सिजेएनले सहकारीको नीति सम्वाद कार्यक्रम संचालन गर्नुपर्छः सहकारी बैंक अध्यक्ष गिरी

सिजेएनले सहकारीको नीति सम्वाद कार्यक्रम संचालन गर्नुपर्छः सहकारी बैंक अध्यक्ष गिरी
समाचार | 2026-01-29 Share

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले नेपाल सहकारी पत्रकार समाज (सिजेएन)लाई सहकारीको विषयमा नीति सम्वाद कार्यक्रम संचालन गर्न सुझाव दिएका छन् ।

बुधबार बैंकको पुल्चोक स्थित केन्द्रीय कार्यालयमा सिजेएनको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै राज्यले तय गर्ने नीतिमा सकारात्मक प्रभाव पार्ने किसिमको कार्यक्रम संचालन गर्न अनुरोध गरेका हुन् ।

उनले अहिले मुलधारका सञ्चारमाध्यमहरुले सहकारीको विषयमा समाचार प्रकाशन प्रसारण गरेकै आधारमा राज्यले सहकारी सम्बन्धी नीति तय गर्ने गरेको गुनासो प्रकट गरे ।

उनले भने, ‘अहिले मुलधारको मिडियामा कुनै समाचार सात दिन सम्म आयोभने राज्यको पोलिसी नै इन्फ्लुइन्स हुने अवस्था छ । ठूला पत्रिकाले कुरा नबुझी उल्टो पाल्टो लेखिदिए पनि हामीले उहाँहरुलाई कुरा बुझाउन सक्दैनौं ।’

अध्यक्ष गिरीले सहकारी बिटमा कलम चलाउने पत्रकार र सञ्चार माध्यमले सहकारीको विषयमा मुलधारको सञ्चार माध्यममा प्रवाह हुने तथ्य र आधारहीन समाचारको प्रतिवाद गर्नका लागि पनि सरोकारवालाहरुलाई राखेर नीति सम्वाद कार्यक्रम संचालन गर्नुपर्ने कुरामा जोड दिए ।

उनले सहकारी अभियानमा उदाहरणीय काम गरिरहेका सहकारी संस्थाहरुको असल अभ्यासलाई स्थापित गराउनका लागि सिजेएनले अध्ययन र

अनुसन्धानात्मक पत्रकारितालाई प्रोत्साहन गर्नुपर्ने बताए । साथै सिजेएनलाई सातै प्रदेशमा सञ्जाल विस्तार गर्न सुझाव दिए ।

सहकारी क्षेत्रको गिरेको साख उकास्ने गरी जिम्मेवार, निष्पक्ष र सक्रिय पत्रकारिता गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे । 

अध्यक्ष गिरीले सहकारी क्षेत्रको विकास, प्रवद्र्धन, सुशासन र पारदर्शिता कायम गर्न पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने बताए । 

बैंकले लामो समय देखि सिजेएनसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने आश्वासन प्रदान गरे ।

यसैगरी अध्यक्ष गिरीले आफूले नेतृत्व सम्हालेपछि बैंकको वित्तीय अवस्था सुधार गर्न विशेष प्राथमिकता दिएको बताए । उनले विगतमा पाँच अर्ब हाराहारी पुगको बैंकको निष्कृय कर्जा असुली गर्ने कार्यमा समेत महत्वपूर्ण प्रगति हासिल गरेको बताए ।

यसैगरी शुभकामना मन्तव्य राख्दै बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी अभियानको मजबुतीका लागि निष्पक्ष, तटस्थ र यथार्थपरक समाचार सम्प्रेषण आवश्यक रहेको उल्लेख गरे । 

उनले सकारात्मक समाचारको प्रवाहले सहकारी क्षेत्रलाई मजबुत बनाउन सहयोग पुग्ने कुरामा जोड दिए । 

सो अवसरमा सिजेएनका नवनिर्वाचित अध्यक्ष अर्जुन खतिवडाले सिजेएनमा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्दै बैंकसँगको सहकार्यलाई थप विस्तार गर्ने बताए । 

सहकारी अभियानलाई बलियो बनाउँदै सुधारका लागि संस्थागत रुपमा सहकार्य गर्दै अघि बढ्ने भनाई राखे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सञ्चालन गरेको कार्यक्रममा बैंकको सदस्य सेवा डिभिजन प्रमुख रामबाबु आचार्य, बैंकिङ व्यवसाय डिभिजन प्रमुख भरतकुमार चिमरिया, कार्यालय व्यवस्थापन डिभिजन प्रमुख मधु रायमाझी लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईं, पूर्व अध्यक्ष खिलानाथ दाहाल, निवर्तमान अध्यक्ष काजी श्रेष्ठका साथै नवनिर्वाचित कार्यसमितिका सचिव माधव खड्का, सहसचिव हिरा बस्नेत, कोषाध्यक्ष प्रवीण राउत र सदस्य ईश्वर ढुङ्गेलको सहभागिता रहेको थियो ।