प्रविधिमा सहकारी जानुपर्छ ः सीईओ गुरागाई

प्रविधिमा सहकारी जानुपर्छ ः सीईओ गुरागाई
गृहपृष्ठ | 2024-03-17 Share


काठमाडौं ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाईले सहकारीहरुले सदस्यलाई दिने लाभांशमा कम गरी डीजिटाइजमा लगानी बढाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनले त्यसको प्रयोगका लागि सदस्यहरुलाई समेत साक्षत्कार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । सिईओ गुरागाईले बैंकले १० वर्षे रणनीति बनाएको र प्रविधिमैत्री सहकारी बनाउन मापदण्ड समेत तयार गरी अघि बढेको बताए । बैंकले प्रविधिमा गरेको लगानी अनुसार संस्थाहरुले प्रयोग गर्न नसकेको उनको भनाई छ ।
मोबाईल बैंकिङ र वालेटलाई मात्रै ध्यान दिनेभन्दा पनि कर्मचारीहरुलाई समेत दक्षबनाई नयाँ नयाँ वस्तु तथा सेवाको प्रयोगमा समेत लाग्नुपर्ने उनको जोड छ । बाफियामा चेक क्लियरिङ गर्ने व्यवस्था बैंक तथा वित्तीय संस्थालाई मात्रै दिएको र सहकारीहरुले चेक नभई भुक्तानी पुर्जामार्फत कारोबार गर्ने गरेका कारण चेक क्लियरिङमा जान नसकेको उनले प्रष्ट पारे । क्लियरिङको पछि लाग्नेभन्दा पनि सहकारीहरु डीजिटाइज भएर सेवालाई विस्तार गर्न उनको सुझाव छ । पछिल्ला समय फण्ड ट्रान्सफरका विभिन्न माध्ययम रहेकाले त्यसको प्रयोग गर्दा प्रभावकारी हुने उनको बुझाई छ । 
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले सहकारीहरुले पनि डिजिटल कारोबार अगाडी बढाएको बताए । कानुनी रुपमा स्पष्टता नभएपनि सहकारीहरुले डिजिटल कारोबार गर्न नपाईने भन्ने छैन, उनले भने । कोर बैकिङ, मोबाईल बैकिङ जस्ता सेवा विभिन्न कम्पनीसँग सहकार्य गरी सहकारीले अगाडी बढाईरहेको उनले सुनाए । 
त्यस्तै आकाश डिजिटलका अध्यक्ष सुजनबाबु अधिकारीले सहकारीमा डीजिटाईजेशनको कुरा गर्दा वालेट र कोर बैकिङ मात्रै नभएको धारण राखे । कार्यालयमा हुने सम्पूणर् कामलाई कागजरहित बनाउनु नै डीजिटाइजेशन भएको उनको भनाई छ । सदस्यहरुले घरमै बसेर सहकारीको सम्पूणर् वित्तीय सेवा लिन सक्नु नै डीजिटाइज भएको उनको धारणा छ । डीजिटाईजेशनमा जाँदा सेवामा प्रभावकारीता र समयको बचत हुने हुँदा यसबाट सदस्यले बढी लाभ लिन सक्ने उनले बताए ।
मोबाईल फाइनान्स टेक्नोलोजीका अध्यक्ष स्मरण दवाडीले डीजिटाईजेशनमा जान सहकारीले लगानी बढाउनुपर्ने र कुल खर्चको १० प्रतिशत पनि लगानी नभएको बताए । लगानी नगर्ने तर सेवा सुविधा मात्रै खोजेर नहुने उनको धारणा छ । सदस्यहरुले मोबाईलबाट पैसा तिर्ने मात्रै डिजिटाईजेशन नभएको भन्दै उनले सहकारीका सदस्यले उत्पादन गरेको वस्तु तथा सेवाको समेत बजारिकरण गरेर समुदायको समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने उनको जोड छ । सहकारी बचत तथा ऋणको मात्रै कारोबार नभई सदस्यको उत्पादनलाई विश्व बजारमा बेच्न सक्ने सम्मको प्रविधिमा जोडिन सक्दा यसका सबै पक्षले फाइदा लिन सक्ने बताए ।
मोरु डिजिटल वालेटका श्रेस पौडेलले सहकारीहरु ग्रास रुटसम्म पुगेको क्षेत्र भएकाले प्रविधि साक्षरता जगाउन उपयुक्त माध्ययम भएको बताए । सन् २०३० सम्म सहकारीमा डीजिटाईजेशनमा जान अहिलेदेखिनै लगानी बढाउनुपर्नेमा उनको जोड छ । प्रविधिको सीमा नभएको भन्दै उनले त्यो माईन्ड सेट गरेर कन्क्लेभबाट बाहिर निस्कन उनको आग्रह छ ।
प्रतिस्पर्धी र गुणस्तरिय सेवा दिन सहकारीहरु पनि तयार हुनुपर्ने उनको जोड छ । कन्क्लेभमा सहभागिहरुले डिजिटाईजेशनमा जान दुर्गम क्षेत्रमा पूर्वाधारको विकास नभएको जनाए । दुर्गममा इन्टरनेट लगायत व्यवस्था नहुँदा सदस्यलाई सहज सेवा दिन समस्या परेको उनीहरुको भनाई छ । कतिपय संस्था अहिले पनि मेनुअलमानै काम गरिरहेकाले सन् २०३० सम्म सबै सहकारीलाई कसरी डीजिटाईज गर्न गर्न सकिन्छ? भनेर प्रश्न गरे ।