सहकारीलाई पुस मसान्त भित्र साधारण सभा सम्पन्न गर्न संघीय विभागको निर्देशन

सहकारीलाई पुस मसान्त भित्र साधारण सभा सम्पन्न गर्न संघीय विभागको निर्देशन
समाचार | 2025-11-09 Share

काठमाडौं । संघीय सहकारी विभागले सहकारी संघरसंस्थाहरुका लागि साधारण सभा संचालन सम्बन्धी निर्देशन जारी गरेको छ ।

विभागले कात्तिक २० गते एक निर्देशन जारी गरेर सहकारीलाई सहकारी ऐन, २०७४ को दफा ३९ (२) बमोजिम पुस मसान्त भित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने प्रावधान स्मरण गराएको हो ।

निर्देशन मार्फत विभागले सहकारीलाई साधारण सभा संचालन गर्दा पालना गर्नुपर्ने विभिन्न कानुनी प्रावधान बारे पुनर्ताजगी गराएका छ ।

विभागका रजिष्ट्रार उमेश ढुंगानाको हस्ताक्षर रहेको सूचना मार्फत विभागले सहकारीलाई नियामक निकायले दिएको निर्देशन तथा सुझावहरुको विषयमा समेत साधारण सभामा छलफल गर्न निर्देशन दिएको छ ।

यसैगरी सहकारीलाई साधारण सभा सम्पन्न भएको १५ दिन भित्र साधारण सभाको निर्णयको प्रमाणित प्रतिलिपि, उपस्थितिको प्रमाणित प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन र लामो फारम प्रतिवेदन नियामक निकायमा अनिवार्य पेश गर्न र कोपोमिस प्रणालीमा समेत अद्यावधिक गर्न विभागले निर्देशन दिएको छ ।