नवकान्तिपुर सहकारीको २८औं वार्षिक साधारण सभा सम्पन्न

नवकान्तिपुर सहकारीको २८औं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2026-01-07 Share

काठमाडौं । बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाले मंसिर २७ देखि पुस १० गते सम्म कार्यक्षेत्र भित्रका तीन स्थानमा एकाई सभा आयोजना गरेर पुस १२ गते एकाई सभाले चुनेका प्रतिनिधिहरुको निर्णय प्रमाणीकरण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले सञ्चालक समितिका अध्यक्ष मुकुन्दराज पाण्डेले पेश गरेको आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि ब्यापक छलफल गरेर पारित गरेको छ ।

यस्तै साधारण सभाले चालु आ.व.का लागि लेखापरीक्षक नियुक्ति गर्नुका साथै पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको चुक्ता पुँजी ९ करोड ३३ लाख ६९ हजार रुपैयाँ, निक्षेप संकलन २ अर्ब २४ करोड ६६ लाख ४२ हजार रुपैयाँ र ऋण लगानी १ अर्ब २६ करोड ५ लाख ४८ हजार रुपैयाँ कायम भएको छ ।

संस्थाको कुल पुँजी कोष ३३ करोड १५ लाख २४ हजार रुपैयाँ र जगेडा तथा अन्य कोषहरुमा २३ करोड ८१ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

मुलुकको वित्तीय बजारमा अधिक तरलता भएकाले ब्याजदर कम हुनुका साथै अर्थतन्त्रमा देखिएको मन्दीले गर्दा ऋणको मागमा कमी आउँदा सहकारीलाई पनि असर परेको प्रतिवेदनमा उल्लेख छ ।

ऋणी सदस्यहरुको आम्दानी घटेकाले संस्थाबाट लिएको ऋण तिर्ने क्षमतामा समेत ह्रास उत्पन्न भएकाले संस्थाको कर्जा नोक्सानी व्यवस्था वृद्धि भएको उल्ल्ेख छ । यसले गर्दा वितरणयोग्य मुनाफा कमी भएको संस्थाले प्रष्ट्याएको छ ।

ऋणी असुली प्रक्रिया प्रभावकारी बन्दै गएको र सदस्यहरुको किस्ता तथा ब्याज भुक्तानीमा सुधार आएको उल्लेख गरिएको छ । संस्थाले कृषि, साना व्यवसाय तथा उत्पादनशील क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकता दिएको जनाएको छ ।

संस्थाले सदस्यहरुलाई नगदरहित कारोबार गर्ने सुविधा प्रदान गर्न मोबाईल बैंकिङ सेवा र नेपाल क्लियरिङ हाउसले संचालन गरेको अन्तर बैंक भुक्तानी सेवा उपलब्ध गराएको छ ।

विभिन्न सेवा प्रदायकहरुसंग सम्झौता गरेर आन्तरिक तथा अन्तरदेशीय रेमिट सेवा उपलब्ध गराउँदै आएको संस्थाले क्यूआर भुक्तानी सेवा समेत प्रदान गरेको छ ।

यस्तै संस्थाले आफ्नो कोर बैंकिङ सिस्टमलाई अद्यावधिक गरेर सदस्यहरुलाई मोबाईलमा एसएमएस मार्फत कारोबारको जानकारी दिने व्यवस्था गरेको छ ।

संस्थाले आर्थिक कारोबारका अतिरिक्त सदस्यहरुसंग सामिप्यता कायम राख्दै उनीहरुलाई अपनत्व वोध गराउन विभिन्न समयमा विस्तारित मञ्च आयोजना गरेको बताएको छ ।

सहकारीको सामाजिक उत्तरदायित्व शीरोपर गर्दै संस्थाले सामुदायिक विकास कोषबाट संस्थाका ज्येष्ठ सदस्य सम्मान र शेयर सदस्यका सन्ततीहरु मध्ये एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ ।

यस्तै लायन्स क्लब अफ काठमाडौं, अटल पिंगलास्थान, आकाश भैरव खलः ईन्द्रचोक लगायतका सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग गर्नुका साथै बाढी पीडितहरुलाई राहत समेत वितरण गरेको जनाएको छ ।

संस्थाले बत्तिसपुतली स्थित प्रधान कार्यालयका अतिरिक्त ईन्द्रचोकमा सदस्य सेवा केन्द्र संचालन गरेर सदस्यलाई सरल सेवा प्रदान गर्दै आएको छ ।