मेट्रोभेष्ट सहकारीको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न

मेट्रोभेष्ट सहकारीको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2026-01-01 Share

काठमाडौं । न्यूरोड स्थित मेट्रोभेष्ट बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष राजु महर्जनको सभापतित्वमा आयोजित सभा मंसिर २७ गते सम्पन्न भएको हो ।

बागबजारमा रहेको न्हुँजः पार्टी भेन्यूमा आयोजित सभामा उपस्थित शेयर सदस्य तथा सहभागीलाई संस्थाका संचालक समिति सदस्य बसन्त राज प्रधानले स्वागत गरेका थिए ।

साधारण सभामा अध्यक्ष महर्जनले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे ।

सहकारी क्षेत्रमा देखिएको समस्या, अर्थतन्त्रमा उत्पन्न भएको सिथिलताले ब्यापार व्यवसायमा परेको असर र वित्तीय क्षेत्रमा देखिएको समस्याका बाबजुद पनि संस्थाले लक्ष्य अनुरुप काम गर्न सकेको बताए ।

संस्थाले आगामी दिनमा पनि समाजमा छरिएर रहेको अनुत्पादनशील पैसा संकलन गरेर पँुजी निर्माण गर्ने र सदस्यहरुमार्फत उत्पादनशील क्षेत्रमा परिचालन गर्ने कार्यलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाए ।

अध्यक्ष महर्जनले गत असार मसान्त सम्ममा संस्थामा आवद्ध भएका ८ सय ८ जना शेयर सदस्यहरुबाट १ करोड ७६ लाख ४२ हजार रुपैयाँ शेयर पुँजी संकलन भएको जानकारी दिए ।

आ.व.को अन्त्यमा संस्थाको बचत संकलन मौज्दात १४ करोड ७२ लाख ३२ हजार रुपैयाँ र कुल ऋण लगानी ११ करोड ३५ लाख ७७ हजार रुपैयाँ कायम भएको बताए ।

यसैगरी उनले संस्थाको जगेडा कोष तथा अन्य कोषहरुमा ६३ लाख ७० हजार रुपैयाँ रहेको संस्थाले ४ करोड १८ लाख ४१ हजार रुपैयाँ ऋण जोखिम ब्यवस्था गरेको जनाए ।

यस्तै सभामा संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत ओम कुमार प्रधानले संस्थाले बचतकर्ता सदस्यहरुको निक्षेप सुरक्षित राख्नका लागि ऋण लगानी नीति तय गरेर ऋण उपसमितिको सिफारिसमा धितो सुरक्षण लिएरमात्र ऋण प्रवाह गर्ने गरेको बताए ।

उनले संस्थाले मुलुकको अर्थतन्त्र र वित्तीय क्षेत्रलाई विश्लेषण गरेर निक्षेप र कर्जाको समयसापेक्ष ब्याजदर तय गर्ने गरेको जानकारी गराए ।