लगन बहुउद्देश्यीयको १८ औं वार्षिक साधारण सभा सम्पन्न

लगन बहुउद्देश्यीयको १८ औं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2025-11-10 Share

काठमाडौं । लगनटोलमा मुख्य कार्यालय रहेको लगन बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कविर प्रसाद जोशीको सभापतित्वमा असोज ४ गते आयोजित सभा कालीमाटी स्थित फ्रेण्डस पार्टी भेन्युमा सम्पन्न भएको हो ।

साधारण सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.)को वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष जोशीले स्थापना काल देखि नै संस्थाका सम्पूर्ण वित्तीय सूचकहरु सकारात्मक रहेको बताए ।

उनले पछिल्लो समय ठूलो कारोबार गरिरहेका सहकारी संस्थाहरु पनि सदस्यको बचत हिनामिना तथा गलत ठाउँमा ऋण लगानी गरेका कारण समस्यामा परेको उल्लेख गरे । 

मुलुकमा देखिएको आर्थिक मन्दीको असर संस्थालाई पनि परेको जानकारी गराउँदै उनले शेयर सदस्यहरुलाई प्रतिकुल अवस्थामा पनि संस्थाको समग्र वित्तीय तथा गैर वित्तीय अवस्था मजबुत रहेको विश्वास दिलाए ।

सहकारीले वित्तीय सुशासनलाई उच्च प्राथमिकता दिएको बताउँदै अध्यक्ष जोशीले संस्थाले १८ वर्ष देखि संघीय सहकारी विभागले दिएको निर्देशन पालना गरेको, कोपोमिसमा नियमित मासिक प्रतिवेदन बुझाउने गरेको र सयमयै वार्षिक साधारण सभा सम्पन्न गर्दै आएको जानकारी गराए ।

संस्थाले शेयर सदस्यहरुलाई वेस्टर्न युनियन, हिमाल रेमिट र आईएमईसंग सहकार्य गरेर विप्रेषण सेवा समेत उपलब्ध गराउँदै आएको जनाए ।

उनले संस्थाको दिगोपनाका लागि सम्पूर्ण सदस्यहरुलाई नियमितरुपमा दैनिक तथा मासिक बचत गर्न आग्रह गरे ।

साधारण सभामा संस्थाका सचिव सुनिल काजी स्थापितले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।