सत्यसेवा साकोसको अध्यक्षमा पुनः नरेन्द्र प्रसाद न्यौपाने
काठमाडौं । महाबौद्धमा कार्यालय रहेको सत्यसेवा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः नरेन्द्र प्रसाद न्यौपाने चयन भएका छन् ।
पुतलीसडक स्थित न्यू सिप एण्ड स्किप लन्ज बारमा पुस १९ गते सम्पन्न भएको संस्थाको २५औं वार्षिक साधारण सभाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
सभाबाट संचालक समितिको उपाध्यक्षमा टेक बहादुर श्रेष्ठ, सचिवमा निर कुमार श्रेष्ठ र कोषाध्यक्षमा राम प्रसाद रिजाल चयन भएको छन् । समितिमा मेनुका दाहाल, सुनिता चौलागाई, अर्जुन पराजुली, पर्शुराम भण्डारी र हरि प्रसाद तिमल्सिना चयन भएका छन् ।
यसैगरी सभाले उषा गौलीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । समितिमा रवी बस्नेत र शारदा श्रेष्ठ सदस्य रहेका छन् ।
संस्थाका अध्यक्ष नरेन्द्र प्रसाद न्यौपानेको सभापतित्वमा आयोजित साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) कलंकी शाखा प्रमुख मनोज कार्की, सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरी लगायत अतिथि रहेका थिए ।
सभाको पहिलो सत्रमा अतिथि गिरीले सहकारीको समसामयिक विषयमा जानकारी गराउँदै सहकारी सम्बन्धी वर्तमान कानुनी व्यवस्था बारे प्रशिक्षण दिएका थिए ।
संस्थाका उपाध्यक्ष टेक बहादुर श्रेष्ठले संचालन गरेको सभामा उपस्थित अतिथि तथा सहभागीलाई संचालक सदस्य रामप्रसाद रिजालले स्वागत गरेका थिए ।
साधारण सभामा अध्यक्ष न्यौपानेले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे ।
आर्थिक गतिविधिमा आएको मन्दी र केही सहकारीले गलत क्षेत्रमा लगानी गरेर सदस्यको बचत फिर्ता गर्न नसकेपछि समग्र सहकारी क्षेत्रप्रति जनमानसमा नकारात्मक मनोविज्ञान सिर्जना भएको दुःखेसो पोखे ।
बजारमा कर्जा लगानी र असुली गर्ने कार्य चुनौतिपूर्ण बनेको समयमा पनि सत्यसेवा सहकारीले सुशासनमा बसेर कारोबार गरेकाले वित्तीय अवस्था सबल रहेको उनले जनाए ।
अध्यक्ष न्यौपानेले सदस्यले जम्मा गरेको बचतको सुरक्षणप्रति सम्वेदनशील बन्दै संस्थाले यस आ.व.मा ३८ जना खराब ऋणीलाई कालो सूचीमा राखेर १७ जना विरुद्ध कर्जा असुली गर्नका लागि अदालतमा मुद्दा दायर गरेको जानकारी गराए ।
संस्थाले कानुन बमोजिम नियामक निकायलाई बुझाउनुपर्ने सम्पत्ति शुद्धीकरण सहितको प्रतिवेदन नियमित बुझाउने गरेको बताए ।
साधारण सभामा लेखापाल सिता खड्काले संचालक समितिको तर्फबाट कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गरिन ।
सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थामा १ सय ९८ जना शेयर सदस्यले २ करोड ६५ लाख ३६ हजार रुपैयाँ शेयर पुँजी जम्मा गरेका छन् ।
यस आ.व.मा ७ कराेड ३ लाख ५६ हजार रुपैयाँ लगानी गरेको संस्थाले ६ करोड ९ लाख ८२ हजार रुपैयाँ असुली गरेको छ । साथै ३४ करोड २७ लाख ४० हजार रुपैयाँ बचत संकलन गरेर ३२ करोड ३८ लाख २ हजार रुपैयाँ निक्षेप फिर्ता गरेको छ ।
संस्थाले सदस्यहरुलाई सम्पत्ति शुद्धीकरण निवारण निर्देशन बमोजिम २०८३ मसान्त सम्म सदस्य पहिचान (केवाईएम) फारम भर्ने समय दिएको छ । उक्त अवधि सम्ममा फारम नभरे खाता रोक्का गर्ने जनाएको छ ।
साधारण सभाको अवसर पारेर संस्थाले शेयर सदस्यहरु मध्येबाट उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ ।
यसैगरी गत आ.व.मा मृत्यु भएका शेयर सदस्य वा उनीहरुका बुबा आमाको अन्तिम संस्कार खर्च वापत ५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।


