महासंघद्वारा ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न सम्मान तथा पुरस्कार घोषणा
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा बिहीबार विशेष समारोह सम्पन्न भएको छ ।
प्रत्येक वर्ष चैत २० गते देशभर विविध कार्यक्रमसहित सहकारी दिवस मनाइने परम्परा अनुरूप यस वर्ष ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने मूल थिम सहित दिवस मनाइदै छ ।
कार्यक्रमको उद्घाटन गर्दै महासंघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले सहकारी क्षेत्रलाई अर्थतन्त्रको बलियो खम्बाकारुपमा व्याख्या गर्दै यसको सुदृढीकरणका लागि सरकार र सहकारीबीच सहकार्य आवश्यक रहेको बताए ।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।
उनले सहकारीहरूले करिब ८० प्रतिशत घरपरिवारलाई समेट्दै महिला सशक्तीकरण र सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान दिएका छन् । केही सहकारी संस्थामा समस्या देखिएको स्वीकार गर्दै उनले करिब एक सय देखि दुई सय सहकारीमा विचलन आएको जानकारी दिए ।
साथै, सुशासन र पारदर्शिता सुनिश्चित गर्न सहकारी विभाग र नियमन प्राधिकरणको भूमिका अझ स्पष्ट हुनुपर्नेमा जोड दिए ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले सप्ताहव्यापी रूपमा सहकारी दिवस मनाइएको र यसले प्रभावकारी सन्देश प्रवाह गरेको बताए । कार्यक्रममा पूर्व सचिव गोपीनाथ मैनालीले यस वर्षको थिम माथि कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, सल्लाहकार तथा पूर्व मन्त्री गणेश शाह, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा लगायतले मन्तव्य राखेका थिए ।
महासंघका उपाध्यक्ष डि.बी. बस्नेतले स्वागत मन्तव्य राखेका थिए भने प्रेम सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा ‘सहकारी सन्देश’ कोशी विशेषांकको विमोचन समेत गरिएको थियो ।
सम्मान तथा पुरस्कार घाेषणा
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी पुरस्कार २०८२ बाट नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलाई सम्मान गर्ने घोषणा गरेको छ ।
महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट उपसमितिका संयोजक खेम बहादुर पाठकले विभिन्न विधामा पुरस्कृत हुने संस्था तथा व्यक्तित्वहरूको घोषणा गरे । उत्कृष्ट सहकारी पुरस्कारबाट झापा जिल्ला सहकारी संघलाई सम्मान गरिने भएको छ । सातै प्रदेशबाट उत्कृष्ट सहकारी छनोट गरिएको छ ।
जसअनुसारः कोशी प्रदेशबाट मेचीनगर साकोस, मधेश प्रदेशबाट महिला केन्द्र बहुउद्देश्यीय सहकारी संस्था, बर्दिबास, बागमती प्रदेशबाट महिला मिलन साकोस, मकवानपुर छनोट भएको छ ।
गण्डकी प्रदेशबाट मध्य नेपाल साकोस, नवलपरासी, लुम्बिनी प्रदेशबाट अष्टम साना किसान कृषि सहकारी, बाँके, सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बहुउद्देश्यीय सहकारी, बाजुरा छनोट भएको पाठकले बताए ।
उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीकी व्यवस्थापक शर्मिला गौतम भट्टराई सम्मानित हुने भएकी छिन् ।
सहकारी पत्रकारिता पुरस्कारबाट सुनौलो नेपाल डटकमकी प्रदेश ब्युरो प्रमुख चिना थापा सम्मानित हुने घोषणा गरिएको छ । यी सबै पुरस्कारहरू अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने महासंघले जनाएको छ ।


