समस्याग्रस्त दर्शन सहकारीकाे घरजग्गा लिलामी गर्न समितिद्वारा ३५ दिने बाेलपत्र आह्वान

समस्याग्रस्त दर्शन सहकारीकाे घरजग्गा लिलामी गर्न समितिद्वारा ३५ दिने बाेलपत्र आह्वान
समाचार | 2025-11-09 Share

काठमाडाैं । बागमती प्रदेशले समस्याग्रस्त घोषणा गरेकाे कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाकाे सम्पत्ति लिलाम हुने भएकाे छ ।

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सदस्यहरुकाे बचत रकम फिर्ता गर्ने उद्देश्यले संस्थाकाे सम्पत्ति लिलामीमा राखेकाे हाे । 

समितिले संस्थाकाे स्वामित्वमा रहेकाे विभिन्न स्थानकाे  २२ करोड १० लाख ५५ हजार न्यूनतम मूल्य तोकिएको घरजग्गा लिलाम विक्रीमा राखेको हो । 

काठमाडौंको कीर्तिपुर–५ मा घरसहितको १ कित्ता जग्गा, कीर्तिपुर–१६ मा घरसहितको २ कित्ता जग्गा र भक्तपुरको सिरुटामा रहेको १ र दधिकोटको १ कित्ता गरी जम्मा ४ स्थानको घरजग्गा लिलाम विक्री आव्हान गरी समितिले ३५ दिने सूचना प्रकाशित गरेको हो ।

ईच्छुक बचतकर्ता, संस्था तथा व्यक्तिले सकार्न चाहेमा  न्यूनतम मूल्यमा नघट्ने गरी ३५ दिनभित्र गोप्य शिलबन्दी गरी बोलपत्र भर्न सक्ने सूचनामा जनाइएको छ । 

बागमती प्रदेशको नियमन क्षेत्रमा पर्ने दर्शन बचत तथा ऋण सहकारी संस्थालाई २०८१ कात्तिक ११ गते समस्याग्रस्त संस्था घोषणा गरिएको थियो ।