समता सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न

समता सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2026-01-08 Share

ललितपुर । न्यौतमा कार्यालय रहेको समता बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बाबुराजा अवालेको सभापतित्वमा आयोजित सभा मंसिर २७ गते सम्पन्न भएको हो ।

भोलढोका स्थित ज्यापु प्रज्ञा भवनमा आयोजित सभामा अध्यक्ष अवालेले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे ।

संस्थाले ललितपुर महानगरपालिका भित्रका १४ वडामा बसोबास गर्ने मजदुर, उद्योगी, व्यापारी, कर्मचारी र विभिन्न व्यवसाय गर्ने सर्वसाधारणलाई सदस्य बनाई बचत अभियानमा आवद्ध बनाउनुका साथै शिक्षा तथा व्यवसायिक तालिम दिएर उत्पादनशील कार्यमा लगानी समेत गर्ने गरेको जानकारी गराए ।

उनले मुलुकको वित्तीय प्रणाली र सहकारी क्षेत्रमा समस्या देखिएको समयमा पनि संस्थाले सहकारी ऐन, नियम र विनियमावलीलाई पालना गरेर कारोबार गरेकाले अवस्था राम्रो रहेको बताए ।

बैंक, वित्तीय संस्था र सहकारी क्षेत्रमा व्यापत तरलता थुप्रिएको समयमा पनि संस्थाले विगतको तुलनामा यस आ.व.मा मुनाफा वृद्धि गर्न सफल भएको जनाए ।

संस्थाका व्यवस्थापक ज्ञान बहादुर अवालेले सहजीकरण गरेको साधारण सभामा संस्थाका कोषाध्यक्ष कृष्ण महर्जनले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

साधारण सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थामा ९ सय ८३ जना शेयर सदस्य आवद्ध बनेका छन् ।

आ.व.को अन्त्य सम्ममा संस्थामा शेयर पुँजी १ करोड ६५ लाख ६४ हजार रुपैयाँ र निक्षेप संकलन २३ करोड ८८ लाख ५० हजार रुपैयाँ कायम भएको छ । साथै यस अवधिमा सदस्यहरुलाई १५ करोड ७९ लाख ७१ हजार रुपैयाँ ऋण लगानी गरेको  छ ।

संस्थाले यस आ.व.को कारोबारबाट आर्जन गरेको मुनाफाबाट राज्यलाई १० लाख ८९ हजार रुपैयाँ कर तिर्नुका साथै कोषहरुको व्यवस्था पश्चात लाभांश कोषमा जम्मा भएको १६ लाख ५३ हजार रुपैयाँबाट ९ दशमलव ९० प्रतिशतका दरले नगद लाभांश वितवरण गर्ने निर्णय गरेको छ ।

संस्थाका संचालक र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको संस्थाले सामाजिक कार्यलाई पनि प्राथमिकता दिएको छ ।

संस्थाले १६औं स्थापना दिवसको अवसरमा रेडक्रस सोसाइटी, ललितपुर शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको संस्थाले गत असारमा मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।

यसैगरी संस्थाले गत असारमा स्किन केयर र मानसिक स्वास्थ्य सम्बन्धी छुट्टा–छुट्टै वर्कसप तथा जनचेतनामूलक अन्तरक्रिया आयोजना गरेको थियो ।

साधारण सभाको अवसर पारेर संस्थाले शेयर सदस्यहरु मध्येबाट एक जनालाई उत्कृष्ट ऋणी र १२ जनालाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरेको छ ।