सहकारी बैंककाे खर्च कटाैती गरेर  मितव्ययिता अपनाउन आवश्यक छ: अध्यक्ष गिरी

सहकारी  बैंककाे खर्च कटाैती गरेर  मितव्ययिता अपनाउन आवश्यक छ: अध्यक्ष गिरी
समाचार | 2025-11-30 Share

काठमाडाैं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार  गिरीले बैंककाे स‌ंचालन खर्च कटाैती गरेर  मितव्ययिता अपनाउन आवश्यक रहेकाे बताएका छन् ।

बैंककाे २२ औं वार्षिक  साधारण सभाकाे एकाई सभाबाट  छनौट भएका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्न आयोजना गरिएको सभामा बाेल्दै उनले आसन्न  निर्वाचनबाट नेतृत्वमा आउने स‌ंचालकहरुलाई भाषणमा नभई काममा केन्द्रित हुन सुझाव  दिएका हुन् ।

बैंकको वर्तमान सञ्चालक समितिले ६८ वटा शाखा कार्यालयमध्ये ११ वटा शाखालाई अन्य शाखामा गाभेर घटाउने प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिँदै उनले भने  ‘अहिले हाम्रो ६८ वटा शाखा भएपनि हामीले ११ वटा घटाउन वा मर्ज गर्न अगाडि बढाइसकेका छौँ । यहाँ खर्च घटाउने चुनौती मुख्य छ ।’

यसैगरी उनले बैंकले ब्याजदर न्यून गर्न बेसरेट घटाएर सदस्य संस्थाहरुलाई ५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्नुपर्ने  बताएका छन् ।

 बैंकले लाभांश होइन सदस्य संस्थाहरुलाई सुविधा दिनुपर्छ भन्दै  बैंक पुनर्लगानी गर्ने संस्था भएकोले बेस रेट घटाउनु पर्ने उनको भनाई छ । उनले थपे‘बैंकमा  तरलता बढी छ भनेर हल्ला गरिन्छ । तर बैंकमा भएको पैसा जति कि मुद्दतिमा छ, कि एच्छिक बचतमा । दीर्घकालीन बचत १ प्रतिशत मात्रै छ । नियमति बचत छँदैछैन । सोही कारण अब दीर्घकालीन बचत १ हजार रुपैयाँ मात्र भएपनि प्रत्येक संस्थाबाट बचत गर्न सुरु गुर्नपर्छ ।’

अध्यक्ष गिरीले एक हजारको शेयर किनेर भोट हाल्ने सदस्यले मात्र  बैंक नचल्ने जनाए । उनले अब २५ हजार शेयर अनिवार्य गरिएको  जानकारी दिँदै बिस्तारै २५ हजारदेखि २५ लाख रुपैयाँसम्म मात्रै  शेयर राख्ने र अरु बिस्तारै घटाउँदै जाने गरी बैंक अघि बढेको जानकारी दिए। अध्यक्ष गिरीले प्रारम्भिक संस्थाहरुले २५ लाख रुपैयाँ भन्दा बढीको ऋण तिर्न नसक्ने भन्दै एउटा संस्थालाई  सो भन्दा बढी   लगानी गर्न नहुने बताए ।  

उनले सञ्चालक समितिले २५ बुँदे कार्यदिशा निर्माण गरेसँगै सानो सानो ऋण लगानीलाई प्राथमिकतामा राखेर अगाडि बढेको जानकारी दिए ।  उनले थपे,‘ विगतमा एउटै संस्थालाई  ४० करोड रुपैयाँसम्म लगानी गरिएको रहेछ । २५ वटा संस्थालाई ठुलो  लगानी गरिएको रहेछ । अहिले पनि  ऋण लगानी बढाउनुपर्ने  छ । १० हजार संस्थाले १० लाख रुपैयाँका दरले ऋण सुविधा लिदापनि १० अर्ब लगानी हुँदो रहेछ । १० लाख लगानी जोखिममुक्त हुन्छ । त्यति रकम त हप्काएर पनि उठ्छ ।’  

बैंकमा १६ हजार सदस्य भएपनि केवाइएम ६ हजारले मात्र अपडेट गरेको भन्दै उनले  १० हजार भन्दा बढी संस्था सक्रिय सदस्य  नहुने उल्लेख गरे । ६ हजार नाम मात्रका सदस्य रेहकाले गुणस्तरीय सदस्य अबको चुनौती भएको उनको भनाई छ । 

सहकारी भनेको गरिब तथा विपन्न वर्गमा काम गर्ने संस्था भएकाले  एउटैलाई ४० करोड लगानी  गर्न नहुने उनको भनाई छ । विगतमा  एउटा संस्थालाई ४० कारेडसम्म लगानी गरेको  भन्दै उनले प्रारम्भिक संस्थाहरु डुब्नुको एउटा कारण ठूलो लगानी भएको उल्लेख गरे । ऋण भनेको धितो नै भएपनि हप्काउँदा उठ्ने खालको  हुनुपर्ने उनले बताए ।  अब कुरा बुझ्ने साथीहरु बैंकको सञ्चालक समितिमा आउनुपर्ने भन्दै उनले साधारण सभामा गएर भाषण गरेर मात्र बैंक नचल्ने प्रष्ट पारे ।  

उनले भने ,‘अब कसरी राम्रो बनाउने भन्नेमा लागौं । धेरै कुरा हामीहरुले व्यवस्थित गरिसकेका छौं । व्यवस्थापन टिमले पनि धेरै राम्रो काम गरेको छ । अर्को साल २ अर्ब नाफा हुन्छ । ’ आगामी पुस १२ गतेको निर्वाचनमार्फत राम्रो नेतृत्व ल्याउने काममा सबैको सक्रिय सहभागिताको उनले अपेक्षा  गरे ।  सहकारी बैंकलाई कसैको क्लब नबनाउन उनको आग्रह छ । काम गर्ने प्रोफेशनल  व्यक्तिहरु सबै क्षेत्रबाट आउँदा बैंकलाई राम्रो हुने उनको भनाई छ ।