नेफ्स्कूनका संचालक विरबहादुर रावल भोटे निलम्बित
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले कर्मचारीलाई आक्रमण गर्ने संचालकलाई निलम्वन गर्ने निर्णय गरेको छ । संघको आज बसेको सञ्चालक समितिको भर्चुअल बैठकले सुर्खेत घटनामा संलग्न वीरबहादुर रावत भोटेलाई निलम्वन गर्ने निर्णय गरेको हो । बैठकले संचालक रावतलाई सुर्खेत फिल्ड कार्यलयका कर्मचारी कुटेको आरोमा निलम्बन गर्ने निर्णय गरेको जनाइएको छ ।
नेफ्स्कूनले प्रेस विज्ञप्ती जारी गर्दै सुर्खेत सदस्य सेवा कार्यालयमा पुष १८ गते शुक्रबारका दिन संघका सञ्चालक सदस्य वीरबहादुर रावत (भोटे) ले सहकारीका स्वयमसेवी सञ्चालकहरु अभिभावकीय भूमिकामा रहनु पर्नेमा सेवा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई गरेको अमर्यादित व्यवहार र सो पछि अभियानका तर्फबाट व्यक्त चासोप्रति सचेत रहँदै यस्ता क्रियाकलापहरु भविष्यमा दोहोरिन नदिन संघ प्रतिवद्ध रहेको बताएको छ ।
उक्त घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै संघको पुष २० गते बसेको सञ्चालक समितिको बैठकले निज वीरबहादुर रावत (भोटे) को उक्त व्यवहारलाई पदीय मर्यादा विपरित रहेकोभन्दै आजकै मितिदेखि लागू हुनेगरी सञ्चालक समिति सदस्यको पदबाट निलम्बन गर्ने निर्णय गरेको जनाइएको छ । घटनाको निष्पक्ष, वस्तुनिष्ठ र तथ्यपरक छानबिन गरी सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्नका लागि सञ्चालक समिति र व्यवस्थापन समेतको तीन सदस्यीय छानविन कार्यदल गठन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी, नेफ्स्कून कर्मचारीहरुले उठाएका अधिकांश मागहरु सम्बोधन भएको भन्दै उनीहरु पनि काममा फर्केको संघका सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिनाले जानकारी गराए । अन्य केही मागका सम्बन्धमा पदाधिकारी तहले गृहकार्य गर्ने भनिएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी काममा फर्किएको उनले जानकारी गराए ।


