदस्य पनि एउटै छन् । समिटमा संघीय संरचना अनुरुप जिल्ला स्तरीय संघहरुलाई खारेज गर्ने वा कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा छलफल हुन्छ कि हुँदैन ?

–हामीले यस विषयमा पनि बहस पैरवी गर्दैछौं । जसरी प्रदेश बचत संघहरु केन्द्रीय बचत संघको अभिन्न अंग हुन् । त्यसैगरी जिल्ला संघहरुपनि प्रदेश बचत संघको अभिन्न अंग बनेर जानुपर्छ । उहाँहरुले प्रदेश बचत संघ भन्दा फरक ढंगले सहकारी संस्था संचालन गर्नका लागि नीति बनाउने, निर्देशन दिने गर्न हुँदैन । जिल्ला बचत संघहरु प्रदेश बचत संघ भन्दा भिन्न भएर संचालन हुन हुँदैन भन्ने हाम्रो धारणा हो । यही विषयमा छलफल पनि गर्नेछौं ।

समिटमा बागमती प्रोस्कूनमा सदस्य नभएका संस्थाहरु सहभागी हुन पाउँछन् कि पाउँदैनन् ?

–हामीले बागमती प्रदेशका १३ ओटा जिल्लाका बचत संघहरुसंग सहकार्य गरेर यो समिट आयोजना गरेका हौं । त्यसैले यो कार्यक्रम बागमती प्रोस्कूनकोमात्र नभई सिंगो प्रदेश भित्रको साकोस अभियानको साझा कार्यक्रम हो । समिटमा सहभागी हुनका लागि हामीले सबैलाई ढोका खुला राखेका छौं । बागमती प्रोस्कूनमा सदस्य नबनेका संस्थाहरु पनि सहभागी हुन सक्छन् । 

विगतमा केन्द्रीय संघहरु र जिल्ला संघहरुले पनि यस्तो समिट आयोजना गरेर थुप्रै घोषणा पत्र, प्रतिवद्धता पत्र, संकल्प पत्र जारी गरेका छन् । तर जारी भएका प्रतिवद्धता भने कसैले पालना गरेका छैनन् । यस्तो अवस्थामा तपाईंहरुले जारी गर्ने संकल्प चाहिँ कार्यान्वयन हुन्छ भन्ने आधार के छ ?

–हामीले जिल्ला बचत संघहरुलाई साथमै लिएर समिट आयोजना गरेका छौं । समिटमा उहाँहरुको प्रत्यक्ष संलग्नता, साझेदारी र सहकार्य हुने भएकाले त्यहाँबाट जारी भएको प्रतिवद्धता पुरा हुने यो पहिलो दरिलो आधार हो ।

दोस्रो आधार, हामीले साझा सवालमा साझा धारणा विकास गर्छौं भनेर प्रण गरेका छौं । यसलाई जिल्ला र पालिका तह सम्म प्रशारण गर्नेछौं । त्यसैले समिटले जारी गर्ने प्रतिवद्धता प्रभावकारी कार्यान्वयन गरेर अरुलाई पनि उदाहरण पेश गर्ने लक्ष्य रहेकाले प्रभावकारी कार्यान्वयन गर्नेछौं । 

तेस्रो आधार भनेको हामीले यो समिट केवल कार्यक्रम गर्नका लागि मात्र आयोजना गरेका होईनौं । दुई दिन सम्म ‘प्यानल डिस्कसन’ गरेर त्यहाँबाट निस्केको ‘आउटपुट’लाई संकल्पकोरुपमा जारी गर्छौं । र, ब्यवहारमा लागू गर्नेछौं । यो हाम्रो पहिलो समिट हो । अर्को समिट आयोजना हुने बेलामा तपाईंले मलाई पहिलो समिटको संकल्प कति कार्यान्वयन भयो भनेर प्रश्न गर्दा हामी समीक्षा सहित उत्तर दिन सक्ने हैसियतमा हुनेछौं ।