बिन्धवासिनी साकोसको ३१ औं बार्षिक साधारण सभा सम्पन्न

बिन्धवासिनी साकोसको ३१ औं बार्षिक साधारण सभा सम्पन्न
समाचार | 2024-10-23 Share

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले  असोज ११ देखि कार्तिक ३ गतेसम्म सात वटा इकाइगत सभा सम्पन्न गरी  कार्तिक ५ गते निर्णय प्रमाणिकरण सभा गरको हो। 

संस्थाले सदस्यहरुको सहजताको लागि इकाइगत रुपमा साधारण सभा गरेको भए पनि केही समय अगाडि आएको बाढी पहिरोको कारण जनजीवन अस्तव्यस्त हुँदा संस्थाले हिजो मात्र निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको जनाएको छ । 

संस्थाका अध्यक्ष शान्त कुमार श्रेष्ठले आर्थिक रूपले पिछडिएको र बैंक तथा वित्तीय संस्थाको अभावमा संस्थागत वित्तीय सेवाबाट वञ्चित साविक खोपासी र चलाल गाविसका ग्रामीण विपन्न एवम् सामूहिकरुपमा केही गरौ भन्ने भावना भएका व्यक्तिहरूलाई समेटेर सहकारी संस्था स्थापना गरिएको  बताए ।

समाजमा  छरिएर रहेको ससानो पुँजीलाई नियमित बचत तथा शेयर पुँजीकोरुपमा सङ्कलन गरी सोलाई स्थानीयस्तरमा नै परिचालन गरी आय आर्जन तथा रोजगारीको सिर्जना गर्दै सामाजिक, सांस्कृतिक र आर्थिक विकासको माध्यमबाट समुन्नत र सभ्य समाज निर्माणमा सहयोग  पुर्याउने उदेश्यले  संस्था सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए । 

‘समृद्ध र सक्रिय सदस्य, विन्धवासिनीको प्रमुख ध्येय’ भन्ने सहकारीको विश्वव्यापी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै, नीति, विधि, प्रविधिको अधिकतम प्रयोग गरी प्रभावकारी वित्तीय र गैरवित्तीय सेवामार्फत सदस्यहरूको जीवनस्तर माथि उठाउन लागि परेको सभामा  उनले जनाए ।  

बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाका ऋणीहरूलाई ऋण नतिर्न गरिएको अनधिकृत  हल्ला र सहकारी मून्य, मान्यता  तथा  आदर्शबाट विमुख भएर सञ्चालित केही शहरी सहकारी संस्थाहरूमा देखिएको स्रोतसाधनको अपचलनको गम्भीर समस्याले  सिंगो सहकारी अभियानलाइ नै असर पारेको उनले जनाए । 

‘सदस्यको पूँजीको सुरक्षा, विन्धवासिनीको अहोरात्र  चिन्ता’ भन्ने  भावनाका साथ  ७ वटा सेवा कार्यालय र ९ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आइरहेको  उनले जनाए । समृद्ध सदस्य, सुरक्षित र दिगो  सहकारीको परिकल्पना साँच्दै सदस्यहरूको हितमा  संस्था जुटेको र आ.व. २०८०/०८१ सम्ममा कुल सदस्य ५५ हजार ४९४ र बालबचत कर्ता ११ हजार २३९ समेत गरी कुल सेवाग्राही संख्या ६६ हजार ७ सय ३३  सदस्य पुगेको जानकारी सभामा अध्यक्ष श्रेष्ठले दिए ।  

संस्थाले ४ वर्षे रणनीतिक योजना तय गरेको र त्यस अवधिमा कूल सदस्य १ लाख २ हजार सदस्य  र १० अर्ब ४७ करोड कुल सम्पत्ति पुर्याउने लक्ष्य लिएको उनको भनाई छ । संस्थाले बहुउदेश्यीय भवन बनाएको र उक्त भवन सदस्यहरुको हित हुने गरी उपयोगमा ल्याइने उनले सभामा जनाए ।  

संस्थाका सचिव डोरेन्द्रराज सापकोटाले आ. व. २०८०/८१ को बार्षिक प्रतिवेदन, चालु आर्थिक वर्षको लागि प्रस्तावित कार्यक्रम र छैटौं रणनीतिक व्यवसायिक योजना सभामा प्रस्तुत गरेका थिए । यस आर्थिक बर्षमा लघुवित्त कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, कृषि व्यवसाय प्रवद्र्धन, बजारीकरण, मलखाद, विउविजन र कृषि औजार वितरण गर्ने, स्थानीय सरकारसँग सहकार्य गरेर स्वास्थ्य, सरसफाई, वृक्षारोपण लगायतका सामाजिक कार्य गर्ने र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी सदस्यहरुलाई बचत र ऋण परिचालनका साथै मितव्ययी बन्ने बानीको विकास गर्ने रहेको उनले सभामा जानकारी दिए  ।

संस्थाका कोषाध्यक्ष भिम बहादुर खत्रीले आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै वित्तीय क्षेत्रमा प्रतिकूल अवस्था सृजना भएकाले लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसकेको बताए । गत असार मसान्तसम्म शेयर पुँजी ५२ करोड ८० लाख १४ हजार, बचत संकलन ३ अर्ब ६८ करोड ५४ लाख २६  हजार, ऋण लगानी ३ अर्ब ३९ करोड ५० लाख गरी कुल सम्पत्ति ४ अर्ब ८६ करोड ३९ लाख २३ हजार पुगेको छ । संस्थाको जगेडा तथा अन्य कोष ४८ करोड ३६ लाख, ऋणी सदस्य १० हजार ६ सय ७१ र कुल सेवाग्राही ६६  हजार ७ सय ३३ पुगेको छ । त्यस अवधिको नाफबाट संस्थाले ८.५ प्रतिशत शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष तर्फ बचत तथा ऋण कारोबारमा आधारमा ०.२० र ०.२५ प्रतिशत रकम प्रदान गर्ने भएको छ । संस्थाले राजश्वतर्फ ३ करोड ६६ लाख ५० हजार रुपैया योगदान गरेको छ । 

लेखा सुपरीवेक्षण समितिका तर्फबाट संयोजक रामकुमार श्रेष्ठले समितिको प्रतिवेदन प्रस्तुत गर्दै नियमित बचत नगर्ने सदस्यहरुलाई सक्रिय बनाइ नियमित बचत गर्न प्रोत्साहन गर्न सुझाए । संस्थाले सदस्यरुहरुलाई सदस्य राहत वितरण, सदस्य सम्मान, शैक्षिक बाल सम्मान जस्ता गतिविधि गर्दै आएको छ ।