‘हामी नेफ्स्कून निकासको बाटोमा जाँदैछ भन्ने सन्देश दिँदैछौं’

‘हामी नेफ्स्कून निकासको बाटोमा जाँदैछ भन्ने सन्देश दिँदैछौं’
अन्तर्वार्ता | 2024-08-16 Share

मुलुकको बचत तथा ऋण सहकारी (साकोस) अभियानको केन्द्रीय संगठन नेपाल बचत तथा ऋणी केन्द्रीय सहकारी संघ लि. आज (साउन३२ गते)बाट संचालनको ३७औं वर्षमा प्रवेश गरेको छ । स्थापना कालदेखि नै सदस्य संघ/संस्थाहरुको सबलीकरण र दिगोपनाका लागि अनवरत क्रियाशिल संघले सदस्यहरुलाई समयसाक्षेप नीति, विधि र प्रविधि प्रदान गर्दै आएको छ । नेफ्स्कूनले सदस्य संस्थाहरुलाई प्रतिस्पर्धी, आधुनिक प्रविधिमैत्री र सरल सेवा प्रवाह  गर्न सक्षम  बनाउनने  उद्देश्यले स्तरीकरण तथा गुणस्तर सुनिश्चितता सम्बन्धी विभिन्न कार्यक्रम पनि संचालन गर्दै आएको छ ।

यसैबीच स्थापना दिवसको अवसरमा  नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालसंग सहकारी सञ्चार डट कमका सम्पादक हिरा बस्नेतले साकोस अभियान र नेफ्स्कूनका गतिविधिमा केन्द्रित भएर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

 नेफ्स्कूनले ३७औं स्थापना दिवस के–कस्तो कार्यक्रम गरेर मनाउँदै छ ?

–हामी स्थापना दिवसको अवसरमा विगतमा झैं यस वर्ष पनि विभिन्न शिर्षकमा सम्मान/पुरस्कार प्रदान गर्दैछौं । यसैगरी हाम्रा आन्तरिक डकुमेन्टहरु अद्यावधिक गरेर सार्वजनिक गर्छौं । यसैगरी पूर्व संचालक र अभियानका साथीहरुसंग आन्तरिक विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ । औपचारिक कार्यक्रममा सम्भव भए सम्म विभागीय मन्त्री, सचिव, रजिष्ट्रार लगायतका अतिथिहरुको मन्तव्य सहितको आतिथ्य रहने छ ।

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाले हामी २२ जना संचालकहरुलाई सहकारीमा उत्पन्न भएको अहिलेको परिस्थितिलाई ‘करेक्सन’ गर्ने र सदस्यहरुको रुचीको विषय बनाउने ‘म्याण्डेट’ दिएको छ । सहकारीको मर्मलाई आत्मसात गरेर सदस्य, सहकारी र सरकारसंग जोडेर अप्रिय विषयलाई ब्यवस्थापन गर्ने विशेष जिम्मेवारी हामीलाई प्राप्त भएको छ । हामीले यो जिम्मेवारी पुरा गर्नका लागि बुटक्याम्प सम्पन्न गर्‍यौं । चार वर्षे रणनीतिक योजना तय गरेका छौं ।  

हामीलाई पछिल्लो समय असुलीको ‘प्रेसर’ले असहज भएको थियो । यसलाई दबावको रुपमा लिएर हामीले काम गर्‍यौं । साथीहरुले पछिल्लो अवस्थामा स्तरीकरण कार्यक्रम प्रभावकारी नभएको गुनासो गर्नुभयो । स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउने, सूचना केन्द्रको अभावमा सहकारीमा देखिएका विकृति विसंगति हल गर्ने, बचत तथा कर्जा सुरक्षण कोष स्थापन गर्न पहल गर्ने लगायतका चुनौती हामीसामु खडा भएका छन् । स्थिरीकरण कोषलाई संस्थागत गरेर साउन १ गते देखि पूर्णरुपमा लागू गरेका छौं ।

नेफ्स्कूनको कर्जा असुलीसंग जोडिएका धेरै ठूला ‘क्रोनिक’ विषयलाई अलिकति ‘प्रेसर’ गरेर भएपनि वित्तीय ब्यवस्थापन गरेर असार मसान्तमा एउटा खालको नम्बर भित्र ‘ब्यालेन्स सिट क्लोज’ गरेका छौं । हिजोका दिनमा हाम्रो ‘एरिया’ भित्र बचत फिर्ताको दबाव थियो । तर आज समुदायमा आधारित राम्रा सहकारीमा प्रसस्त तरलता जम्मा भएर लगानी कम भएको अवस्था छ । उनीहरुले कानुनी बाटोबाट भएपनि असुलीको प्रकृयालाई क्रमशः सुधार गर्दै लगेका छन् । अब सहकारी पुनः आत्मनिर्भरताको बाटोमा लागेका छन् । हिजोका दिनमा सहकारी पुरानो स्थितिमा पुग्न सक्दैनन् कि भन्ने कहाली लाग्दो संसय धुमिल हुँदै गएको छ ।

महाभूकम्प, कोरोना महामारी र युक्रेन युद्धका कारण सुस्ताएको आर्थिक गतिविधिले तरलतको समस्या सिर्जना गरेकाले सहकारी अप्ठ्यारो परेका थिए । हामीले सहकारी संस्थाहरु यी समस्यालाई चिरेर छोटो समयमा पुनः संचालनमा जानसक्छन् भन्ने सम्भावना देखेका छौं । हामीसंग करिव ७ सय स्तरीकृत संस्था छन् । ती संस्थाहरुलाई अनुगमन गर्नेगरी कार्ययोजना बनाएका छौं । नेफ्स्कूनका संचालकहरु सहभागी भएर हाम्रा संस्थाहरुको अनुगमन गर्‍यौं ।

सिंगो संचालक समितिले सहकारी मूल्य, मान्यता, सिद्धान्त, ऐन, कानुन, विनियम पालना गर्ने/गराउने स्वघोषणा गरेका छौं । सहकारी भित्र सहज परिस्थिति निर्माण गर्नका लागि हामीलाई प्राप्त भएको ‘म्याण्डेट’ अनुसार अग्रपङ्तिमा रहेर काम गरिरहेका छौं भन्ने सन्देश पनि स्थापना दिवस मार्फत दिनेछौं ।

नेफ्स्कून ३७औं वर्षमा टेक्न लाग्दा पनि संघमा मुलकका एक तिहाई बचत तथा ऋण सहकारी संस्थामात्र आवद्ध भएका छन् । तपाईंहरुले बाँकी दुई तिहाई प्रारम्भिक संस्थालाई संघको महत्व बोध गराउन नसक्नु भएको हो कि उनीहरु जानाजान संघमा सदस्य बन्न नचाहेका हुन् ?

–तपाईंहरुले यो बुझाईमा फरकपन ल्याउनुपर्छ । नेफ्स्कून सबै बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको फेडेरेसन हो । नेफ्स्कूनले निर्वाचन सहितको साधारण सभा हुने वर्षको एक महिना बाहेक सधैं सदस्यता खुला राखेको छ । नेफ्स्कूनका सदस्य संस्थाहरुबीच एकीकरण भएर पनि संख्या घटेको छ । जिल्ला र प्रदेश संघहरु सहित नेफ्स्कूनमा ४ हजार ७ सय भन्दा बढी सदस्य आवद्ध छन् । दोस्रो विषय, जिल्ला र प्रदेश संघहरुमा ८ हजार साकोसहरु सदस्य बनेका छन् । प्रत्यक्ष वा अप्रत्यक्षरुपमा ती संस्था पनि नेफ्स्कूनमै आवद्ध भएका हुन् ।

हामीले सबै सहकारीलाई सदस्य बनाउन सक्दैनौं । यसका लागि कि त राज्यसंग प्रारम्भिक सहकारी संस्था ‘अटोमेटिक’ वा अनिवार्य संघको सदस्य बन्नुपर्छ भनेर निर्देशन जारी गर्नुपर्‍यो नभए हामीलाई यस्तो आक्षेप लगाउन भएन । अर्कोकुरा, विगतमा दर्ता भएका सबै सहकारी संस्था संचालनमा आएका छैनन् । कतिपय संस्थाको दर्ता फाईल नियामक निकायमै थन्किएर बसेको छ ।

पछिल्लो समय हामीले मन्त्रालय, विभाग, प्रदेश र स्थानीय तहहरुसंग पनि सहकारीको यथार्थ तथ्याङ्क उपलब्ध गराउन माग गरेका छौं । उहाँहरु ३६/३७ हजार सहकारी संस्था दर्ता भएका छन् भन्नुहुन्छ । तर राज्यले संचालन गरेको कापोमिस प्रणालीमा हेर्ने हो भने संख्या एकदमै थोरै देखिन्छ । त्यसैले जिल्ला संघ, प्रदेश संघ र नेफ्स्कूनसंग जोडिएका सहकारी संस्थाहरुको संख्या नै बचत तथा ऋण सहकारी अभियानको ‘अथेन्टिक’ तथ्याङ्क हो ।

यसैगरी नेफ्स्कूनमा पाँच/छ वर्षदेखि आवद्ध भएर पनि साधारण सभामा उपस्थित नहुने तथा विभिन्न कार्यक्रममा सहभागी नहुने संस्थाहरुले सदस्यलाई सेवा प्रवाह गरेर समुदायमा ‘सस्टेन’ भएका छन् जस्तो लाग्दैन । त्यसैले यस्ता चार/पाँच सय सहकारीको संख्यालाई नेफ्स्कूनले जपिरहन भएन । हामीले १४ हजार, १२ हजार वा ११ हजार साकोस भनेर संख्यालाई ठूलो ‘ईस्यू’ बनाउँन हुँदैन । यद्यपि म सबै साकोसहरुलाई अनिवार्य नेफ्स्कूनमा आवद्ध भएर ‘गुड गभर्नेन्स’, गुणस्तर सुनिश्चितता, मूल्य, मान्यता तथा सिद्धान्त पालना लगायतका कार्यक्रममा सहभागी भएर आफूलाई शशक्त बनाउन आह्वान गर्न चाहन्छु ।

अहिले तमाम सहकारीमा समस्या छ । नेफ्स्कूनमा आवद्ध सहकारीमा समस्या छैन भन्दिनँ । तर नेफ्स्कूनमा आवद्ध भएर सुशासनप्रति प्रतिवद्ध भएका संस्थाहरुमा भने समस्या देखिएको छैन । नेफ्स्कूनबाट ऋण लिएर अपचलन गरेका केही सहकारीमा समस्या देखियो ।

तर आज ती साथीहरुले पश्चाताप गरेका छन् । किनकि नेफ्स्कूनको मार्गदर्शन अनुसार स्तरीकरण र गुणस्तर सुनिश्चितता कार्यक्रममा सहभागी भएका अन्य सहकारी राम्ररी संचालन भईरहेका छन् । पछिल्लो समय धेरै साथीहरुले नेफ्स्कूनसंग सहकार्य गर्नुको विकल्प छैन भन्ने महसुस गर्नुभएको छ ।

त्यसैले जुन संस्था नेफ्स्कूनको सदस्य बनेका छैनन्, उनीहरुले आफू राम्रो हुने अवसर गुमाएका छन् । ती संस्थाका नेतृत्वले गर्दा त्यहाँ आवद्ध बनेका शेयर सदस्यहरुले अनि विभिन्न अवसर गुमाएका छन् । अब यो परिस्थितिको अन्त्य गर्नुपर्छ । फेडेरेसनले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । नराम्रोलाई राम्रो बनाउने गरी काम गर्नुपर्छ । तर संघमा नआएका संस्थाहरुलाई आफ्ना सदस्यहरुलाई भन्दा बढी प्राथमिकता दिएर छलफल गरेर समय बर्बाद गर्न हुँदैन ।

विगतमा एकजना रजिष्ट्रारले नेफ्स्कूनले बचत ऋणको वित्तीय कारोबार गर्दा सदस्य संघ/संस्थाहरुसंग ‘कन्फ्लिक्ट अभ ईन्ट्रेस्ट’ सिर्जना भएकाले यसो गर्न नहुने धारणा राख्नुभएको थियो । उहाँले नेफ्स्कून वित्तीय कारोबारमामात्र केन्द्रित भएकाले सहकारीको प्रवर्द्धन, लबिईङ्ग, सुशासन प्रवर्द्धन गर्ने काम प्रभावकारी हुन नसकेको गुनासो गर्नुभएको थियो । तपाईं के भन्नुहुन्छ ?

– मलाई रजिष्ट्रारले त्यसो भन्नुभयो जस्तो लाग्दैन । यदी उहाँले भन्नु नै भयो भने पनि नेफ्स्कूनले वित्तीय कारोबार गरेको छैन । नेफ्स्कूनमा ४७ सय सदस्य छन् । सदस्यको बचत नलिई संस्थागत हुन सकिँदैन । बचत स्वीकार गर्ने कार्यलाई वित्तीय कारोबार भन्ने कि नभन्ने ? प्रारम्भिक सहकारी संस्थाले आफ्ना सदस्यको बचत फेडेरेसनमा राख्दा ब्याजको सही ब्यवस्थापन हुनुका साथै पुँजीको सही संरक्षण भएको छ । साथै हामीसंग कारोबार गर्दा संस्था आत्मनिर्भर बनेका छन् ।

हामीले सहकारी विभागले स्वीकृत गरेको विनियम अनुसार नियमित बचतको पैसा लिएका छौं । सदस्यता शुल्क बापतको पैसा लिएका छौं । हामीले अन्य कुनै थोक कारोबार गरेका छैनौं । यदी कुनै सदस्य संस्था हामीलाई भरपर्दो ठानेर हाम्रो पैसा तपाईंहरुको अकाउन्टमा राखेर संरक्षण गरिदिनुस भनेर आउँदा यो पैसा हामीले लिन हुँदै फलाना ठाउँमा लगेर राख्नुस भन्ने हो भने त्यो सदस्य हाम्रो ‘प्रोटेक्सन’ भित्र पर्‍यो त ? त्यो सदस्यले हामीलाई अभिभावक मान्छ त ?

 त्यसैले हामीले प्रकृयागतरुपमा नियमित बचतकोरुपमा आएको पैसामात्र परिचालन गरेका छौं । नेफ्स्कूनसंग २९ अर्ब हाराहारी कुल सम्पत्ति छ । यदी हामीले सबै सदस्य संस्थाहरुलाई दवाव दिएर कारोबार गरेको भए नेफ्स्कूनको सम्पत्ति अर्बमा नभई खर्बमा हुनेथियो ।

यसको मतलव तपाईंहरुले प्रारम्भिक सहकारी संस्थालाई जिल्ला बचत संघ र प्रदेश बचत संघहरुसंग कारोबार नगर्नुस्, नेफ्स्कूनसंग मात्र गर्नुस भनेर दवाव दिएका छौनौं भन्नु खोज्नुभएको हो ?

हामीले सदस्य संस्थालाई बचत ऋणको कारोबारमात्र नभई कुनै प्रकारको ब्यवहार हामीसंग मात्र गर्नुस्, अन्य संघहरुसंग नगर्नुस् भनेका छैनौं । किनभने जिल्ला बचत संघ र प्रोस्कून पनि हाम्रै सदस्य हुन् । नेफ्स्कूनले अभिभावकत्व दिएर मार्गदर्शन गरेकाले प्रोस्कून र जिल्ला संघहरु अहिलेको अवस्थामा आईपुगेका हुन् ।

हामीले अघिल्लो चार बर्ष बचत संघहरुसंग साझेदारी कार्यक्रम संचालन गर्‍यौं । हामीले कहिल्यै आफूलाईमात्र वित्तीयरुपमा सक्षम बनाउन चाहेका छैनौं । हाम्रा सदस्य संघ/संस्थाहरु सबल भएपछि नेफ्स्कून स्वत ‘साउण्डफुल’ हुन्छ ।

नेफ्स्कूनले पहिलो प्रथमिकता तालिमलाई दिएको छ । नेफ्स्कूनका प्रशिक्षकहरुबाट तालिम लिन साथीहरु महिनौं पर्खिएर बस्ने गर्नुभएको छ । दोस्रो प्राथमिकताम स्तरीकरण कार्यक्रम छ । हामीले ७ सय संस्थालाई स्तरीकृत बनाएका छौं । तेस्रो प्राथमिकतामा स्थिरीकरण कोष छ । सदस्य संस्थाहरुको अफसाईट मोनिटरिङ (गैर स्थलगत निरीक्षण) गर्ने प्रणाली विकसित गरेका छौं । यस अन्तर्गत हामीले नेफ्स्कूनको कार्यालयमा बसेर कम्प्युटरमा सदस्य संस्थाको दैनिक कारोबारको अवस्था हेर्न सक्छौं ।

यसैगरी सबै सदस्य संस्थाहरुलाई एउटै प्रविधिमा जोड्नुपर्छ भनेर नेफ्स्कूनले आफ्नो लगानीमा मिरा सफ्टवेयर निर्माण गरेका छौं । यद्यपि यसका लागि हामीले बाध्यात्मकरुपमा पार्टनर खोज्नुप¥यो । साथीहरुले मलाई १६ हजार रुपैयाँमा यति राम्रो सफ्टवेयर प्रयोग गर्न पाईयो भनेर धन्यबाद ज्ञापन गर्नुभएको छ ।

यसरी हामी प्रदेश संघ, जिल्ला संघ र प्रारम्भिक सहकारी संस्थालाई नेफ्स्कूनको अभिभावकत्व प्रदान गर्न सफल भएका छौं । नेफ्स्कूनले गर्दा नै अन्य प्रकृतिका सहकारीको दाँजोमा बचत ऋण सहकारीमा नेतृत्व क्षमता अब्बल भएको हो । बचत ऋणको कारोबार गर्ने आधिकारिक निकाय नेफ्स्कून नै हो । सहकारीमा आफ्ना सदस्यले अभिभावकसंग आर्थिक कारोबार गर्न पाउनुपर्छ भन्ने कुरा महसुस गरेर नै हामीले अन्य विषयगत संघहरुले किन आर्थिक कारोबार गरेको भनेर प्रश्न नगरेका हौं ।

तपाईंले स्थिरीकरण कोषको प्रसंग उल्लेख गर्नुभयो । तर हाल सम्म कोषमा ३ सय १० ओटा संस्थामात्र आवद्ध भएका छन् । कोषमा के कारण अन्य संस्थाहरु सदस्य नबनेका हुन् ?

– म ‘कङ्क्रिट’ कुरा गर्ने मान्छे हुँ । अहिले भएका ३ सय १० ओटा सहकारी पनि कोषका पूर्ण सदस्य होईनन् । कस्ता सहकारी सदस्य बन्न पाउँछन् भन्ने कुरा सहकारी ऐन, २०७४ले ब्यवस्था गरेको छ । कार्यविधि पनि तय भएको छ । हामीले सुरु देखि नै ऐन, नियमावली र कार्यविधिमा भएको ब्यवस्था कडा भयो, अलि सहज बनाएर धेरै सहकारीलाई सुरक्षण प्रदान गरेर जाऔं भनेर ‘लबिईङ्ग’ गर्दै आएका थियौं । मन्त्रालयले कार्यविधि संशोधन गर्दा हामीले उठाएका विषय समेटेको छ । संशोधित कार्यविधिले कोषको कार्यसमितिलाई निर्णय गर्ने अधिकार दिएको छ ।

अहिले कोषमा २२ करोड पैसा छ । कोष संचालनका लागि यो पर्याप्त छैन । हामीसंग कम्तिमा पनि २२ अर्ब पैसा हुनुपर्छ । हामीले लामो समय सम्म कोष संचालनमा ल्याउन नसकेकाले सहकारी संस्थाहरुले निर्णय गरेर पनि कोषमा पैसा जम्मा गरेका छैनन् ।

कोषमा आवद्ध हुन ईच्छुक संस्था लगातार दुई आर्थिक वर्ष देखि नाफामा संचालन भएको हुनुपर्छ । नियमावलीले ब्यवस्था गरेका विभिन्न कोषमा मुनाफा बाँडफाँट गरेपछिमात्र स्थिरीकरण कोषमा जम्मा गर्न मिल्छ । अहिलेको परिस्थितिमा यस्ता सहकारी कति होलान् ?

त्यसैले यस आर्थिक वर्ष भित्र कोषमा धेरै संख्या थपिएछ भनेपनि नियमित संस्था चाहिँ चार सय देखि साढे चार सय भन्दा बढी हुँदैनन् । किनकि यो भन्दा बढी संस्थाको मापदण्ड अनुसार योग्यता पुग्दैन । यति सहकारी आवद्ध भएर योगदान दिँदा पनि कोषमा एक अर्ब जति पैसा जम्मा हुन्छ ।

हामीले संस्थालाई सहज होस भनेर नेफ्स्कूनले स्तरीकरण, ब्राण्डिङ्ग लगायतका कार्यक्रम संचालन गर्दा सदस्य संस्थाहरुसंग लिने गरेको अतिरिक्त शुल्क नलिएर कोषको ‘ईन्ट्रेस्ट’लाई ब्यवस्थापन गरेर ब्यवहार मिलाउने भनेर निर्णय गरेका छौं । यसैगरी कोषको थोरै रकम परिचालन गरेर नेफ्स्कूलने सदस्यलाई प्रदान गर्ने ‘अफसाईट मोनिटरिङ्ग’ लगायतका सेवा अतिरिक्त शुल्क नलिई प्रदान गर्ने योजना बनाएका छौं ।

नेफ्स्कूनले एक दशक अघि नै बचत तथा ऋण सहकारीको छुट्टै वित्तीय ऐन जारी गर्न माग राख्दै राज्यलाई ऐनको मस्यौदा पनि बुझाएको थियो । तर अहिले सम्म ऐन जारी भएको छैन । तपाईं आफ्नो कार्यकालमा यो ऐन जारी हुन्छ भन्नेमा कति आशावादी हुनुहुन्छ ? अनि यसका लागि कस्तो पहल गर्दै हनुहुन्छ ?

–हामी सहकारी अभियानको नेतृत्वमा छौं । त्यसैले ऐन आउँछ कि आउँदैन भनेर ‘फोरकास्ट’ गरेर जानु राम्रो हुँदैन । हामीले वित्तीय सहकारी ऐनको आवश्यकता तथा औचित्य सरकार, संसद र सरोकारवाला निकायहरुलाई बुझाउन सक्छौं कि सक्दैनौं भन्ने कुरा मुख्य हो । आज हामीले उहाँहरुलाई वित्तीय सहकारी ऐन किन आवश्यक छ भन्ने कुरा बुझाउन सकिरहेका छैनौं ।

हामीले पछिल्लो समय दातृ निकाय ‘यूएसएआईडी’संग सहकार्य गरेर ठूलो प्रोजेक्ट संचालन गरिरहेका छौं । यो प्रोजेक्टको एउटा मुख्य काम वित्तीय सहकारी ऐनको आवश्यकता र औचित्यको विषयमा अनुसन्धान तथा छलफल गरेर प्रतिवेदन तयार पार्ने पनि हो । प्रतिवेदनले किन सबै विषयका सहकारीलाई एउटै टोकरीमा राखेर जान मिल्दैन भनेर सरोकारवालाहरुलाई स्पष्ट पार्नेछ । राज्य र ‘स्टेकहोल्डर’हरुलाई यस विषयमा वास्तविक कुरा बुझाउन सक्यौं भने हाम्रो कार्यकालमा होईन कि धेरै छिटो वित्तीय सहकारी ऐन जारी हुन्छ भन्नेमा म आशावादी छु ।

अहिले विभिन्न सहकारी संस्थामा राखेको बचत फिता नपाएर हजारौं सदस्य आन्दोलित बनेका छन् । यसले गर्दा पनि आम मानिसमा सहकारीप्रति अविश्वास पैदा भएको छ । तपाईंहरुले नेफ्स्कूनको सदस्य नभएका संस्थाबाट बचत फिर्ता नपाएका बचतकर्ता सदस्यको हितका लागि कस्तो पहल गरिरहनुभएको छ ?

–सबैभन्दा पहिले सहकारीमा समस्या कसरी आयो भन्ने पृष्ठभूमि थाहा पाउनुपर्छ । सहकारीको नेतृत्व गर्ने संचालकले सहकारीको मूल्य, मान्यता र सिद्धान्त प्रतिकुल गएर गरेको निर्णय र गतिविधिले संस्था तथा सदस्यलाई पुगेको क्षतिको जिम्मेवारी सम्बन्धित नेतृत्वले लिनुपर्छ । मैले विभिन्न मिडियाको टक शो, अभियान भित्रको छलफल र संसदीय छानविन समितिमा समेत सहकारीको नेतृत्वलाई जिम्मेवार बनाउनुपर्छ भनेर विचार राखेको छु, सुझाव दिएको छु । गल्ती गरेपछि जिम्मेवारी स्वीकार गर्नुपर्छ ।

यसैगरी राज्यले समयमा कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण र सहकारीको बचत तथा कर्जा सुरक्षण कोष खडा नगरेकाले पनि समस्या सिर्जना भएको हो । आज पनि सूचनाको अभावमा ऋण दिँदा झुक्किनुपर्ने अवस्था छ । आफैंले जारी गरेको ऐनमा भएका प्रावधान कार्यान्वयन नगरेको गल्ती राज्यले महसुस गर्नुपर्छ ।

यस्तै सहकारीका सदस्यहरुले पनि संस्थामा बचत गर्दा यथेष्ट जानकारी नलिएको पाईयो । सदस्यले पाउने भन्दा बढी पैसा जम्मा गरेको भेटिन्छ । सहकारीमा नियमित बचत एक हजार रुपैयाँ भएका सदस्यले दुई करोड रुपैयाँ थोक पैसा राख्न मिल्दैन । सहकारीले थोक पैसा राख्न हुँदैन । यस्तै पैसा राखेका संस्थामा ब्यवस्पनले गलत निर्णय गरेर अपचलन गरेको छ । संस्थामा पैसा फिर्ता माग्न जाँदा ब्यवस्थापक फरार भएको, संचालक उपलब्ध नहुने वा खातामा जम्मा नभएको भेटिने गरेको छ ।

सदस्यले पैसा जम्मा गर्दा संस्थाको अवस्था कस्तो छ, संचालकहरु को–को छन्, समुदायमा संस्थाप्रति कस्तो धारणा छ, संस्था कतिको सुशासनमा बसेको छ, छाता संघहरुमा जोडिएको छ कि छैन, स्तरीकृत हो कि होईन, गुणस्तर सुनिश्चित भएको छ कि छैन भन्ने लगायतका विषयमा जानकारी लिन अपरिहार्य हुन्छ । यस्ता विषयलाई बेवास्ता गरेर अस्वभाविक ब्याजको लोभमा पैसा जम्मा गर्ने सदस्यको पनि कमजोरी हो । त्यसैले सहकारीमा सबै पक्षको कमजोरीलाई विश्लेषण गरेर पुनारवृत्त नहुनेगरी नीति तय गर्नुपर्छ ।

सहकारीले लगानी गरेको ऋण समयमा नउठेकाले पनि बचत फिर्ता गर्न नसकेको गुनासो गर्ने गरेका छन् नि ?

–हो अहिले धेरै सहकारीको ऋण असुली नभएको कुरा सत्य हो । तर ऋण असुली नहुनुका पछाडि कस्तो क्षेत्रमा लगानी गरेको हो भन्ने कुरालाई हेर्नुपर्छ । यदी कुनै संस्थाले घर जग्गाको कारोबार गर्ने शेयर सदस्यलाई धितो लिएर करोडौं रुपैयाँ लगानी गरेको छ भने परिस्थिति परिवर्तन भएर उसले सोचेजति मुनाफा आर्जन गर्न सकेन भने समयमा संस्थाको पैसा फिर्ता गर्न सक्दैन । यस्तो अवस्थामा संस्थाले धितोबाट पैसा असुली गर्नुपर्छ ।

धितो नराखी संचालकसंगको मिलेमतोमा ऋण लिएको छ भने पनि त्यो ऋणीले सहकारीको ऋणबाट छुटाकारा पाउँदैन । चल अचल सम्पत्ति बेचेर भएपनि ऋण तिर्नुपर्छ । यसरी ऋण फिर्ता भएपछि बचत फिर्ता हुन्छ र संस्था नियमित संचालन हुन्छ । त्यसैले सबै पक्षले विगतमा आ–आफ्नो तर्फबाट गरेका गल्ती कमी कमजोरीलाई सुधार गर्ने हो भने अवस्था सहज हुन्छ ।

हामीले नेफ्स्कूनमा आवद्ध भएका संस्थाहरुको लोन स्क्रिनिङ गर्नुका साथै लगानीको उचित ठाउँ हो कि होईन भनेर काउन्सेलिङ गर्ने गर्छौं । त्यसैले पनि हाम्रा संस्थाहरु सक्रिय रहे, सुशासनमा बसे । यद्यपि कतिपय अवस्थामा हामीले निर्णय गर्दा भावनामा बहकिएर ब्यवहारिकलाई बढी हेरेकाले हामी आफैं पनि ‘सफर’ भएका छौं ।

यद्यपि अब नेफ्स्कून विगतमा जुन समस्यामा थियो, त्यसबाट पार लागेर सहजतातर्फ आगाडि बढेको छ । आगामी दिनमा हामीले नेफ्स्कूनको गाडीलाई यही लय, गति र दिशामा हाँक्यौं भने संघको विरासतले दिएको जिम्मेवारी पुरा गरेर सहज गन्तब्यमा पुग्न सक्छौं । हामीलाई बचत फिर्ताको समस्याले छोएको छैन ।

प्रारम्भिक सहकारी संस्थाहरुले नेफ्स्कूनलाई हामीले बचत फिर्ता गर्न सकेनौं भनेर गुनासो गर्नुभएको छैन । किनकि कतिपय संस्थाहरुले त नेफ्स्कूनबाट ऋण लिने ठाउँ नै गुमाईसक्नु भएको छ । हिजो ऋण लिएर नतिरी बसेका केही साथीहरुले नेफ्स्कूनले असुलीमा ‘टाईट’ गर्‍यौं भन्दै हिँड्नुभएको छ । नेफ्स्कूनले कडाई गरेको छैन । हामीले ऐन, नियमावली, विनियम भित्रै रहेर असुलीको प्रक्रिया र अन्य गतिविधि गरेका छौं ।

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाबाट निर्वाचित भएको वर्तमान कार्यसमिति सम्भावित समस्याबारे एकदमै ‘अलर्ट’ छौं । अहिलेको असहज परिस्थितिबाट निकास दिनका लागि अग्रपङ्तिमा रहेर काम गरिरहेका छौं । ‘फाईनान्सियल्ली’ पनि साथीहरु निराश नहुने गरी निर्णय गर्दैछौं  ।

यद्यपि सबै कुरा अंकमामात्र हेरेर जान हुँदैन । हामी ३७औं स्थापना दिवसको अवसरमा नेफ्स्कून निकासको बाटोमा जाँदैछ भन्ने सन्देश दिनेगरी कार्यक्रम तय गर्दैछौं । नेफ्स्कून सबल हुँदामात्र नेपालको सहकारी अभियान सफल हुन्छ । विगत एक दुई वर्षको अवस्था नेफ्स्कून कमजोर हुँदाको परिणति हो । अब हामी कमजोर हुने परिस्थितिबाट मुक्त हुँदैछौं ।