हाम्रो जनकल्याण साकोसः एक चिनारी

हाम्रो जनकल्याण साकोसः एक चिनारी
समाचार | 2024-04-16 Share

–दिपक बस्नेत
प्रमुख कार्यकारी अधिकृत

परिचय

दोलखा जिल्लाको सदरमुकाम चरिकोट आसपासका नागरिकको तत्कालिन व्यावसायिक क्षेत्रलाई प्रबद्र्धन गरी आर्थिक तथा सामाजिक अवस्थामा टेवा पुर्‍याउने उद्देश्यका साथ २६ जना सदस्यको सहभागितामा २०५४ साल बैशाख १७ गते जिल्ला सहकारी कार्यालय काभ्रेपलाञ्चोक जिल्लामा दर्ता भई हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो कारोबार शुरु गरेको हो ।

साविक भिमेश्वर नगरपालिकालाई कार्य क्षेत्र बनाइ सञ्चालन भएको संस्थाको हाल कार्य क्षेत्र दोलखा जिल्ला भरी रहेको छ । विशेष गरी दोलखा जिल्लाको सदरमुकाम चरिकोटका सडकपेटीमा व्यापार गर्ने व्यक्तिहरुबाट दैनिक बचत उठाएर उनीहरुको अर्थोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको हो ।

दुरदृष्टि

समृद्ध सदस्य, सर्वोत्कृष्ट संस्था ।

उद्देश्य

  • समाजका कमजोर वर्ग र निम्न आय भएका सदस्य वा समूहको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउन सहयोग गर्ने । 
  • नियमित बचत संकलन गर्ने । 
  • वातावरण तथा सांस्कृतिक प्रवर्द्धन सम्बन्धी गतिविधि सञ्चालन गर्ने ।
  • आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय र सहकार्य गर्ने । 
  • शेयर सदस्यहरुलाई आयमुलक, उत्पादनमुक र सीपमुलक कार्यका लागि उचित व्याज दरमा ऋण उपलब्ध गराउने 
  • नियमित निक्षेप संकलन गरी प्रतिस्पर्धात्मक ब्याज उपब्ध गराउने 

संगठनात्मक संरचना

संस्थाको सबैभन्दा माथिल्लो तहमा वार्षिक साधारण सभा रहेको छ । सहकारी ऐन, नियमावली र सरकारको मार्गनिर्देशन अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र संस्थाको बाह्य लेखा परीक्षण सम्पन्न गरी वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई साधारण सभामा पेश गरी शेयर सदस्यहरुबाट पारित गराउने गरिएको छ ।

सञ्चचालक समितिले तयार गरेको नीति तथा कार्यविधिहरुको अनुमोदन तथा संशोधन सहित विनियम संशोधन तथा एकीकरण सम्बन्धी प्रस्तावलाई साधारण सभाले पास गर्ने गर्दछ । विशेष प्रस्तावहरु छलफल तथा निर्णयका लागि विशेष साधारण सभाको समेत संस्थाले अभ्यास गरेको छ । त्यसपछि साधारण सभाले निर्वाचित गरेको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति रहनेछ ।

साधारण सभाबाट निर्णय गरिएको प्रस्तावको कार्यान्वयन तथा प्रशासनिक कार्यमा सञ्चालक समिति सक्रिय रहने गर्दछ । वार्षिक योजनाको कार्यान्वयन, आवश्यक समन्वय र सहकार्यका लागि सञ्चालक समितिले नियमित रुपमा बैठक गरी त्यसको कार्यान्वयनका लागि कर्मचारी व्यवस्थापनमा अख्तियार प्रत्यायोजन गर्ने गर्दछ । आन्तरिक नियन्त्रणका लागि सदैब सचेत रही सुशासनमा संस्था सञ्चालनका लागि सञ्चालक समिति सदैव सजग रहन्छ ।

त्यसैगरी सञ्चालक समितिले गरेका निर्णय र कार्यान्वयको अवस्था र कानुनको पालनाको अवस्थालाई लेखा सुपरीवेक्षण समितिले विशेष निगरानी राख्ने गर्दछ । वर्षमा कम्तिमा ६ वटा बैठक गरी संस्थागत अवस्थाका बारेमा सञ्चालक समितिलाई आवश्यक सरसल्लाह उपलब्ध गराउने काम लेखा सुपरीवेक्षण समितिले गर्दछ । संस्थामा प्रमुख कार्यकारी अधिकृत र तीन जना विभागीय प्रमुख सहित १६ जना कर्मचारीहरु कार्यरत छन् ।

आन्तरिक नियन्त्रण तथा सुशासन प्रणाली

संस्थाको आन्तरिक नियन्त्रण प्रणालीमा शेयर सदस्य, सञ्चालक समिति, उपसमिति तथा कर्मचारी व्यवस्थापनको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैगरी बाह्य लेखा परीक्षक तथा आन्तरिक लेखा परीक्षकहरुको भूमिका पनि महत्वपूर्ण मानिन्छ । लेखा सुपरीवेक्षण समितिले नियमित चेकजाँच गर्नुको अतिरिक्त हरेक आर्थिक वर्षमा दुई पटक स्वतन्त्र लेखा परीक्षकहरुबाट आन्तरिक लेखा परीक्षण सम्पन्न गरी सञ्चालक समितिलाई विविध क्षेत्रको राम्रो तथा सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान गरी प्रतिवेदन दिने गर्दछ ।

त्यसबाट वित्तीय क्षेत्र सहित ऐन, नियमावली र संस्थागत कानुनको पालनाको अवस्थालाई स्तरीय बनाउन सहयोग पुग्दछ । सञ्चालक समितिलाई सहयोग गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरी स्पष्ट कार्य विवरण सहित अख्तियारी प्रदान गर्दा कार्य प्रणालीमा शिघ्रता र जवाफदेहीतामा सहयोग पुगेको छ । ऋण परिचालनदेखि सचेतनामुलक कार्यक्रम सञ्चालन र व्यवसायिकता प्रवर्द्धनमा समेत उपसमितिहरुको भूमिका महत्वपूर्ण रहेको छ । 

बचत संकलन

सहकारीको पुँजी निर्माणको आधार नै सदस्यबाट संकलित शेयर र बचत हो । नियमित रुपमा सदस्यले गरेको बचतलाई नै परिचालन गरी संस्थाले आम्दानी गर्ने हो । त्यसकारण सदस्यबाट प्रतिबद्धता व्यक्त गरिएको बचत नियमित रुपमा संकलन हुनु आवश्यक छ । संस्थाले अनिवार्य बचत सहित १४ वटा बचतका प्रकारहरु प्रयोगमा ल्याएको छ ।

संस्थामा चैत्र मसान्तसम्म जम्मा बचतमा अनिवार्य बचत, दैनिक बचत र बाल बचत सहित ६१ प्रतिशत, आवधिक बचतमा २९ प्रतिशत र बाँकी अन्य बचत रहेको छ । संस्थाको चैत्र मसान्तसम्मको बचत निक्षेप ६६ करोड ३७ लाख ८६ हजार एक सय ३० रुपैयाँ रहेको छ । व्याजदरलाई बजारको माग अनुसार परिवर्तन गरी लागू गरिएको छ । पछिल्लो समयमा आवधिक बचतमा बढेको दबावलाई नियन्त्रण गर्न थप रणनीतिहरुको समेत अभ्यास गरिएको छ ।

ऋण परिचालन

सदस्यबाट संकलित पुँजीलाई परिचालन गरी आम्दानी गर्न र संस्थाको वासलातलाई सन्तुलित बनाउन विभिन्न ऋणका प्रकारहरु विकसित गरी लगानी गरिएको छ । सदस्यको आर्थिक उपार्जनमा सहयोग पुयाउने उद्देश्यले ९ वटा ऋणका प्रकारहरुमा ६१ करोड ८६ लाख ९७ हजार ६ सय ९३ रुपैयाँ लगानी गरिएको छ । त्यस अन्तरगत ५२ प्रतिशत व्यापार शिर्षकमा लगानी रहेको छ भने कृषि तथा लघुउद्यममा १४ प्रतिशत र १६ प्रतिशत लगानी घरजगाा शिर्षकमा लगानी गरिएको छ ।

भूकम्प र कोभिड १९ का कारण सदस्यको आय आर्जन प्रभावित भई ऋणको किस्ता भुक्तानी प्रभावित भएको छ । बसाइसराई तथा व्यापार व्यवसायमा आएको गिरावटका कारण भाखा नाघेको ऋणको अनुपातमा वृद्धि भएको छ भने लक्ष्य अनुसार वार्षिक व्याज आम्दानी पनि हुन सकेको छैन । त्यसैले आर्थिक वर्ष २०८०/०८१ लाई ऋण शुद्धिकरण वर्षका रुपमा लिइएको छ ।

प्रविधिको प्रयोग

बाह्य वातावरणमा आएको परिवर्तन र सदस्यको ईच्छा चाहना अनुसार संस्थागत कारोाबरलाई प्रविधिमा जोड्ने प्रयास गरिएको छ । संस्थाले आइएसो सर्टिफाइड सफ्टवेरमार्फत सदस्यको तथ्यांकलाई व्यवस्थित गरेको छ । त्यसैगरी मोबाइल बैकिङ, मनि ट्रान्सफर, मिस्डकल बैंकिङ सेवाको प्रयोग संस्थाले गरेको छ भने वेबसाइट र सामाजिक सञ्जालहरुमार्फत सहकारीसँग सम्बन्धित गतिविधिहरुको जानकारी आम शेयर सदस्य लगायत शेयर सदस्यलाई गराउने गरिएको छ ।

उद्यमशीलता तथा व्यावसायिकता

वार्षिक २० जना उद्यमी बनाउने लक्ष्यका अनुसार संस्थाले व्यावसायिक सीपमुलक तालिमको आयोजना, लगानी तथा बजारीकरणमा समेत सहयोग गर्दै आएको छ । स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न चरणबद्ध छलफल तथा सरोकारवालासँगको समन्वय कायम गरिएको छ । उद्यम गर्न चाहने सदस्यका लागि सहुलियत दरको ऋण लगानी तथा व्यावसायिक परामर्श समेत उपलब्ध गराउने गरिएको छ । आधुनिक कृषि तथा पशुपालन, परिष्कृत व्यवसाय, प्रशोधन उद्योग जस्ता क्षेत्रमा लगानी गरी सदस्यलाई सहयोग गर्ने लक्ष्य लिइएको छ । ५० भन्दा बढी व्यक्तिहरु उद्यमी सदस्यका रुपमा हुनुहुन्छ ।

सामुदायिक गतिविधि

संस्थाले सहकारी सिद्धान्तलाई आत्मसाथ गर्दै सदस्यको स्वायत्ततता र आर्थिक समृद्धिका लागि मात्र काम गरिरहेको छैन समुदायप्रतिको जिम्मेवारी पनि बहन गर्दै आएको छ । विगतमा जिल्ला विपद व्यवस्थापन समितिलाई वार्षिक रुपमा प्रकोपजन्य घटनाबाट भएको क्षतिमा थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गर्दै आएको थियो भने छाता संघहरु मार्फत वितरण हुने आर्थिक सहयोगमा पनि केही योगदान दिदैं आएको छ । त्यसबाहेक विद्यालयहरुमा पिउने पानी व्यवस्थापनका लागि सहयोग, नागरिक प्रतिक्षालय निर्माण, रक्तदान र वातावरणीय संरक्षणका कार्यक्रमहरुलाई निरन्तरता दिदैं आएको छ । 

एकीकरणमा संस्था

संस्था २०७५ साल मंसिर १ गते अन्य दुईवटा बचत तथा ऋण सहकारी संस्थासँग एकीकृत भएको थियो त्यसपछि अन्य दुई वटा सहकारीसँग एकीकरण गरी हाल एकीकृत रुपमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका रुपमा नै सञ्चालनमा छ । 

संस्थाका उदाहरणीय गतिविधि

दोलखा जिल्लामा दैनिक बचत संकलन गर्ने पहिलो संस्थाका रुपमा संस्था परिचित छ । संस्थाले दैनिक बचत वापत रु. १० रुपैयाँ संकलन गर्दथ्यो । आज त्यही १० रुपैयाँ बचत गर्ने शेयर सदस्यको खातामा चार/पाँच लाखभन्दा बढीको बचत, आधुनिक घर, छोराछोरीले उच्च शिक्षा प्राप्त छन् । त्यसैगरी महिला उद्यमी बढाउनका लागि तालिम तथा सहुलियत ऋणको व्यवस्था पनि संस्थाले गरेको छ । धर्मसंस्कृतिको संरक्षण सहित वातावरणीय संरक्षणमा समेत भीमेश्वर नगरपालिकासँगको सहकार्यमा सरसफाई व्यवस्थापनका गतिविधिहरु सञ्चालन गरिरहेको छ । 

२०७० सालदेखि एक सदस्य एक संस्थाको नीति कार्यान्वयन गर्न सञ्चालक समितिमा समान उद्देश्यका अन्य सहकारीमा सदस्य भएको व्यक्तिले सञ्चालक बन्न नपाउने, ऋण लिएको सदस्य सञ्चालक हुन नपाउने, एकाघरपरिवारबाट एकभन्दा बढी सदस्य उम्मेदवार बन्न नपाउने, सरकारी सेवामा रहेका तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरु सञ्चालन बन्न नपाउने जस्ता नीति संस्थाले लिएको थियो ।

कर्मचारी व्यवस्थापनका लागि प्रष्ट मानव संशाधन व्यवस्थापन नीति तयार गरी तहगत संरचना र योग्यता निर्धारण गरिएको छ । आन्तरिक सुशासनका लागि प्रष्ट नीति, कार्यविधि तथा विनियमको कसीमा रही गतिविधि सञ्चालित छन् । व्यक्तिगत ऋण लगानीका सीमा, नियमित किस्ता प्रणालीमा ऋण लगानीलाई पनि संस्थाले असल अभ्यासका रुपमा लिन सकिन्छ ।

वित्तीय अनुशासनका लागि एसियाली ऋण महासंघले प्रयोगमा ल्याएको एक्सेस कार्यक्रममा समेत २०६८ सालदेखि संस्था आबद्ध भएको छ । एक्सेसका न्यूनतम सूचकहरु पूरा गर्दै २०७४ सालदेखि नियमित रुपमा चार वर्षसम्म एक्सेस ब्रोन्जबाट सर्टिफाइड भएको थियो । संस्थाले गरेका उदाहरणीय गतिविधिकै कारण जिल्ला संघहरुबाट उत्कृष्ट सम्मान सहित २०७५ सालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)बाट सर्वोत्कृष्ट संस्था सम्मान प्राप्त गरेको थियो । 

आगामी योजना

विश्व अर्थतन्त्रमा आएको गिरावटको असर नेपालका अधिकांश वित्तीय संस्थामा परेको छ । वित्तीय संस्थामा बचत, ऋण तथा तरलता व्यवस्थापनमा देखिएको उतारचढावका कारण विभिन्न संकट आउने गर्दछ । आन्तरिक तथा बाह्य वातावरणमा आउने परिवर्तनका कारण संस्थाले अनपेक्षित जोखिम बहन गर्नुपरेको छ । सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाले प्रष्ट नीतिको व्यवस्था सहित कार्यान्वयन गरिरहेको छ भने जोखिम व्यवस्थापन नीति निर्माण गरी संस्थालाई सुशासन र दिगो बनाउने नीति लिएको छ । एकीकरण अभियानमार्फत नै गुणस्तरीय सदस्य र विस्तारित संस्थाका रुपमा विकास गर्ने रणनीति संस्थाले लिएको छ ।