विराटेश्वर साकोसको १८औं साधारण सभामा डेढ दर्जन सदस्य सम्मानित

विराटेश्वर साकोसको १८औं साधारण सभामा डेढ दर्जन सदस्य सम्मानित
समाचार | 2025-11-10 Share

काठमाडौं । विराटनगर–९, मोरङमा रहेको विराटेश्वर बचत तथा ऋण सहकारी संस्थाले १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष गजेन्द्र श्रीनेतको सभापतित्वमा आयोजित सभा असोज ६ गते सम्पन्न भएको हो ।

साधारण सभाको अवसर पारेर संस्थाले शेयर सदस्यहरु मध्येबाट ७० वर्ष उमेर पुगेका १३ जना ज्येष्ठ सदस्य, तीन जना उत्कृष्ट ऋणी र तीन जना उत्कृष्ट बचतकर्ता सदस्यलाई सम्मानित गरेको छ ।

जनपथ टोल स्थित श्री संगम पार्टी प्यालेसमा बसेको साधारण सभामा सहभागी शेयर सदस्यहरुलाई संस्थाका उपाध्यक्ष रोमनाथ निरौलाले स्वागत गरेका थिए । 

साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्रीनेतले आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष वासुदेव ठाकुरले वित्तीय प्रतिवेदन पेश गरेका थिए । यसैगरी लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक गोपाल बहादुर कटवालले लेखा परीक्षण प्रतिवेदन पेश गरे ।

साधारण सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी ३ करोड ९३ लाख २१ हजार रुपैयाँ, निक्षेप संकलन २१ करोड १९ लाख ८२ हजार रुपैयाँ र ऋण लगानी २० करोड ५१ लाख ५४ हजार रुपैयाँ कायम भएको छ ।

कुल सम्पत्ति २७ करोड ९० लाख ८६ हजार रुपैयाँ रहेको संस्थाले आ.व.को कारोबारबाट गत आ.व.को कारोबारबाट ३२ लाख ९९ हजार रुपैयाँ संचित बचत गरेको छ ।

संस्था वित्तीय कारोबारमामात्र सीमित नभई सहकारीको सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक गतिविधिमा समेत सरिक हुने गरेको छ । 

यसै क्रममा संस्थाले श्री विराटेश्वर वृद्धाश्रमलाई स्वास्थ्य उपचार केन्द्र निर्माण गर्नका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । साथै विभिन्न समयमा निधन भएका सदस्य र सदस्यका परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदन अर्पण गर्दै आएको छ ।

संस्थाले प्रवाह गरेको कर्जाबाट शेयर सदस्यहरुले विभिन्न व्यापार, व्यवसाय र रोजगारमुलक उद्यम गर्दै आएका छन् भने उनीहरुले सामाजिक लाभ समेत प्राप्त गरेका छन् ।

संस्थाले चालु आ.व.मा सदस्य व्यवस्थापन, निक्षेप तथा ऋण व्यवस्थापन, लेखा प्रणाली, सूचना प्रवाह र पारदर्शिता, रिपोर्टिङ र लिश्लेषण, विद्युतीय सेवा र पहुँच, सुरक्षा र अभिलेख व्यवस्थापन सूचना प्रणालीको अवलम्बन तथा सुधारलाई विशेष प्राथमिकतामा राख्ने योजना बनाएको छ ।