काठमाडौं महानगरपालिकाले मातहतका सहकारीकाे स्थलगत अनुगमन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारिभत्र रहेका सहकारी संस्थाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।
महानगरपालिकाको सहकारी विभागले एक सूचना जारी गरेर मातहतका सहकारीकाे सुपरीवेक्षण, निरीक्षण, अनुगमन तथा नियमन कार्य अघि बढाएको जनाएको हो ।
विभागकाे अनुगमन टोली सहकारी संस्थामा स्थलगत रूपमा उपस्थित हुने भएकाले आवश्यक कागजात र विवरण तयार अवस्थामा राख्न निर्देशन दिएको छ ।
अनुगमन टाेलीले सहकारी दर्ता प्रमाणपत्र, विनियम, साधारण सभा निर्णय, सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको विवरण, सदस्य विवरण, सेयर पूँजी, बचत तथा ऋण कारोबारका अभिलेख, ऋण फाइल, लेखापरीक्षण प्रतिवेदन र बैंक खाता विवरण माग गर्न सक्ने विभागले जनाएकाे छ ।
यसैगरी कर्मचारी विवरण, आन्तरिक नियन्त्रण प्रणालीसम्बन्धी कागजात, प्राधिकरण विभाग वा महानगरपालिकाबाट जारी निर्देशन, परिपत्र तथा कार्यान्वयन अवस्था लगायतका कागजात अभिलेख र सूचना समेत माग गर्न सक्ने भएकाले तयारी अवस्थामा राख्न सचेत गराएकाे छ ।
महानगरपालिकाले अनुगमन टोलीलाई सहजीकरण गर्न, माग गरिएका कागजात तथा सूचना समयमै उपलब्ध गराउन सबै सहकारी संस्थालाई आग्रह गरेको छ ।
विभागले कानुन बमोजिम आवश्यक कागजात उपलब्ध नगराएमा वा अनुगमनमा असहयोग गरेमा प्रचलित कानुन अनुसार कारबाही हुन सक्ने चेतावनी दिएकाे छ ।



