छोर्गे साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । तारकेश्वर–१० स्थित छोर्गे बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष रुप माया तामाङको अध्यक्षतामा मंसिर १२ गते आयोजित सभा स्थानीय त्रिवेणी ब्याङ्क्वेट्समा सम्पन्न भएको हो ।
संस्थाका पूर्व संचालक एवं वर्तमान सल्लाहकार दीर्घ बहादुर बुर्जा थापाको प्रमुख आतिथ्यमा सम्पन्न सभामा संस्थाका लेखा परीक्षक गिरिराज सुवेदी विशिष्ट अतिथि रहेका थिए ।
सभाको उद्घाटन सत्रमा बोल्दै अडिटर सुवेदीले संस्थाको हिसाब किताब कसरी पारदर्शी राख्ने भन्ने विषयमा विचार राखे । साथै उनले संस्थाको प्रभावकारी लेखा परीक्षण गरेर वित्तीय स्वस्थता कायम राख्न सहयोग गर्ने बताए ।
यसैगरी अर्का अतिथि सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीले सहकारीको विकल्प अन्य क्षेत्र नभई सहकारीनै भएको भनाई राखे ।
उनले सहकारीका समसामयिक विषयमा चर्चा गर्दै ऐन, कानुनको बारेमा संक्षिप्त प्रशिक्षण प्रदान गरे ।
संस्थाका सचिव लालबहादुर सिङ्तानले संचालन गरेकाे समाराेहमा स्वागत मन्तव्य रामबहादुर लामा तामाङले राखेका थिए ।
साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष रुपमाया तामाङले आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शहदेव बुर्जा थापाले आर्थिक प्रतिवेदन पेश गरे ।
संस्थाकाे भावी रणनीति तथा याेजना वार्षिक कार्यक्रमकाे बारेमा नानीमाया तामाङले प्रस्तुत गरेकी थिईन । तामाङलाई असल व्यवस्थापक भनेर वक्ताहरुले प्रशंसा समेत गरेका थिए । उत्कृष्ट कार्य गर्ने कर्मचारीकाेरुपमा प्रशंसा गरेका थिए । तामाङ विगत १३ वर्षदेखि साे संस्थाकाे व्यवस्थापककाे भूमिकामा रहेकी छिन् ।
सभामा पेश भएको प्रतिवेदन अनुसार मुलुकमा आर्थिक क्रियाकलाप सुस्ताएको समयमा पनि संस्थाको वित्तीय सूचक सकारात्म देखिएको छ ।
गत असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी १ करोड ९० लाख ७१ हजार रुपैयाँ, निक्षेप संकलन ७ करोड ६९ लाख ८८ हजार रुपैयाँ र ऋण लगानी ६ करोड ७० लाख ९३ हजार रुपैयाँ कायम भएको छ ।
संस्थासंग अनिवार्य तरलता कायम राखे पश्चात पनि लगानीका लागि प्रसस्त रकम मौज्दात रहेको छ । यद्यपि संस्थाले सदस्यहरुको बचतको सुरक्षालाई मध्यनजर गरेर बलियो धितो लिएरमात्र लगानी गर्ने गरेको छ ।
साधारण सभाको अवसर पारेर संस्थाले शेयर सदस्यहरु मध्येबाट उत्कृष्ट शेयर सदस्य एक्का प्रसाद तामाङ, नियमित बचतकर्ता दिपेन्द्र बास्ताकोटी र देवीराम ढुंगाना, उत्कृष्ट कारोबार गर्ने सिता तामाङ र विनय थिङ र उत्कृष्ट मुद्दति बचतकर्ता शेयुङ लामालाई सम्मान गरेको छ । साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी शोभा लामालाई पुरस्कृत गरेको छ ।


